बैंकका बचतकर्ताहरु अझै पनि आनन्दसँग बस्ने कि पछि पछुताउने ? 

 

विस्तारै वा धैर्यसँग गरेमा हरेक काममा सफल पाइन्छ । तर, हतारमा सोच्दै नसोची वा रिस, आवेगमा आएर गर्दा हुने काम पनि बिग्रिन्छ । छिट्टै धनी हुने वा धेरै नाफा कमाउने आशमा बैंक तथा वित्तिय संस्थाहरुले घरजग्गा, गाडी र सेयरमा लगानी गरे । यता, बचतकर्ताहरुलाई बढी ब्याजको प्रलोभन देखाएर रकम जम्मा गर्न लगाइयो ।

आम सर्वसाधारण पनि कुन बैंक, कुन सहकारी वा कुन लघुवित्तले बचतको बढी ब्याज दिन्छ भनेर बुझ्रदै हिडे । एउटै घरमा सात वटा सहकारी र दुई वटा बैंकसम्म सञ्चालन भएको पनि केही वर्षअघिसम्म देखियो । दुई वर्षअघि बैंक, सहकारी र लघुवित्तहरुले निक्षेपको १२ प्रतिशतदेखि २२ प्रतिशतसम्म ब्याज दिने भनेर सर्वसाधारणसँग रकम उठाए ।

सर्वसाधाणले पनि सुरक्षित हुन्छ र ब्याज पनि आइरहन्छ भनेर निक्षेप जम्मा गरे । सहकारीले त झन् बचतकर्ता बढाउन बुढाबुढीलाई लौंरो उपहार, बीमा गराउने, जन्मदिनमा केक काटिदिने, सम्मान गर्नेजस्ता समेत काम गप्यो । बैंक, वित्तिय संस्थाहरुले सर्वसाधारणलाई फर्काएर, चिप्लो कुरा गरेर वा बढी ब्याज दिएर भएपनि आफ्नो संस्थामा बचत गर्न लगायो ।

वर्ष दिनमा साधारणसभा गर्दा पनि ठूल्ठुल्लो होटल, रेस्टुरेन्ट गरिन्थ्यो । महंगा, महंगा खानेकुरा खुवाइन्थ्यो अनि यो साल यति नाफा भयो भन्दै सेयर होल्डरहरुलाई रकम बाँडिन्थ्यो । बैंक, वित्तिय संस्थामा कर्मचारीहरु बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म काम लगाइन्थ्यो भने सञ्चालकहरु भने दिउँसो १ बजे कार्यालय आएर बेलुका ५ बजे नै घर जान्थे ।

यति मात्र नभई एक चोटि मिटिङ्ग बस्दा अध्यक्ष, सञ्चालकहरुले दशदेखि पन्ध्र हजार भत्ता बुझ्रने र गाडीलगायत विभिन्न सेवासुविधा पनि लिन्थे । कर्जा लिँदा पनि यीनीहरु नै घुस खान्थे । दुई करोडको धितो राखेर एक करोड कर्जा प्रवाह गरी दश लाख घुस लिइन्थ्यो । कानूनमा एक प्रतिशत सेवाशुल्क देखाई तीन प्रतिशत लिने र ब्याज पनि १८ प्रतिशत देखाएर ७०–७५ प्रतिशतसम्म असुल्ने ।

अनि ऋणीले तीन कित्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमा खाइदिनेजस्ता काम नै बैंक, वित्तिय संस्थाहरुले गर्दै आएका थिए । कतिपय बैंक, वित्तिय संस्थाका कर्मचारी तथा सञ्चालकहरुले त बचतकर्ताको खातामा भएको रकम पनि चोरेको पाइन्छ । दुई दशकअघि पेट्रोल र डिजेल महंगो थियो भने मटितेल सस्तो थियो ।

तर, पेट्रोल पम्प व्यवसायीहरुले डिजेल र पेट्रोलमा मटितेल मिसाएर बेच्ने गरेको बाहिरिएपछि सरकारले मटितेलको मूल्य पनि पेट्रोल र डिजेल बरारबर नै तोकिदियो । यसरी नै सहकारीले सर्वसाधारणलाई ठगेको पाइन्छ । सहकारीले आफुलाई बैंक भनी भ्रम फैलायो ।

अनि नबुझेका, सीधासाधी जनताले उनीहरुको कुरामा आएर बैंकमा राख्ने रकम सहकारीमा जम्मा गरे । किनकि बैंक भाग्दैंन, बैंकमा सरकारको लगानी हुन्छ भनेर जनताले ठाने । उनीहरुलाई थाहा भएन कि सरकारको लगानी रहेको बैंक तीन वटा मात्र छ । राष्ट्रिय वाणिञ्ज बैंक, कृषि विकास बैंक र नेपाल बैंक । यो बैंकमा सरकारको लगानी छ । त्यसैले, यी बैंक भागेमा सरकारको जिम्मा लिन्छ ।

प्राइभेट बैंक, सहकारी, लघुवित्त र फाइनान्स ठग, चोर हुन् भनेर आम नागरिकले न बुझे न थाहा पाए । प्राइभेट बैंकमा सबै विदेशीको लगानी छ । त्यसकारण यी बैंक जुनसुकै बेला पनि भाग्न सक्छ । सहकारी, लघुवित्त र फाइनान्स २५ जनाको समूह मिलेर खुलेको संस्था हो । यी संस्था बचतको बानी बसाल्न मात्र स्थापना गरिएको हो ।

तर, सर्वसाधारणले यो कुरा नबुझ्रदा आज करोडौं बचतकर्ताको खर्बौ रकम सहकारीमा मात्र डुबेको छ । अहिले ‘क’ वर्गको बैंक पनि डुबिसकेको छ । यी बैंक कुन दिन भाग्छ वा बन्द हुन्छ ? ठेगान छैन । सहकारीका बचतकर्ताहरु त डुबि नै हाले । उनीहरुको बिचल्ली भएको छ । अब पनि आफ्नो बचत फिर्ता आउँछ ? भनेर उनीहरुमा आश छैन ।

यद्यपि, अहिले त बैंकका बचतकर्ताहरुको पनि रातको निद्रा र दिनको भोक हराएको छ । बैंक डुब्ने डरले बचतकर्ताहरुको होश हवाज नै गुमेको छ । अब प्राइभेट बैंक, सहकारी, लघुवित्त र फाइनान्सले जति सुकै ब्याज दिन्छु भनेपनि सर्वसाधारण पैसा राख्ने छैनन् । अब कि त सरकारी बैंकमै पैसा राखिन्छ कि घरमै सुरक्षित साथ राखिन्छ भनेर बजारमा सर्वसाधारणहरु कुरा गरिरहेको सुनिन्छ ।

अहिले बाटोमा साग बेच्ने वा मकै पाल्नेलाई बैंक, वित्तिय संस्थामा निक्षेप जम्मा गर्नुभएको छ ? भनेर सोध्दा उनीहरु भन्छन्, ‘यस्तो ठग, चोर संस्थामा पनि कसले पैसा राख्छ । बरु, सिरानी मुनि राखेर टाउकोले थिचेर सुतिन्छ ।’ बैंक, वित्तिय संस्था डुबेको छैन, भाग्दैन भनेर जतिसुकै राष्ट्र बैंकले विश्वास दिलाउन खोजेपछि अब सर्वसाधारण पत्याउने छैनन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले बैंकको ऋण तिर्न नपरोस् भनेर बैंक, वित्तिय संस्था भाग्छ, डुब्छ भनेर अफवाह फैलाएका थिए । तर, अहिले यो सत्य सावित भएको छ । बैंक, वित्तिय संस्था संकटग्रस्त अवस्थामा छन् । यी संस्था कुन दिन भाग्छ ? भनेर ठेगान छैन ।

अझै पनि राष्ट्र बैंक, अर्थ मन्त्रालयले जनतालाई भ्रममा पार्ने काम गर्नुहुन्न । आफ्नो पैसा आफैं सुरक्षित साथ राख्न सरकारले सचेत गराउनुपर्छ । समयमै जनतालाई सचेत गराइदिए भोलि आउने समस्याबाट जनता र सरकार पनि जोगिन्छ । त्यसकारण अब सरकारले जनतालाई बैंक, वित्तिय संस्थामा निक्षेप नराख्दा जनतालाई सतर्क गराउनुपर्छ ।

जनता पनि ब्याजको प्रलोभनमा पर्नुहुन्न । आज ब्याजको लोभ गर्दा भोलि साँबा नै गुम्न सक्छ है । हिजो सहकारीमा ब्याजको प्रलोभनमा सर्वसाधारणले रकम जम्मा गरेका थिए । अहिले सहकारी भागेपछि ब्याज पर्दैन, साँबा मात्र फिर्ता गरिदिनुस् भनेर बिन्ती गर्दा समेत बचतकर्ताहरुले आफ्नो निक्षेप फिर्ता पाएका छैनन् ।

त्यसैले, अब आम सर्वसाधारण पनि ब्याजको प्रलोभनमा पर्नुहुन्न । र, आफ्नो पैसाको सुरक्षा आफैंले गर्नुपर्छ । बुढोपाकाले भन्थे, ‘चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी ।’ त्यसरी नै ब्याज खान सहकारीमा रकम राख्दा आज करोडौं बचतकर्ताको खर्बौ रकम डुबेको छ । उभो लागेको खोला कहिल्यै फर्किदैंन भनिन्छ ।

त्यसैले, अहिले सहकारीमा डुबेको बचतकर्ताहरुको रकम पनि फिर्ता आउने छैन । सरकारले सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुलाई कारबाही गर्छ । तर, त्यो डुबेको रकम भने फिर्ता आउने छैन । सहकारी ठगीकै आरोप लागेका रवि लामिछाने अहिले गृहमन्त्री छन् । त्यस्तै, जीबी राई भने फरार छन् ।

यसरी सहकारी ठगीको आरोप लागेको एक व्यक्ति झण्डावाला गाडी चढेर हिँडेका छन् भने अर्को फरार छन् । अनि बचतकर्ताको रकम फिर्ता कसरी आउँछ ? डुबिसकेको रकम फेरि फिर्ता आउँछ भनेर कसैले पनि नसोच्दा हुन्छ । सहकारीमा एकै बचतकर्ताको लाखदेखि करोड डुबेको छ ।

जीवनभरको कमाइ अनि पुख्र्याैली सम्पत्ति समेत बेचेर सहकारीमा जम्मा गरेको रकम सञ्चालकहरु रातारात लिएर फरार भएपछि बचतकर्ताहरुको रवाबासी भएको छ । कतिपयले सहन नसकेर आत्महत्या गरेका छन् भने अधिंकाश डिप्रेसनमा गएका छन् । अब बैंकमा बचत गरेका बचतकर्ताहरुको पनि यस्तै हालत हुनेछ ।

बुढोपाकाले भन्थे, ‘दुहुनो भैंसी किन्दा पाडो सित्तैमा पाइन्छ ।’ अहिले बजारमा जग्गा किन्दा घर सित्तैमा सुनिन्छ । सामाजिक सञ्जालहरुमा पनि जग्गा किन्दा घर सित्तैमा भनिरहेको छ्यापछ्याप्ती भेटिन्छ । दलालीहरुले घरजग्गा, गाडी र सेयरको मूल्य बढाएका थिए । तर, अहिले बजार मन्दीमा यसपछि यसको पनि मूल्य घटेको हो ।

घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प भएपछि बैंक, वित्तिय संस्थाहरु पनि टाट पल्टिएका हुन् । अध्ययन नै नगरी घुसको आडमा आँखा चिम्लेर बैंक, वित्तिय संस्थाका अध्यक्ष, सञ्चालकहरुले घरजग्गा, गाडी र सेयरमा कर्जा लगानी गर्दा आज बचतकर्ताहरुलाई नि डुबाए र आफु पनि भाग्नुपर्ने अवस्थामा पुगे ।

Shangri-la Development Bank Ltd.
Nepali patro