विद्युतीय भुक्तानीमा सबैभन्दा बढी मोबाइल बैंकिङको प्रयोग

Ghorahi cement

काठमाडौँ । पछिल्लो समय विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) मा मोबाइल बैंकिङको प्रयोग सबैभन्दा बढी हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनामा विद्युतीय भुक्तानीसम्बन्धी कारोबार संख्यामा मोबाइल बैंकिङको हिस्सा झन्डै ३३ प्रतिशत देखिएको छ ।

 

विद्युतीय भुक्तानीका लागि मोबाइल बैंकिङ, वालेट, क्युआर, कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, आइपिएसलगायतका उपकरण (सेवाप्रदायक) प्रचलित छन्, त्यसमा मोबाइल बैंकिङको प्रयोग सबैभन्दा बढी हुने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले बिभिन्न १५ शीर्षका छुट्टयाएको विद्युतीय भुक्तानीबाट साउनमा कुल नौ करोड ६१ लाख ६२ हजार पाँच सय ६३ पटक कारोबार भएको छ । त्यसमा मोबाइल बैंकिङबाट मात्रै ३ करोड १२ लाख ८१ हजार पाँच सय ४६ पटकको कारोबारमा दुई खर्ब ४२ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल डिजिटल भुक्तानीको मापनमा मोबाइल बैंकिङ प्रमुख आधार बनाइएको छ ।

 

आव २०८०–८१ को पहिलो महिना (साउन)मा मात्रै एक करोड १२ लाख ५७ हजार ३८८ पटक क्युआरमार्फत भुक्तानी भएको छ, जुन अघिल्ला महिनाहरूको तुलनामा निकै बढी हो । गत आवको अन्तिम महिना अर्थात् २०८० असारमा ९७ लाख ६६ हजार २१६ पटक क्युआरमार्फत भुक्तानी भएकोमा साउनमा करिब १५ लाख पटक बढी भएको हो । आव २०७९–८० को साउनमा ४६ लाख ७२ हजार ५६ पटक क्युआरमार्फत भुक्तानी भएको थियो । चालु आवको साउनमा यो संख्या बढ्दै एक करोड १२ लाख नाघेको हो ।

 

पछिल्लो समय नेपालीहरूमा सहज भुक्तानीको माध्यम क्युआर बन्दै जाँदा यसको प्रयोगले व्यापकता पाएको राष्ट्र बैंकले जनाएको छ । कारोबार संख्याका साथै कारोबार रकम पनि बढेको छ ।

 

चालु आवको साउनमा २९ अर्ब ९९ करोड रुपैयाँ भुक्तानी क्युआरमार्फत भएको छ । गत आवको साउनमा यो रकम १४ अर्ब ८१ करोड थियो । चालु आवको साउनमा यो १५ अर्ब १७ करोड रुपैया बढी हो । गत आवभरमा क्युआरमार्फत २ खर्ब २४ अर्ब रुपैयाँ भुक्तानी भएको थियो, जुन अघिल्लो आवको तुलनामा १ खर्ब ५० अर्ब रुपैयाँ बढी हो । अघिल्लो आवमा यस्तो भुक्तानी ९४ अर्ब ५० करोड रुपैयाँ थियो ।

Nepali patro