सहकारीपछि बैंक संकटमा, धितो नै जब बाढीले बगायो….

432
shares

 

झण्डै तीन वर्षअघि सहकारी संघसंस्थामा समस्या देखिन थाल्यो । नाम चलेका मुलुककै ठुला सहकारीमा पनि एकाएक संकट देखियो । कतिपय सहकारी त रातारात भागे । सहकारी भाग्न थालेपछि बचतकर्ताहरु पनि सचेत भए । उनीहरु आफुले बचत गरेको सहकारीको अवस्था के–कस्तो छ ? भनेर दिनहुँ सहकारी पुग्थे ।

अनि सहकारीका कर्मचारी, सञ्चालक, अध्यक्षहरु भन्थे, ‘हामी रैथाने हो । हामी भाग्दैनौं । यदि सहकारीमा समस्या देखिहाले पनि हाम्रो आफ्नै भवन छ । हामी यो बेचेर भएपनि तपाईँको पैसा फिर्ता गछौं । त्यसैले, नआत्तिनु, ढुक्क भएर बस्नुस् ।’ सहकारी सञ्चालक तथा अध्यक्षको यस्ता आश्वासनपछि बचतकर्ताहरु ढुक्क भएर आफ्नो घर पुग्थे ।

तर, सहकारीले आश्वासन दिएकै दिन वा त्यसको केही समयमै सहकारीहरु भाग्न थाले । अहिले सञ्चालनमा रहेका सहकारी संस्थाले समेत बचतकर्ताको निक्षेप फिर्ता गरेका छैनन् । बचतकर्ता दिनरात आफ्नो निक्षेप माग्न गएपनि उनीहरु आज र भोलि भनेर अल्मल्याएर राखिरहेका छन् । हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैँ मुखमै आइरहेको छ ।

दशैँ घरआँगनमै आइपुग्दा समेत सहकारीले निक्षेप फिर्ता गरेको छैन । यसले बचतकर्ताहरु कसरी दशैँ मनाउने ? भनेर चिन्तित छन् । हिजो भवन बेचेर भएपनि निक्षेप फिर्ता गर्ने आश्वासन दिएका सहकारी सञ्चालक, अध्यक्षहरु अहिले भागिसकेका छन् । अधिकांंश सहकारीको त भवन बैंकले लिलाम समेत गरिसकेको छ । कतिपय सहकारीको भवन पनि बिक्री भइरहेको छैन ।

अनि अब सर्वसाधारणले आफुले सहकारीमा बचत गरेको रकम कसरी फिर्ता पाउँछन् ? हुन त पछिल्लो समय सहकारीप्रति जनविश्वास गुम्दै गएको छ । अहिले सहकारीले निक्षेप जतिसुकै महँगो ब्याज दिन्छु भनेपनि सर्वसाधारण बचत गर्दैनन् । किनकि जनताले बुझिसके कि सहकारी चोर, ठग र दलाल हो । सहकारीका कारण करोडौं जनता पीडित भएका छन् ।

सहकारी सञ्चालक, अध्यक्ष तथा कर्मचारीहरुले बचतकर्ताको खर्बौ रकम हिनामिना गरेका छन् । गत असोज ११ र १२ गते काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा भीषण वर्षा भयो । मुसलधारे वर्षातका कारण उपत्यकासहित धेरै ठाउँ डुबानमा पर्यो अथवा बाढी, पहिरो पनि गयो । वर्षाका कारण खोलाको बहाव बढेपछि भक्तपुरको राधेराधेस्थित भाटभटेनी डुबानमा परेको सर्वसाधारणले प्रत्यक्ष रुपमै देखे ।

त्यसपछि अहिले सर्वसाधारणमा नयाँ बहस शुरु भएको छ । उनीहरु राधेराधेको जग्गा आनाको एक लाखमा दिएपनि नकिन्ने बताउँछन् । दुई दिनको झरीले मुलुकका अधिकांश जिल्लामा घर डुबानमा परेको सर्वसाधारणले देखेका छन् । यसैले, अब त्यस्ता ठाउँका घर जतिसुकै सस्तोमा दिन्छु भनेपनि कसैले किन्ने छैन ।

चार वर्षपघि राधेराधे वरपरको जग्गा आनाको ६०–७० लाखमा किनबेच हुन्थ्यो । त्यहाँ सञ्चालनमा रहेको भाटभटेनी पाँच रोपनीभन्दा बढी जग्गामा छ । यद्यपि, डुबानपश्चात् सर्वसाधारणले सस्तो मूल्यमा दिएपनि भाटभटेनी र सोको जग्गा समेत किन्न नहुने बताइरहेका छन् । बाढीले भक्तपुर मात्र नभई ललितपुर र काठमाडौं पनि डुबायो ।

उपत्यकाका विभिन्न स्थान डुबेपश्चात् अहिले बजारमा ८०–९० वर्षका बुढाबुढीहरु भन्छन्, ‘२०३२–०३३ सालमा यी क्षेत्रमा खोला बग्थ्यो । घट्टेकुलो, अनामनगर, हनुमानस्थान, बिजुलीबजार र सिडियो कार्यालयपछाडि त खोला नै बग्थ्यो ।’ यसरी खोला मासेर घर तथा संरचना बनाएपछि डुबानमा पर्नु स्वभाविक नै हो ।

प्रकृति भनेको प्रकृति नै हो । मानव प्रकृतिभन्दा ठुलो होइन । हामी मानिस पनि प्रकृतिको वरदान नै हौं । तर, हामीले आफुहरुलाई प्रकृतिभन्दा ठुलो ठानौं । आफ्नो स्वार्थका निम्ति प्रकृति मासौं । बगिरहेको खोलालाई पुर्यौ । खोलाको अस्तित्व नै मेटाइदियौं । त्यसैले पनि अहिले प्रकृतिले हामी सबैलाई आफ्नो रुप देखाएको हो । यसलाई अब चेतावनीको रुपमा बुझ्न आवश्यक छ ।

प्रकृतिमाथि खेलबाड गरेमा त्यसले कु्रर रुप लिन सक्ने हामी सबैले देखिसकेका छन् । खोला, नदी भनेकै बहनका लागि हो । तर, उसको बहने ठाउँमै मानवले कब्जा गरेपछि उसले आफ्नो अस्तित्व जोगाउन यो सबै गर्नु स्वभाविक हो । भनिन्छ कि लोभले लाभ, लभले विलाभ । नदी, खोला वरपरको जग्गा सित्तैमा पाइन्छ भनेर त्यहाँ बस्ती बसालियो ।

कतिपयले त त्यस्ता जग्गामा ठुला–अग्ला घर पनि बनाए । जग्गा दलालीहरुले पनि सोझासाझा सर्वसाधारणलाई यस्ता ठाउँका जग्गा भिडाए । विश्वासमा परेर कतिपयले पहिला त्यो जमिनमा के थियो ? भनेर बुझ्दै नबुझी किने अनि घर ठड्याए । यता, खेती गर्न उपयुक्त जमिनमा पनि मानवहरुले घर बनाए ।

जसको परिमाण अहिले देखिएको छ । गहिरो ठाउँमा घर बनाउँदा बाढी घरभित्रै पस्दा मानिसहरु घरबारविहीन बनेका छन् । नदी, खोला वरपर बनेका अधिकांश घर बाढीले नै बगाएको छ । अनि अब उनीहरुले के गर्छन् ? दुई दिनको मुसलधारे वर्षातपछि निम्तिएको बाढीपहिरोले राज्य र जनता दुवैको आँखा खोलिदिएको छ । उपत्यकामा झण्डै ५४ वर्षपछि यत्रो भीषण वर्षा भएको बताइन्छ । अब फेरि कहिले पर्ने हो ? ठेगाना छैन ।

हालैको बाढीपहिरो र डुबानबाट उपत्यकासहित देशभरका विभिन्न जिल्लामा ठुलो धनजनको क्षति भएको छ । हजारौंको संख्यामा मानिसहरु घरबारविहीन भएका छन् । बाढीपहिरोका कारण जनजीवनमा परेको असर सरकारले केही समयमै विभिन्न संघसंस्था, व्यक्ति तथा राष्ट्रको आर्थिक सहयोगमा कम गर्ला । तर, अब नीतिगत रुपमै यो समस्या समाधान गरिनुपर्छ ।

किनकि यस्तै मुसलधारे पानी परेर फेरि कहिले बाढीपहिरो आउला ? भनेर भन्न सकिदैँन । अब सरकारले तत्काm नदी, खोला वरपर घर तथा कुनै पनि संरचना बनाउनमा रोक लगाउनुपर्छ । त्यस्ता ठाउँका जग्गा तथा घरको किनबेच पनि रोक्नुपर्छ । यसो गरेमा अर्को चोटी बाढीपहिरो आउँदा हाल भएकोभन्दा सयौं गुणा कम क्षति हुनेछ ।

प्रकृतिले कहिले आफ्नो रुप देखाउँछ ? भन्न सकिदैँन । ०७२ वैशाख १२ गते उपत्यकासहित विभिन्न जिल्लामा महाभूकम्प गयो । भूकम्पका कारण ठुलो मानवीय र भौतिक क्षति भयो । अहिले पनि भूकम्प गएमा ठुलो धनजनको क्षति हुनेछ । किन त्यतिबेला भूकम्पले चर्किएका घरहरु अहिले पनि मर्मत भएको छैन । त्यसमाथि त्यस्ता घरमा मानिसहरु बसोबास गरिरहेको पाइन्छ ।

सहकारी कसरी डुब्यो ? भनेर सरकारदेखि जनतासम्मलाई थाहा छ । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले ३२ सय पुर्याए । त्यो सेयरमा सहकारीहरुले लगानी गरे । यता, दलालीहरुले जग्गाको मूल्य बढाएका थिए । निमुखा किसानसँग आनाको दश हजारमा जग्गा किनेर खण्डीकरण गरे अनि आनाकै ६०–७० लाखमा बेचिदिए ।

गाडीमा पनि यस्तै भएको हो । भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँ पाँच लाखदेखि २५ करोडसम्ममा बेचिएको छ । बैंक, वित्तिय संस्थाको होस् या व्यक्ति सबैको लगानी घरजग्गा, गाडी र सेयरमा छ । फेरि यही तीन क्षेत्रमा व्यापाक मन्दी आउँदा बैंकदेखि व्यक्तिसम्म डुब्ने अवस्थामा पुगेको छ । यो क्षेत्रमा लगानी गरेकै कारण सहकारी त डुबिहाल्यो ।

अब पालो बैंकको हो । अर्कोतर्फ, अहिले बाढीका कारण बैंकले लगानी गरेको घडेरी समेत बगेको छ । नबगेको जमिन पनि बाढीपश्चात् कुन जग्गा हो र कुन लेदो ? भनेर छुट्याउन महामुस्किल परेको छ ।

यसका कारण ऋणीले साँबाब्याज नतिर्नेबित्तिकै बैंक पनि सहकारीजसरी डुब्ने देखिन्छ । अहिले बैंक डुब्ने थाहा पाएसँगै निक्षेप निकाल्नेहरु बढेको बताइन्छ । यता, घरजग्गा, गाडी र सेयरको मूल्य बढ्दैन भनेर पनि प्रष्ट भइसकेको छ । ‘कहिले सासुको पालो त कहिले बुहारीको’ भनेझैं हिजो सहकारी डुब्यो त अब बैंक डुब्दैछ ।

Nepali patro