महानगरको उपमेयरलाई भिआइपी कक्ष किन ?

वि.सं.२०८२ वैशाख १५ सोमवार
shares

शक्तिको उन्मादमा मान्छेले मान्छेलाई चिन्दैन भन्ने कुरा काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलमा लागू हुन थालेको छ । मीस नेवाः भएपश्चात् केही समय क्यापिटल टेलिभिजन र नेपाल टेलिभिजनका बाल कार्यक्रम चलाउन पुगेकी डंगोललाई पूर्वमेयर विद्यासुन्दर शाक्यले शहरी योजना आयोगमा नेपाल भाषा विज्ञका रूपमा जागिर ख्वाए । उनै सुनिता अहिले न विद्यासुन्दर शाक्यलाई चिन्छिन् न महानगरका अन्य उच्च कर्मचारीलाई नै । एमालेकै वडाध्यक्षहरूले भनेको कुरा पनि सुन्दिनन् ।
त्यही भएर पनि होला एमालेका जनप्रतिनिधिले मात्र होइन, कर्मचारीले पनि उनलाई ‘सानी महारानी’को संज्ञा दिन थालेका छन् । उनै सानी महारानी पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र उनकी श्रीमती राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यको निर्देशनमा चल्ने गर्छिन् ।
‘यता ठिक्क, उता दिक्क’ भनेझैँ छ स्वभाव । तीन वर्ष अघिसम्मको जीवन भुलिसकेकी सुनितालाई केपी ओलीले भावी मेयरका रूपमा प्रस्तुत गरेका कारण पहिलो पटक मेयर बालेनलाई कोठामा बसेर कार्यालय नचलाउन भनेकी हुन् । हरेक महिनाजसो विदेश जाने अवसर भने मेयर बालेनकै कृपा हो । बालेनका लागि आएको कतिपय भ्रमणमा उनै सहभागी हुन्छिन् । उनी पनि फुरुंग पर्दै भिआइभी कक्ष प्रयोग गर्दै विदेश शयर गर्छिन् । तर, बालेन सचिवालय टिमले उनी कतिपटक विदेश गइन्, भिआइपी कक्ष प्रयोग किन गरिन् रु खर्च कति गरिन् भन्ने डाटा लिएर बसेको छ । उनले अधिकारभन्दा बाहिर गएर गरेका काम, दुई–दुई वटा सवारी साधनको प्रयोगजस्ता विवरण पनि राखेका छन् ।
उपमेयरले कुनै दिन बालेनको विपक्षमा बोल्न थालिन् भने यी सबै कुरा एकै छिनमा युट्युबमा भाइरल हुनेछ । जसरी अहिले प्रवक्ता नवीन मानन्धर र वडाध्यक्ष ख्याम तिवारीको ५ करोड घुसकाण्ड सार्वजनिक भएको छ । मेयर बालेन सुनिताका पक्षमा होइन, पर्ख र हेरको अवस्थामा छन् ।
विदेश भ्रमणकै प्रसंगमा महानगरपालिकाको उपप्रमुखलाई अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष किन भन्ने प्रश्न नआएको होइन । तर, पहिलो पटक विदेश जाँदा बालेनकै अनुरोधमा भिआइपी कक्ष प्रयोग गर्न दिइएको स्रोतले बताएको छ ।
मापदण्डअनुसार भिआइपी कक्षको सूचीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सरकार प्रमुख, प्रधानन्यायाधीश, सभामुख, पूर्वराष्ट्रप्रमुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, उपसभामुख, राज्यमन्त्री छन् । त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपति,उपकुलपति, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, सहायक मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख तथा सदस्य, महान्यायाधिवक्ता, मुख्यसचिव, प्रधानसेनापति, संसद्का महासचिव, उच्च अदालतका मुख्य न्यायाधीश, योजना आयोगका सदस्य, गभर्नर, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीले भिआइपी कक्ष प्रयोग गर्न पाउँछन् ।
यसबाहेक नेपालस्थित विदेशी राजदूत, नेपाली राजदूत, सार्कका महासचिव, सर्वोच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधीश, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक, सुरक्षा निकायका विशिष्ट श्रेणीका कर्मचारी र राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिका सदस्यसचिवले भिआइपी कक्ष प्रयोग गर्न पाउने उल्लेख छ । निर्णयमा नभए पनि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुखलाई पनि भिआइपी कक्ष प्रयोग गर्न दिने गरिएको छ । सुनिता डंगोललाई भिआइपी कक्ष प्रयोग गर्न दिँदा अन्य पालिकाका उपप्रमुखलाई दिने कि नदिने रु विमानस्थल प्रशासन संकटमा परेको छ ।
जनआस्थाबाट