ओली–पोखरेल प्रतिष्पर्धा, एमाले महाधिवेशनमा विद्युतीय मतदान
वि.सं.२०८२ पुस १ मंगलवार
shares
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदान प्रक्रियाबाट नयाँ नेतृत्व छान्न लागिएको हो ।
केन्द्रीय निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान गराउने तयारी गरेको छ । निर्वाचन काठमाडौँको भृकुटीमण्डप परिसरमै हुने आयोगले जनाएको छ । मतदानका लागि सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइसकेको बताइएको छ ।
अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि एमालेमा प्रतिस्पर्धा तीव्र बनेको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्ष पदमै सहमति नजुटेपछि उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिवलगायत अन्य पदहरूमा पनि दुवै प्यानलबाट उम्मेदवारी परेको छ, जसका कारण निर्वाचन बहुपदमा प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।
महाधिवेशनमा यसपटक एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्न लागेको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ । उनले विद्युतीय प्रणाली प्रयोग गर्दा मतदान छिटो, सुरक्षित र पारदर्शी हुने विश्वास व्यक्त गरे ।
महाधिवेशनमा देशभरबाट सहभागी भएका कुल २ हजार २ सय ६३ जना प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरूको व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा तथा मतगणनासम्बन्धी तयारीलाई समेत उच्च प्राथमिकतामा राखिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन परिणामपछि नेकपा एमालेको आगामी कार्यदिशा, संगठनात्मक संरचना तथा राजनीतिक रणनीतिमा महत्वपूर्ण प्रभाव पर्ने भएकाले यो निर्वाचनलाई पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिका दृष्टिले पनि चासोका साथ हेरिएको छ ।































