राजनीतिक शक्ति र पदाधिकारीको दुरुपयोग गरेर ६ वर्षदेखि लोकसेवामा सहसचिव हुमेगाईंको मस्ती
वि.सं.२०८२ कात्तिक ११ मंगलवार
shares
काठमाडौँ । हरेक कार्यालयमा निश्चित अवधि मात्र एक कर्मचारीले काम गर्न पाउने नियमावली हुन्छ । तर, लोकसेवा आयोगमा एक सहसचिव लामो समयसम्म मस्ती मारिरहेकी छिन् । त्यो पनि विवादै विवादको बिचमा उनको कार्यकाल रहेको छ । लोकसेवा आयोगमा कार्यरत सहसचिव गीता कुमारी हुमेगाईं पछिल्ला वर्षहरूमा निरन्तर विवादमा आउने नाम बनिरहेकी छन् । २०७६ माघ १७ गतेदेखि सहसचिव पदमा कार्यरत उनी अहिलेसम्म त्यही छन्, उनको कार्यशैली र प्रभावबारे कार्यालयभित्र विभिन्न टिप्पणीहरू आएका छन् ।
आयोगको आन्तरिक अभिलेखअनुसार, उनले तलबबाहेक भत्ता मात्र ४० लाख रुपैयाँसम्म बुझेको विवरण देखिन्छ । यो रकम सामान्य प्रशासनका अन्य सहसचिवहरूका तुलनामा निकै उच्च हो । यो विषयमा केही कर्मचारीहरूले आन्तरिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् । कार्यालयभित्र उनी ‘लोकसेवाको नाममा प्रभाव प्रदर्शन गर्ने’ सहसचिवका रूपमा चिनिन्छिन् । सार्वजनिक संस्थानका विभिन्न परीक्षा प्रक्रियामा उनी मात्र प्रतिनिधि भएर जाने गरेको उजुरी समेत आयोगमा परेको छ । अरू कर्मचारीलाई परीक्षामा जान नदिने, वा आफ्नो प्रभाव कायम राख्ने प्रवृत्ति मौलाएको छ ।
‘जहाँ पनि उनी मात्रै जान्छिन्, अरूलाई अवसर दिइँदैन,’ आयोगका एक वरिष्ठ अधिकृतले भने,‘आयोगमा सामूहिकता हराउँदै गएको छ ।’ हुमेगाईंलाई आयोगका अध्यक्षकै ‘निकट सहकर्मी’का रूपमा लिइने गरिएको छ । एक उपसचिवले भने, ‘जहाँ अलि संवेदनशील वा अवैध काम हुन्छ, अध्यक्षले त्यहीँ हुमेगाईंलाई पठाउँछन् । वातावरण मिलाउने जिम्मा उनीमाथि नै पर्छ ।’
यो कामले संस्थाभित्र शक्ति सन्तुलनमा असमानता ल्याएको छ । लोकसेवाजस्तो संवैधानिक निकायमा कुनै एक व्यक्तिको अत्यधिक प्रभाव हुनु राम्रो होइन । यसले संस्थाको निष्पक्षता नै शङ्का उत्पन्न गरेको छ । हुमेगाईंमाथि सहकर्मीप्रति असहयोगी व्यवहार, आदेशात्मक शैली र माथिल्लो तहसम्म धम्कीपूर्ण बोली प्रयोग गर्ने आरोपहरू छन् ।
एक उपसचिवको भनाइमा, उनी कहिलेकाहीँ सचिवलाई समेत अपमान गर्छिन् । आफूलाई आयोगको वास्तविक प्रमुख ठान्छिन् र ‘मैले भनेकै हुनुपर्छ’ भन्ने ढङ्गले आदेश दिन्छिन् । आयोगका अध्यक्ष वा पदाधिकारीको दुरुपयोग गरेर उनले यो प्रभाव जमाएको स्पष्ट बुझिन्छ । त्यस्तै, उनीमाथि विगतमा आयोगका विभिन्न आन्तरिक निर्णयहरूमा निजी हितका कारण हस्तक्षेप गरेको आरोप पनि लागेको छ । तर, हुमेगाईंले भने ती सबै आरोप निराधार भएको बताउँदै आएकी छन् ।
तर, लगातार बढ्दो असन्तुष्टि र उजुरीका कारण लोकसेवा आयोगभित्र एक प्रकारको आन्तरिक समीक्षा हुन आवश्यक भएको कमचारीहरु बताउँछन् । लोकसेवा आयोग देशको सबैभन्दा संवेदनशील र विश्वसनीय निकायमध्ये एक हो । त्यहाँ निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठ्नु नै प्रणालीका लागि गम्भीर सङ्केत मानिएको छ ।





























