‘एमाले र माओवादीबीच अन्तरविरोध गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरबाट चलखेल भैरहेको छ’

कांग्रेसले राष्ट्रपति र सभामुख माग्छजस्तो मलाई लाग्दैन्, मागेपनि पाउँदैन्

काठमाडौं । नेकपा (एमाले) का सचिव, सांसद तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको बताएका छन् । कांग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने कुरा माघभित्रै सबै छर्लङ् हुने उनको दाबी छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको पनि टिप्पणी गरे । ‘अहिले देशको राजनीति कांग्रेसको मिश्रित चंगुल र दलदलबाट एमालेको प्रयासबाट त्यो राजनीतिलाई बाहिर ल्याईएको छ । यो देश र राष्ट्रियताको लागि ठूलो जरूरी थियो,’महासेठले अघि भने,‘एमालेको पहल र माओवादीको सहयोगमा राजनीतिलाई कांग्रेसको दलदलबाट बाहिर निकाल्ने काम भएको छ । यसको रिजल्ट ६ महिनापछि थाहा हुन्छ ।’

क्लबका प्रतिनिधि इश्वर कार्कीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको थियो भन्ने कुरा ६ महिनापछि थाहा हुने सनसनीपूर्ण टिप्पणी गरे । उनले भने,‘अब विस्तारै पर्दा खुल्दै जानेछन् ।’ महासेठले देशको राजनीति हिजोभन्दा (२०७९ साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचन) भन्दा अघिको स्थिति र अहिलेको स्थितिमा धेरै फरक रहेको पनि दाबी गरे । ‘हिजो कांग्रेसले केही मित्रराष्ट्र शक्तिहरुको भरमा यहाँका साना–साना पार्टीलाई मिलाएर देशलाई एउटा अलग बाटोमा लगेको थियो, जुन बाटोमा जाने प्रयास भएको थियो त्यसलाई एमाले र माओवादीको सहयोगले रोक्ने काम भएको छ । र, आज देशमा ७ दलको सरकार बनेको छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनिसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा÷परिचर्चा बढि नै हुने गरेको पनि उनको भनाई छ । ‘देशी तथा विदेशी शक्तिले यहाँ अझ अहिले बढि खेलिरहेको छ । सबै मित्रराष्ट्रहरुलाई हामीले अनुरोध गरिरहको छौं की– नेपालको भविष्य हामीले बनाउने हो । हामी यहाँको पञ्चशीलमा आधारित परराष्ट्र नीतिअनुसार सम्बन्ध राम्रो बनाउन चाहन्छौं । एमालेको सोच पनि त्यही नै हो । अहिले देश जुनप्रकारले हिजो आर्थिक स्थिति दयनीय अवस्थामा थियो, सामाजिक स्थिति करिब–करिब बिग्रन लागिसकेको थियो, राजनीतिक स्थिति त कुरै छोडौं, नेपालमा योभन्दा पहिलेको सरकारले नेपालीपनले काम गरेको भए त पक्कै राम्रो हुने थियो । देशले हाललाई निकास पाएको छ ।’–महासेठले थपे ।

उनले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने विश्वास दिलाए । यद्धपी २०७४ फागुण ३ गते एमाले र माओवादीको एकतापछि बनेको तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारजस्तै काम यो सरकारले गर्न भने नसक्ने उनको ठोकुवा छ । उनले भने,‘त्यो राष्ट्रवादी र वापमन्थीहरको सरकार थियो । त्यति काम त यो सरकारले गर्दैन् । यो सरकारमा विभिन्न विचारधारा भएकाहरुको सहभागिता छ, सबैको सल्लाह लिएर यो सरकार अघि बढिरहेको छ । ०७४ कै सरकारजति यो सरकारसँग अपेक्षा गर्न सकिँदैन् । तर, हिजोको कांग्रेस सभापति शेरबहादुर देउवाजीको सरकारभन्दा यो सरकारले वास्तवमा धेरै राम्रो काम गर्नसक्छ । त्यसको सुरूवात भैसकेको छ।’

महासेठले सरकार गठन भएको ७ दिनभित्रै मुलुकको आर्थिक स्थिति, सेयर बजार र बैकिङ क्षेत्रतर्फ अलिकति सुधार भएको महशुस जनताले पनि गरेको दाबी गरे । उनले भने,‘यो सुरूवात हो, आशा गरौं योभन्दा अझै राम्रो काम यो सरकारले गर्नेछ । यो बाध्यात्मक अवस्थामा बनेको सरकार हो, कति काम गर्न सक्छ, त्यो त भविष्यले नै देखाउँछ ।’

उनले वर्तमान सरकार पाँचै वर्षनै टिक्ने पनि दाबी गरे । उनले भने,‘यो सरकार किन ५ वर्ष टिक्छ भने यसमा एमाले छ, हामी सरकारमा सम्मिलित भएर नीति बनाउँछौं । एमालेकै नीति तथा कार्यक्रम त्यहाँ लागु हुन्छ भन्ने कुरा पनि होईन, यो एकप्रकारको गठबन्धनकै सरकार हो । हामी ठूलो घटक भएकोले चिन्तित त्यसप्रति हुन्छौं । यो सरकारले राम्रो काम गरे, सबैले जस पाउनेछ । नराम्रो काम गरे अपझस एमालेले बोक्नुपर्छ । यसबारे हामी सचेत छौं । हामी सरकारका सबै गतिविधि सुक्ष्म ढंगले हेरिरहेका छौं । सरकारबाट देश र देशवासीको लागि अनि राष्ट्रियताको नराम्रो नहोस भन्ने कुरामा हामी बढि सचेत छौं ।’

उनले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकोमा धन्यवाद पनि दिए । उनले भने,‘अहिले प्रधानमन्त्रीलाई कांग्रेसले किन विश्वासको मत दियो भनेर चर्चा भैरहेको छ । हामी त सरकारमा छौं । हामी सत्तापक्ष हौं । हामीले सबैसँग विश्वासको मत दिन समर्थन माग्यौं । प्रधानमन्त्रीज्यूले पनि समर्थन माग्नुभयो । कांग्रेसले विश्वासको मत दियो । अब उसले कुन उद्देश्यले समर्थन दियो, त्यो उसको कुरा हो । कांग्रेसले प्रमुख प्रतिपक्षको काम र कर्तव्य राम्रोसँग बुझेको छ । तर, कांग्रेसले राजनीतिक रूपले मैले भन्नुपर्दा, संख्याको आधारमा कांग्रेस ठूलो दल हो । दोस्रो एमाले हो । लोकप्रिय मतको आधारमा एमाले ठूलो दल हो । दोस्रोमा कांग्रेस छ । मधेशमा पनि एमाले पहिलो दल हो । प्रतिनिधिसभा र प्रदेशमा पहिलो दल हो । ०७४ मा एमाले पाँचौं स्थानमा थियौं । यो निर्वाचनमा जानुभन्दा पहिल्यै मैले मधेशमा एमालेले डबल डिजिट जित्नेछ भनेर यही रिपोर्टर्स क्लबमा भनेको थिएँ । त्यो आज पूरा भएको छ ।’

उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेस अब प्रतिपक्ष नभएको दाबी गरे । उनले भने,‘अब कांग्रेसका साथीहरुले प्रतिपक्षको नाताले बोल्न पाउनुहुन्न । उहाँहरु सत्तापक्ष हो । वैकल्पिक शक्ति दिने पो प्रतिपक्षी शक्ति हुन्छ, तर, उहाँहरुले त्यो कुरा विचार गर्नुभएन । धमिलो पानीमा माछा मार्न खोज्नुभएको छ । ठूलो माछा खोज्नुभएको होला, ठूलो माछा पार्ने प्रयासमा सानै माछामा चित्त बुझाउनुहुन्छ की, यो जाल फालेको काम लाग्दैन् । म पनि कांग्रेसलाई हाम्रो श्रद्धय अध्यक्ष कमरेड केपी ओलीले जस्तै धन्यवाद नै दिन चाहन्छु ।’

उनले कांग्रेस सत्ता पक्ष भएसँगै अब प्रतिपक्षको भूमिका पत्रकारहरुले निभाउनुपर्ने सुझाव दिए । उनले सरकारलाई समयसमयमा सचेत बनाउने काममा देशका जिम्मेवार व्यक्तिहरुले भूमिका खेल्नुपर्ने भन्दै अझ बढि मिडियाको भूमिका थपिएको बताए ।

महासेठले राजनीतिमा सबै कुरा सम्भव हुने बताउँदै भोलि के हुन्छ भन्ने कुरा घट्नाक्रमले पुष्टि गर्ने बताए । तर, तुरुन्तै कांग्रेस सत्तामा आउने सम्भावना भने आफूले नदेखेको उनको दाबी थियो । उनले भने,‘अहिले तुरुन्तै कांग्रेस सत्तामा आउने सम्भावना छैन् । तर, ल्याउन सक्दैनन् र कोशिस हुँदैन भन्नेपनि होईन । नेपालमा जुन चलखेल भैरहेको छ । चलखेल त हामीली गर्नुपर्ने हो । यहाँका नागरिकले गर्नुपर्ने हो । राजनीतिज्ञले गर्नुपर्ने हो । तर, यहाँ नेपालीभन्दा बाहिरकै शक्ति चलखेल गर्न व्यस्त छन् ।’

उनले वर्तमान सरकार सात दलको मात्रै नभएर योभन्दा धेरै दलको भएको बताए । उनले भने,‘यहाँ प्रतिपक्ष छैन् ।’ कांग्रेसले फालेको जालमा माछा पर्ने सम्भावना कति छ ? भनेर पत्रकारले राखेको जिज्ञासमा उनले भने–‘धमिलो पानीमा माछा पर्दैन् भनेर म भन्न सक्दिनँ । पोखरीमा माछा त हुन्छ नि । तर, यसपालि त्यो पनि पाउँछ कि पाउँदैन म भन्न सक्दिनँ । राजनीतिमा जे पनि सम्भव छ । तर, आशा हामीले के गरेको छ भने कांग्रेस राजनीति नबुझेको पार्टी पक्कै होईन, हिजो उहाँमा दम्भ थियो । कांग्रेसबिना देश चल्दैन भन्ने थियो । त्यो अध्याय अब सकिएको छ । प्रचण्डले पनि बुझ्नुभएको छ । एमाले र माओवादीबीच अन्तरविरोध गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरबाट चलखेल र कोशिस भैरहेको छ । जो सचेत छैन, त्यसले भोलि नराम्रो भोग्नुपर्छ ।’

महासेठले आफूहरुले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोेजेको बताए । उनले कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुको रहस्य आगामी माघ महिनाभित्र थाहा हुने खुलासा गरे । उनले भने,‘कांग्रेस अब अपोजिसनको लागि राजनैतिक, नैतिकता र संवैधानिक रूपमा फेल भयो । उहाँहरुले अपोजिशनको भावनालाई बुझन् सक्नुभएन । केही आशाले अपोजिशनलाई गरिमालाई लत्याउँदै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्न पुग्नुभयो । हाम्रो लागि त यो राम्रो कुरा हो । कांग्रेसले राष्ट्रपति र सभामुख पद माग्छ भने त्यो अब कांग्रेस सिद्दिने बाटोमा पुगेको छ । एमालेकै राष्ट्रपति हुन्छ भनेर म भन्दिनँ । यसबारेमा हाम्रो सर्वसम्मत् निर्णय हुन्छ । एमाले–माओवादीबीच लिखित सहमति भएको छैन् । पदीय बाँडफाँडमा कुनै सहमति भएको छैन् । बरु, पाँच वर्ष सरकार टिकाउने समझदारी भएको छ ।’ उनले कांग्रेसले राष्ट्रपति र सभामुख माग्छजस्तो आफूलाई नलागेको र कांग्रेसले ती पद मागेपनि नपाउने ठोकुवा गरे ।

फरक प्रसंगमा उनले आफू १०÷१५ वर्ष सक्रिय राजनीतिमा रहने बताउँदै राष्ट्रपति, उपराष्ट्र र सभामुखजस्ता पदमा नजाने स्पष्ट पारे । उनले भने,‘अहिले म कुनैपनि राजनीतिक पदमा जादिनँ । यसबारेमा मैले खण्डन पनि गरें । अझै १०÷१५ वर्ष पार्टीभित्रै बसेर काम गर्न चाहन्छु । सांसदबाहेकका अन्य पदमा म जान चाहन्नँ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा म जान चाहन्नँ ।’

उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भैरहेको बताए । उनले भने,‘यसबारेमा अहिले हामी छलफल गरिराखेका छौं । सरकारलाई पूर्णता दिन करिब–करिब हामी सहमतिको नजिक पुगिसकेका छौं । माघ ५ गतेसम्म सरकारलाई पूर्णता दिन्छौं ।’

Shangri-la Development Bank Ltd.
Nepali patro