गिरिजाले संविधान र लोकतन्त्र जिम्मा लगाए

वि.सं.२०८१ फागुन २७ मंगलवार
shares

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमन सफल हुन नदिइने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि माओवादी सदैव लागिरहने बताए ।
शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता स्वर्गीय गिरिजाप्रसाद कोइरालालले जीवनको अन्तिम क्षणमा ‘लोकतन्त्र र संविधान तपाईँको जिम्मा’ भनेको पनि प्रचण्डले स्मरण गराए । गिरिजालाई आफूले लोकतन्त्र र संविधानको रक्षाको पक्षमा सदैव उभिने वचन दिएको र सो वचन पूरा गर्न सदैव प्रतिवद्ध रहेको उनले बताए ।
‘संविधानको अभिन्न अंग बनेको शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले म भन्न चाहन्छु– यो संविधानले नै त्यसलाई अभिन्न अंग मानेको छ । त्यसको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम क्षणमा हस्पिटलमा मेरो हात समातेर संविधान र लोकतन्त्र तपाईँको जिम्मा भनेको सुन्ने साथीहरु यही संसद्मा हुनुहुन्छ । उहाँलाई दिएको वचनलाई साक्षी राखेर म यो संसद्लाई विश्वास दिलाउन चाहन्छु– प्रतिगमन सफल हुन दिइने छैन,’– उनले भने ।