सेनामा यस्तोसम्म हुन थालेको भित्री समाचार

Ghorahi cement

काठमाडौँ l काठमाडौं–निजगढ फास्ट ट्रयाक परियोजना प्रमुखमा पूर्णचन्द्रकै पालादेखि दुई जना जर्नेललाई हटाएर निरन्तरता पाएका हाकिम छोरालाई विदेश पढाउन सक्षम भएका छन् । थाइ एअरलाइन्सको काठमाडौं–बैंकक उडान नहुँदा पनि एक तारे जर्नेल सारा कामधाम छाडेर छोरा पुर्याउन केही समयअगाडि बैंकक पुगेकाले जङ्गी अड्डादेखि विभिन्न गणसम्म गाईंगुईं चल्न थालेको छ ।

परियोजना निर्देशक रहेका सहायक रथी विकास पोखरेल छोराको ब्यवस्थापन सकेर फर्केका छन् । अघिल्लो महिना श्रीमतीसहित बैंककमा अध्ययनरत छोरो भेट्न गएको भनिए पनि उध्देश्य अर्कै रहेको आरोप लगाउनेहरु पनि स्थपति विभागमा भेटिएका छन् । यसअघिका माथिल्ला हाकिमहरुको समेत दुबई,अमेरिका र बैंककतिर करोडमा होइन अर्बको सम्पत्ति रहेको पनि कसै कसैले बताउने गरेका छन् ।

नाम नबताउने शर्तमा मधेसी मूलका एक जना महासेनानीले भने, ‘छोरो भेट्न भन्दै श्रीमतीलाई लिएर गएका हुन् । बैंककमा पढाउन सक्ने हैसियत कसरी आयो होला ? तीन तारे जर्नेलहरुको समेत हविगत हेरिनसक्नु छ । उनीहरुले आफ्ना छोराछोरीलाई काठमाडौंमै पढाउन गाह्रो भएको बेला ५५ हजार तलव खाने एक तारेले कसरी बैंकक लान सकेको होला !’

उनैले थपेका छन्, ‘भारतसम्म भए त होला कि भन्न सकिन्थ्यो । बैंककमा फुल फण्डिङमा पढाउनलाई हात लामो नबनाई एक सकिन्न,दुई सकिन्न । तर के गर्नु,प्रभूको पूर्ण साथ भएपछि जे पनि सम्भव हुँदो रहेछ ।’

‘३,४ र ५ नम्बरबाट प्राप्त हुने विभिन्न शीर्षकको रकम कलम मिलाउन बैंकक पुगेका हुन् । फ्याट्ट बोल्न प्रमाण छैन । तर,जानुको उद्देश्य त्यहि कामको लागि हो भन्नेमा कुनै द्विविधा छैन,’उनैको विश्लेषण हो यो ।

भन्छन्,‘यहाँ मात्र होइन बैंकक,दुबई, हंककंग,मलेसिया र सिंगापुरसम्म गएर पनि नेपाल सरकारले छानबिन गर्न पर्दैन रु सबैले हुण्डी गरेर पैसा बाहिर लैजाने अनि डिल गर्न बैंकक जाने प्रवृत्ति बढेको छ । यसबाट सेनाको छवि पनि धमिलो भएको छ ।’

मुख्य गरी सेनामा प्रबन्ध रथी,सम्भार रथी,कल्याणकारी,शान्तिसेना,हवाइ सुरक्षालगायत महत्वपूर्ण विभाग र निर्देशनालयको जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज तल्लो तहकाले उठाउन थालेका छन् । एक जना जुनियर अधिकृतले जनआस्थालाई पठाएको पत्रमा लेखिएको छ,‘राणाकालमा बरु बाहिरको पैसा मुलुकभित्र ल्याएर भव्य सँरचनाहरु बनाइन्थ्यो । तर अहिले त अख्तियार र अदालत लाग्दैन भन्दै बाहिर लैजान थालिएको छ । यो दण्डहीनताको पराकाष्ठा भयो ।’

‘यसबीच हल्ला नगरी रुसबाट सुटुक्क खरिद गर्न लागिएको दुई वटा हेलिकप्टरको फाइल सदर गराउन किन ठूलाबडा प्रधानमन्त्री र मुख्यसचिवकोमा धाइरहन्छन् ? गाँठी कुरो त्यही हो । तर बोल्न मिल्दैन । घामजत्तिकै छर्लङ्ग छ तर खाइस् भन्न सकिँदैन,’उनैको दुखेसो हो यो ।

यता नेपाली सेनाको ‘इमेज’ बिगार्नमा अहिले सैनिक जनसम्पर्क निर्देशनालयमा आएका हाकिमको पनि राम्रै योगदान रहेकोे गुनासोसमेत सुन्न थालिएको छ । एक तारे जर्नेल नारायण सिलवाललाई उक्त निर्देशनालयमा पदस्थापन गरिएपछि सञ्चारमाध्यमका प्रतिनिधिहरुसँगको सम्बन्ध ओरालो लागेको बताइन्छ ।

v2.jpg
उनले आफूलाई लफडावाला पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवालको भाइ बताए पनि साख्खै भाइ नभएको सैन्य स्रोतले पुष्टि गरेको छ । ‘नवराजका भाइ सुदर्शन सिलवाल हुन् जो पहिले शान्ति सेना निर्देशनालयमा थिए । अहिले त्यहाँबाट अन्यत्र पठाइएको छ । तर गोदावरीका नारायण र सुदर्शन दुवै सेनाभित्र ओजेको रुपमा परिचित छन् ।’

जे कुरामा पनि बढी जान्ने भएर प्रस्तुत हुनेलाई ‘ओभर जान्ने’ भनिन्छ । नारायणको आफ्नै दाइ कृष्ण सिलवाल हुन् । नारायण डिपिआर अर्थात जनसम्पर्कमा आउनुअघि नम्बर १ बाहिनी बालाजुमा थिए । यो बाहिनीले राजधानी उपत्यका हेर्छ ।

उनी ३५ वर्षेमा नभई ३७ वर्षे उमेर हद कटेपछि स्टाफ कलेज गरेर माथि उक्लेका हुन् । स्टाफ कलेजमा पहिलेका सेनापति रुक्मांगद कटुवालको भाइ सानुरामलाई ३७ वर्षको उमेरमा पुगेपछि जाँच दिन पाउने व्यवस्था गरियो । कटुवालको भाइका निम्ति नियम सच्याउँदा नारायण सिलवालको पनि तालुमा आलु फलेको हो ।’

मिडिया फ्रेण्डली नभएका उनैलाई खोजी खोजी प्रधान सेनापति प्रभुराम शर्माले किन ल्याए भनेर भित्रैका अधिकृतहरुले प्रश्न उठाएका छन् । ‘मिडियाले सोधेको कुरो एउटा हुन्छ, उनले आफ्नै व्याख्या र विश्लेषण सुनाउँछन् । कुन दिन उच्च अधिकारीहरुलाई अप्ठेरोमा पारिदिन्छन्,’सोझा सेनापतिको भलो चिताउनेहरुको धारणा हो यो ।

डिपीआर निर्देशनालयले सेनाको छवि बनाउन वा भत्काउन योगदान गर्नेमा प्रायः सबै सहमत छन् । तर सिलवाल आउने बित्तिक्कै सेनाको मिडियासँगको सम्बन्ध स्वाट्टै घटेको बताइन्छ । यो अनुभव मिडियाकर्मीले समेत गर्न थालेका छन् ।

उनीसँगको यस्तै पछिल्लो अनुभव जनआस्था डट कमसँग पनि छ । चैत २ गते बुधवार राजधानीको मुटु पुतलीसडकमा रेञ्जर गणका मिलन श्रेष्ठले मोटरसाइकल ठोक्किएको विषयमा निहुँ खोज्दा प्रचण्डको भाषण सुन्न हिँडेका एक जना माओवादी इञ्चार्ज पाँच घण्टासम्म प्रहरी वृत्त सिंहदरबारमा थुनिएका थिए ।

त्यसरी थुनिएका ट्रेड युनियन नेता जनक बर्तौलाका अनुसार श्रेष्ठले प्रहरी वृत्तमा केही मानिस बोलाएर विषयलाई तन्काउँदा आफूले अनाहकमा दुःख पाएका थिए । मध्यान्हमा भएको उक्त घटनाबारे जनआस्था प्रतिनिधिले राति ८ बजे सैनिक प्रवक्ता सिलवालसँग सोधनी गर्दा उल्टै उनले समाचार पाएपछि आफूलाई जानकारी गराइदिने काम लगाए । जनआस्थाले सबै कुरो पत्ता लगाएपछि चैत ४ गते बिहान उक्त समाचार प्रकाशित गरेको हो ।

जनयुध्दकालमा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा गणपति राजु नेपाली साँझदेखि नै सोमरस पिएर मस्त भएकाले सिलवाल माओवादीसँग भिडेको भन्नेहरु पनि छन् । त्यसो त उनका प्रशंसक एक जनाले भने,”कालीप्रसाद इन्जिनियरिङ्ग गणको भएर पनि त्यतिखेर लडेकै हुन् ।’

त्यहि जनसम्पर्क निर्देशनालयमा रहेर दीपक गुरुङ,राजेन्द्र थापा,तारा कार्की,गोकुल भण्डारी,नयनराज दाहाल,विज्ञानदेव पाण्डे र सन्तोष पौडेलले सेना र सन्चारवीचको नियमित र चुनौतीपूर्ण कार्यलाई राम्रोसँग ह्याण्डिल गरेको धेरैको अनुभूति छ ।

त्यही अड्डाका झंकर कडायतलाई पछि डिजिएमआई प्रमुख हुँदा तीन तारे जर्नेलको लोभ देखाएर तत्कालीन सेनापति पूर्णचन्द्र थापाले आर्मीका ठूलाबडा सबैको अघिपछि मान्छे घुमाउन लगाएको आरोप पनि छ । उक्त कार्यले सेनाभित्र एक किसिमको आतंक नै मच्चिएको थियो ।

अछामी भएकाले उनले एमाले नेता भीम रावलसँग निकट र अच्छा सम्बन्ध कायम गरेका थिए । रावल रक्षामन्त्री हुँदा हेलिकप्टरमा बसेर इधरका माल उधर गरेको आरोप पनि लागेकै हो । उनले धेरै पटक सेनाको हेलिकप्टरमा यार्सागुम्बा ओसारेको भन्ने जर्नेलहरु कोही रिटायर्ड भए, कोही अझै छन् । उनले मौका परेको समयमा जग्गा कारोबारबाट समेत राम्रो आम्दानी गरेको बताइन्छ । धेरै जनासँग ४ देखि ५ लाख रुपैयाँ सापटी लिएर उनले जग्गा किन्ने गर्थे । पछि थोरै रकम भएकाले सापटीको रकम बिना ब्याज बिस्तारै तिर्दा छोटो समयमा मालामाल बनेका हुन् ।

जनसम्पर्कमा यसअघि रहेका जर्नेल सन्तोष पौडेल शान्ति सेना निर्देशनालयमा पुगेका छन् भने उनकी श्रीमती सैनिक श्रीमती संघको सदस्य सचिव भएकी छन् । अहिले अफ्रिकी मुलुक मालीमा राख्न लागिएको मिशनको निम्ति एपीसी खरिद प्रक्रिया शुरु हुन लागेको छ । सेनाले थुप्रै आर्मर्ड पर्सनल क्यारियर किन्दै छ । मिशनको लागि अन्य धेरै सामान किन्नुपर्ने हुन्छ । सन्तोषले मिलाएर उक्त काम फत्ये गर्ने विश्वासमा प्रधान सेनापतिले उनलाई त्यहाँ लगेको स्रोतको दाबी छ ।

यता सेनाभित्रको पछिल्लो सरुवा र जिम्मेवारीले अर्को विवाद जन्माएको छ । महत्वपूर्ण ठाउँमा सबै तागाधारीहरुलाई राखिएको भन्दै गैरतागाधारीहरुले अचम्म मानेका छन् । सेनाभित्रको महत्वपूर्ण निर्देशनालयमा ब्राम्हण अधिकृतहरुको छनौट गरियो भन्दै स्रोत भन्छ,‘एमए,डीएमआई, डीएमओ,पूर्वी कमाण्ड,भ्याली कमाण्ड,स्टाफ कलेज जताततै एक छत्र भयो ।’ जनआस्थाबाट

Nepali patro