रास्वपाको नेतृत्व पुनर्संरचना : बालेन दोस्रो, स्वर्णिम ओझेलमा
वि.सं.२०८२ पुस २१ सोमवार
shares
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य बनेका छन्। रास्वपाले बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा अनुमोदन गरेको हो।
आइतबार पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टी स्रोतले जनाएको छ। बैठकले संगठन विस्तार र आगामी राजनीतिक रणनीतिलाई केन्द्रमा राख्दै नयाँ केन्द्रीय सदस्यहरू अनुमोदन गरेको बताइएको छ।
बालेन शाह केन्द्रीय सदस्यमा अनुमोदन भएसँगै पार्टीभित्र उनी बरिष्ठ नेताको हैसियतमा स्थापित भएका छन्। पार्टी सभापति रवि लामिछानेले शाहको पार्टीभित्रको बरियता दोस्रो क्रममा रहने स्पष्ट पारेका छन्। यससँगै रास्वपाको नेतृत्व संरचनामा बालेन शाह निर्णायक भूमिकामा पुग्ने संकेत देखिएको छ।
स्थानीय तहमा वैकल्पिक राजनीतिक अभ्यास र कडा प्रशासकीय कदमका कारण चर्चामा रहेका बालेन शाहको रास्वपामा औपचारिक प्रवेशलाई पार्टीको राजनीतिक विस्तारका लागि महत्वपूर्ण मानिएको छ। विशेषतः शहरी मतदाता, युवा वर्ग र परिवर्तनमुखी मतदातालाई थप आकर्षित गर्ने रणनीतिका रूपमा उनको भूमिका रहने विश्लेषण गरिएको छ।
तर, यस निर्णयसँगै रास्वपाभित्रै पूर्व महामन्त्री स्वर्णिम वाग्ले भने अपेक्षित भूमिकाबाट ओझेलमा परेको चर्चा सुरु भएको छ। पार्टीभित्र प्रभावशाली मानिँदै आएका वाग्लेको नाम बरियता र जिम्मेवारीको सवालमा पछाडि परेको संकेतले आन्तरिक शक्ति सन्तुलनमा परिवर्तन आएको देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेन शाहलाई केन्द्रीय समितिमा उच्च बरियता दिनु पार्टीको आगामी निर्वाचन रणनीति र शहरी राजनीतिमा पकड बलियो बनाउने प्रयासको रूपमा बुझ्न सकिन्छ। यद्यपि, यसले पार्टीभित्र नेताहरूबीचको शक्ति सन्तुलन र भूमिकाको पुनः परिभाषा गराउने सम्भावना पनि उत्तिकै रहेको उनीहरूको भनाइ छ।
रास्वपाले अनुमोदन गरेका अन्य २६ केन्द्रीय सदस्यहरूको नामावली र जिम्मेवारीबारे पार्टीले औपचारिक विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाइएको छ।































