वाणिज्य बैंकको स्प्रेडदर नियन्त्रणमा

639
shares
Shine resunga department bank

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रयमासमा २६ ओटा वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर (स्प्रेड दर) नियन्त्रणमा आएको छ । तर, ग्लोबल आईएमई बैंकको भने अझै नियन्त्रणमा आउन सकेको छैन । यसअवधिमा समग्र बैंकको भारित औसत ब्याजदर ४ दशमलव शून्य ६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले गत असार मसान्तसम्म सञ्चालित वाणिज्य बैंकहरूले स्प्रेड दर ४ दशमलव ४ प्रतिशतभित्र ल्याइसक्न निर्देशन दिएको थियो । यसअघि ५ प्रतिशत हाराहारीमा गर्न पाउँथे । स्प्रेड दर घट्दा ऋणीलाई कर्जाको ब्याजदरको बोझ केही मात्रामा कम हुन्छ ।

 

यसअघिको त्रयमासिक विवरणमा चारओटा बैंकको स्प्रेड दर सीमाभन्दा बढी थियो । चालू आवको पहिलो त्रयमासमा ग्लोबल आईएमईको ५ दशमलव शून्य ३ प्रतिशत रहेको थियो । नेपाल बंगलादेश बैंकको ४ दशमलव ८८, हिमालयन बैंकको ४ दशमलव ७८ र बैंक अफ काठमाडौंको ४ दशमलव ७० थियो । चालू आवको दोस्रो त्रैमासमा भने ग्लोबल आईएमईबाहेकका बैंकको नियन्त्रणमा आएको छ ।

 

स्प्रेड दर भनेको बैंकले निक्षेप संकलन गर्दा दिने ब्याज र कर्जा प्रवाह गर्दा लिने ब्याजबीचको अन्तर हो । यस्तो अन्तर बढी भएमा बैंकहरूको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी धेरै हुन्छ । साथै यस्तो दर कम भए बैंकले कम ब्याज आम्दानी गर्छ । बैंकको नाफा घट्ने वा बढ्नेमा यस्तो दरको पनि भूमिका रहन्छ ।

 

निक्षेपकर्ताबाट लिएको संकलित निक्षेपलाई बैंकले लगानी गरेर यसबाट प्राप्त ब्याजदरबाट निक्षेपकर्ताको ब्याज भुक्तानी गरेर बचेको रकम बैंकको आम्दानी हुन आउँछ । सोही आम्दानीबाट बैंकले सञ्चालन खर्च, करलगायत खर्च कटाएर बाँकी रहेको रकम बैंकको मुनाफा हो ।

 

चालू आवको पुसमसान्तसम्म आइपुग्दा २५ ओटा वाणिज्य बैंकहरूको स्प्रेड दर ४ दशमलव ४ प्रतिशतभन्दा कम छ । एनआईसी एशिया बैंकले ठ्याक्कै सीमामा पु¥याएको छ भने ग्लोबल आईएमईलाई भने अझै यस्तो दर घटाउन चुनौती छ । सो बैंकको पुससम्ममा ४ दशमलव ६९ प्रतिशत स्प्रेड दर रहेको छ । अझै यो बैंकको स्प्रेड दर सीमाभन्दा शून्य दशमलव २९ प्रतिशत बढी छ । आर्थिक अभियानबाट