गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपद्वारा २७ औं पोखरा स्ट्रिट फेस्टिभलमा स्वच्छ वातावरण अभियान
वि.सं.२०८२ पुस २२ मंगलवार
shares
पोखरा।नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको स्वच्छता र सौन्दर्य संरक्षणलाई लक्षित गर्दै गोर्खा ब्रुअरी तथा कार्ल्सबर्ग ग्रुपले २७ औं पोखरा स्ट्रिट फेस्टिभलका अवसरमा विशेष स्वच्छ वातावरण अभियान सञ्चालन गरेको छ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि.को सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले महोत्सव अवधिभर दिगो फोहोर व्यवस्थापनमा जोड दिएको छ।
प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका कारण विश्वभर परिचित पोखरामा ठूला सार्वजनिक महोत्सवका क्रममा ठूलो परिमाणमा फोहोर उत्पादन हुने भएकाले सहरलाई स्वच्छ र व्यवस्थित राख्न दीर्घकालीन समाधान आवश्यक रहेको आयोजकहरूको भनाइ छ।
अभियान अन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोग गर्न मिल्ने फोहोर तथा सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन उपलब्ध गराएको थियो। ती डस्टबिनहरू लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखी सर्वसाधारणलाई फोहोर व्यवस्थापनमा सचेत र जिम्मेवार बन्न प्रेरित गरिएको छ।
संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि.ले वातावरणमैत्री र जिम्मेवार ढंगले प्रशोधन गर्ने व्यवस्था मिलाएको छ भने रेबानले आफ्ना सदस्य रेष्टुरेन्ट तथा बारहरूलाई अभियानमा सक्रिय रूपमा सहभागी गराएको जनाएको छ।
गोर्खा ब्रुअरीले अभियानबारे प्रतिक्रिया दिँदै भनेको छ,
“पोखरा नेपालको एक स्वच्छ र सुन्दर सहर हो, जसलाई पर्यटक र स्थानीयवासी दुवैले उत्तिकै माया गर्छन्। फोहोर संकलनका लागि डस्टबिनहरू राख्ने यो पहलले आजको महोत्सव मात्र होइन, भविष्यमा पनि स्वच्छ पोखरा निर्माणमा योगदान पुर्याउने हाम्रो प्रतिबद्धता झल्काउँछ।”
महोत्सव अवधिमा सीमित नराखी यस अभियानलाई पोखरामा जिम्मेवार फोहोर व्यवस्थापनको अभ्यास सुदृढ गर्ने, जनचेतना अभिवृद्धि गर्ने र दिगो पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइने बताइएको छ।
वातावरणीय दिगोपन र सामुदायिक हितप्रतिको गोर्खा ब्रुअरीको निरन्तर प्रतिबद्धताको यो अभियानले नेपालभर आयोजना हुने उत्सवहरूलाई अझ जिम्मेवार र व्यवस्थित रूपमा मनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।































