निर्वाचन खर्च सबैभन्दा धेरै एकीकृत समाजवादीको, कसको कति ?

आयोगले दलहरूले गर्न पाउने खर्चको सीमा तोकेको थियो

Ghorahi cement

काठमाडौं । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बन्दसूची बुझाएका ४७ वटै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ भएको प्रचारप्रसारको खर्च विवरण पेस गरेका छन् । आयोगले दलहरूले गर्न पाउने खर्चको सीमा तोकेको थियो ।

आयोगमा बुझाइएको विवरणानुसार नेकपा (एकीकृत समाजवादी)को सबैभन्दा धेरै खर्च भएको देखिन्छ । एकीकृत समाजवादी समानुपातिकतर्फ करिब पाँच हजार मत नपुग्दा राष्ट्रिय दल बन्नबाट वञ्चित भएको थियो । सो पार्टीले एक करोड ९० लाख ८९ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ ।

उक्त निर्वाचनबाट सात पार्टी राष्ट्रिय दल बनेका थिए । दोस्रो सबैभन्दा बढी खर्च राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको देखिन्छ । राप्रपाले एक करोड ८९ लाख खर्च भएको जनाएको छ । नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ खर्च भएको विवरण पेस गरेको छ ।

नेकपा (एमाले)ले एक करोड ३३ लाख २६ हजार ६९३ खर्च गरिएको विवरण बुझाएको छ । नेकपा (माओवादी केन्द्र)ले एक करोड चार लाख ३४६ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ । माओवादी र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) एकल चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका थिए ।

निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपैयाँ खर्च गरेको जनाएको छ । आयोगमा बुझाइएको विवरणानुसार जनता समाजवादी पार्टी (जसपा)ले ३५ लाख खर्च गरेको छ । जनमत पार्टीले तीन लाख ८८ हजार खर्च गरेको छ ।

बहुजन शक्ति पार्टीले समानुपातिक निर्वाचनको प्रचारप्रसारका लागि खर्च नै नभएको जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro