मिर्गौला फेल भएकी चित्रादेवीद्वारा सहयोगको याचना

दुवै मिर्गौलाले काम गर्न छाडेपछि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी चित्रादेवी पाध्याले सहयोगको याचना गरेकी छन् । बागलुङको जैमिनी नगरपालिका १ कि ४६ वर्षीया चित्रादेवीले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि सहयोगको निम्ति अनुरोध गरेकी हुन् ।

 

सामान्य कृषि पेशाबाट जीविकोपार्जन गर्दै आएको उनको परिवारको आर्थिक अवस्था नाजुक भएकाले गत वैशाखदेखि थलिएको उनको उपचारमा लाखौं रुपैयाँ सकिएको पारिवारिक स्रोतले बताएको छ । सातामा दुई पटक डायलासिस गराउन शिक्षण अस्पताल लैजानुपर्ने बाध्यता रहेको उनका श्रीमान् नारायणदत्त पाध्याले बताए । सरकारले दुई हजार पाँच सय रुपैयाँ सहयोग गरेपनि एक पटकमा सातदेखि आठ सय रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ ।

 

 

‘गत वैशाखदेखि ज्वरो आउने, प्रेसर बढिरहनेजस्तो समस्या देखिरहेको थियो । चिकित्सकले मुटुको समस्या हुनसक्ने बताए । मुटुको समस्या होला भनेर मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ल्यायौं’, उनले भने,‘चिकित्सकले जाँच गरेपछि दुबै मिगौला फेल भएको देखियो । त्यसपछि शिक्षणमा ल्याएका हौं । मंसिर १ गतेदेखि नियमित डायलासिस गराइराखेका छौं । उपचारकै क्रममा सात लाख रुपैयाँ सकियो ।’

 

चिकित्सकले एउटा मिर्गौला प्रत्यारोपण गराउँदा जिउन सकिने सल्लाह दिएपछि नारायणमा झिनो आशा पलाएको छ । उनी आफ्नै मिर्गौला दिएर श्रीमती बचाउन चाहन्छन् । चिकित्सकले प्रत्यारोपणका लागि १२ लाख रुपैयाँ आवश्यक पर्ने भनेपछि उनी तनावमा परेका हुन् ।

कृषि पेशाबाट बिहान बेलुकीको छाक टार्दैै आएका नारायणलाई अहिले ठूलै बोझले थिचिएझैं अनुभव भइरहेको बताउँछन् । चार सन्तानका बाबु उनलाई श्रीमतीको उपचारसँगै छोराछोरीको चिन्ताले सताएको छ ।

 

‘उपचार गर्न गाउँमा भएको गाईभैंसी पनि बेचें । लामो समयदेखि यतै छु । घरमा छोराछोरीले के गरिराखेका छन्, अत्तोपत्तो छैन । साथीले बस्नका लागि एउटा खाली कोठा दिएको छ । सरसफाइ सकेर त्यतै बस्नुपर्ला भनेर सोचिरहेको छु’, उनले आफ्नो पीडा सुनाए ।

 

 

श्रीमती चित्रादेवीलाई ज्वरो आइरहने भएकाले अस्पताल कुदाइरहनुपर्ने बाध्यतामा उनी छन् । त्यसैले आफ्नो श्रीमतीको जीवनरक्षा गरिदिन सहयोगी मन भएकासँग अपिल गरेका हुन् ।

 

नारायणले आफूलाई ९८६५०६१७६४ मा सोझै सम्पर्क गरेर वा ग्लोबल आईएमई बैंकमा रहेको ०४५०७०१०००६७९५ खाता नम्बरमा सक्दो रकम जम्मा गरेर सहयोग गरिदिन इच्छुक र सहयोगी मनका दाताहरुसँग आग्रह गरेका छन् । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro