बिहान सबेरैदेखि बेलुका अबेरसम्म प्रधानमन्त्रीलाई सरकार कसरी टिकाउने मात्रै चिन्ता छः रामनारायण बिडारी 

Ghorahi cement

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्रीदेखि सत्तारुढ गठबन्धन दलका नेताहरु सत्ता कसरी जोगाउने भन्ने ध्यानमा रहेका टिप्पणी गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक राजनीतिक विषयमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्ष सत्ता जोगाउन ध्यानमा रहेको र प्रतिपक्षले जसरी पनि सरकार ढाल्ने प्रयास गरिरहेको दाबी गरेका हुन् ।

 

देश विकास गर्ने, रोजगारी दिने, मुलुकको अर्थतन्त्र विकास गर्ने, राजनीतिलाई स्थायित्व दिने, संस्कृतिको संरक्षण गर्ने कुरा सत्तापक्ष वा प्रतिपक्ष कसैले पनि सोच्न नभ्याएको उनले बताए । उनले अहिलेको समय साह्रै खर्चिलो बनेको टिप्पणी गरे । ‘अहिले सरकारमा बस्ने प्रधानमन्त्रीदेखि सरकारी पार्टीलाई सरकार कसरी टिकाउने चिन्ता छ । विहान सबेरदेखि बेलुका अबेरसम्म दिनभरि काम के गर्ने ? सरकार टिकाउने कसरी ? कहाँको सरकार ? सात वटा सरकार र केन्द्रको संघीय सरकार । यो आठ वटा सरकार कसरी टिकाउने ? यत्ति ध्यान सत्ता गठबन्धनमा लागि परेको छ ।’ उनले भने,‘विपक्षी जो बनेको छ, त्यसले यसलाई कसरी झार्ने ? यसलाई कसरी खुइल्याउने ? कसरी सिध्याउने ? भनेर ऊ पनि त्यही काममा लागेको छ ।’

 

साथै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका लागि माग गरेको संसदीय समिति आफ्नै फेस सेभिङको लागि भएको उनको आरोप छ । उनले सहकारी ठगी प्रकरण छानविन गर्ने हो भने उच्चस्तरीय न्यायिक आयोग बन्न आवश्यक रहेको बताए । संसदीय समितिलाई उनले ‘भत्ता पचाउ आन्दोलन’ को संज्ञा दिए ।

 

‘संसदीय समिति बनाउन पर्यो भनेको चाहीँ भत्ता पचाउ आन्दोलन हो । संसदीय समितिले केही लछार्दैन । यसले कसैलाई मुद्दा लगाउन सक्दैन । संसदीय समितिले अनुसन्धान गर्न पनि सक्दैन, यो कुनै कानुनअन्तर्गत पनि होईन । संसदीय समिति भनेको माननीय सांसदलाई थप भत्ता खुवाउने र अहिलेको विरोधी कांग्रेसको फेस सेभिङ गर्ने मात्रै हो,’– नेता बिडारीले भने ।

 

सुन तस्करी छानविनका लागि बनाइएको समिति स्मरण गराउँदै उनले त्यस्तो समितिले रिपोर्ट दिनसक्ने दाबी गरे । न्यायिक समितिलाई पनि कारबाहीको भने अधिकार नरहेको उनको भनाइ छ । उनले संसदीय समिति बनाउन पर्यो भनेर कांग्रेसले वाइयात माग राखेको टिप्पणी गरे ।

 

संसद्ले बनाएको कानुनअनुसार मुद्दा चलाउने र फैसला गर्ने अधिकार अरुनै निकायमा रहेको स्मरण गराउँदै उनले सांसदहरुले फेरि आफैंले समिति बनाएर अनुसन्धान गर्छौं भन्नुको कुनै औचित्य नरहेको बताए ।

 

साथै, उनले जनताले चुनावमा सही मानिसलाई मतदान गर्न नजानेको उनको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले जनताले त्याग, तपस्या, बलिदान, दृष्टिकोण, विचारलाई भोट दिनुपर्नेमा टेलिभिजनका कराउनेलाई भोट दिएर गलत गरेको दाबी गरे । उनले भने, ‘अहिले दोहोरो घरबार भएका, नेपालमा पनि घरबार भएको, विदेशमा पनि घरबार भएको । दोहोरो नागरिकता भएका, दोहोरो राहदानी भएका, दोहोरो प्रकारको सम्बन्ध भएका, ‘यो देश सप्रे यही देशमा यो देश बिग्रे विदेशमा’ यस्तो मजाको जिन्दगी भएका मान्छेलाई जनताले भोट हाल्दिएपछि परेन त आपत ? मैले हालेको हो र ? भोट हाल्नेले बोक्नुपर्यो दोष ।’

 

जनताले भोट हाल्न नजान्दाको परिणाम अहिले देशमा अराजक स्थिति बढ्दै गएको उनको आरोप छ । जनताले भोट हाल्न नजानेकै कारण सबैभन्दा ठूला कालाबजारीयाहरु चुनाव जितेर आउने गरेको उनले बताए । उनले चुनावमा जनताले न्याय गर्न सक्नुपर्ने बताए ।

 

‘चुनावमा न्याय जनताले गर्ने, राजनीतिमा सेवा प्रतिनिधिले गर्ने, नगर्ने प्रतिनिधिलाई जनताले बदल्ने यो हो डेमोक्रेशी भनेको,’– उनले भने । साथै, अहिलेको गठबन्धन लामो समयसम्म टिक्ने उनको दाबी छ । उनले वर्तमान संसद् पनि विघटन नहुने दाबी गरे ।

Shangri-la Development Bank Ltd.
Nepali patro