निर्दयी मामाले भानिजलाई मन्दिरमा लगेर बलि दिएपछि…

छोराले हेर्दै गरेको समयमा घाँटिमा हँसिया प्रहार गरेपछि उनैले बाबाले मान्छे काटेको भन्दै चिच्याए

भनिन्छ समाज विकसित भयो, पुराना रूढिवादी संस्कार हट्न थाल्यो । तर सल्यानको पछिल्लो घटनाले हाम्रो समाजलाई पहिलेकै अन्धविश्वासमा रहेको प्रमाणित गरिदिएको छ ।

विगतका केही कथामा सुनिन्थ्यो–मान्छेलाई मन्दिरमा घाँटी रेटेर बलि दिएको । तर, अहिले पनि त्यही अन्धविश्वासलाई अँगालेर सल्यानमा मामाले भानिजलाई भैरव मन्दिरमा बलि दिएको तथ्य बाहिर आएको छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १० माझीडाडाँका २७ बर्षीय डम्बर पुरीले ८ वर्षीय भन्जा भिजन घर्तीलाई भैरव मन्दिरमा बलि दिएको सत्य साबित भएको छ ।

भानिज माघे संक्रान्ति मनाउन कान्छो मामको घर गएका थिए । भिजन घर्तीले मामा घर पुगेर भोको पेट त भरे तर, मामाकै हातबाट भैरव मन्दिरमा पशु झैँ रेटिन पुगेको तथ्य खुलेको छ ।

खाना खाने बेलामा मामाघर पुगेका भिजनलाई डम्बरले ९ वर्षीय छोरासँगै राखेर मासु भात खुवाए । तर हात ओभाउन नपाउँदै घरभन्दा ५० मीटर परको आफ्नै भैरव मन्दिरमा लगेर हसिँयाले रेटेर बली दिएका हुन् । प्रहरीको नियन्त्रणमा पुगेपछि उनले सबै अपराध स्वीकारेका छन् ।

कसरी बन्यो भैरव मन्दिर ?

हत्यामा आरोपित डम्बर बाहेक त्यो मन्दिरमा कसैले हालसम्म पूजा नगरेको स्थानीय बताउँछन् । विगत केही वर्षदेखि डम्बर आफूलाई देउता उत्रिएको भन्दै काप्ने छटाउने गर्दै आएका थिए । काँपेको समयमा आफूलाई ‘भैरव हुँ मन्दिर बनाइदिए ठीक हुन्छ’ भनेपछि उनको परिवारको सहयोगमा घर नजिकै माटो र ढुंगाको मन्दिर बनाइदिएको वडा सदस्य नन्दलाल पुन मगरले बताए ।

तर, नातामा दाजुभाइ पर्ने सोही वडाका निवर्तमान वडाध्यक्ष मानसिंह पुरी भने भाइको मानसिक सन्तुलन ठीक नभएको बताउँछन् । मानसिक सन्तुलन ठीक नभएपछि उसकी श्रीमतीले साथ छाडेकी मानसिंहको भनाइ छ । मानसिक असन्तुलन जस्तो देखिएपछि र ‘मन्दिर बनाइदिए केही नगर्ने’ भनेपछि परिवारले आपसी सहयोगमा मन्दिर निर्माण गरिदिएका थिए । निवर्तमान अध्यक्ष पुरीका अनुसार परिवारको कान्छो छोरो डम्बर बाबु आमाबाट बेग्लै बस्दै आएका थिए ।

कसरी गरे हत्या ? 

दिउँसो १२ बजेतिर खाना खाइसकेपछि हातमा हसिँया बोकेर आफ्नो छोरासहित भान्जालाई साथमा लिएर मन्दिर पुगे । पुरीले छोरालाई मन्दिर बाहिर राखे भने भान्जालाई भित्र बोलाए । छोराले हेर्दै गरेको समयमा घाँटिमा हँसिया प्रहार गरेपछि उनैले बाबाले मान्छे काटेको भन्दै चिच्याए । लगत्तै स्थानीय जम्मा भएका थिए ।

स्थानीयले सोधखोज गरेपछि पुरीले एक एक जना गरेर मन्दिरभित्र छिर्न आदेश दिए । सबै मिलेर उनको हातबाट हँसिया खोसेपछि पुरीलाई डोरीले बाँधिदिए । उनीहरु मन्दिरभित्र गएर हेर्दा बली दिएर भित्रै खाल्डो खनेर भानिजलाई पुरेको अवस्थामा भेटिएको थियो ।

स्थानीयले खबर गरेपछि प्रहरी टोली आइपुग्यो । पुरिएको शव निकालेर प्रहरीले पुरीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीसँगको बयानमा के भने ?

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठकाअनुसार हत्यामा संलग्न पुरीलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेर अनुसन्धान गरिरेहेको छ । उनले आफूलाई केही थाहा नभएको र प्रहरीले पक्रेर ल्याएको मात्र सम्झना भएको बताएका हुन् । यसबाट पनि पुरीको मानसिक अवस्था असन्तुलन रहेको भन्ने धारणा सत्यता नरहेको प्रहरीको अनुमान छ । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro