छचल्किएका आँशु भित्र कोरिएका सपनाहरु

Ghorahi cement

चाँडबाड नजिकिदै छन् । छचल्किएका आँशुभित्र सुन्दर भविष्य बनाउने सपना बुनेर परदेश गएकाहरुलाई र यता स्वदेशमा उनीहरुका परिवारलाई विछट्टै सम्झनाले पिरोल्छ । “नझारे आमा आँशुका धारा मुल बाटो हेरेर”, “मखमली फुल्दा मार्सिधान झुल्दा बहिनी आउनेछिन”, “मरुभुमी बालुवामा सपनाको खेती, यो सालको चाडमा पनी आउन पाएन परदेशी”, “एउटा बाटो परदेश अर्को घरदेश, परदेशी र घरदेशीको कहिले होला भेट” जस्ता गितहरु घन्किन थालिसकेका छन् । “रातमा निन्द्रा दिनमा भोक छैन,परदेशमै बस्ने रहर होईन, परदेशले उमेर लुट्यो सबै, सपना जती टुट्यो सबै” यी मनछुने गितहरु गाउँ शहरमा बज्न थालेका छन् । मन वितरंगित भईदिन्छन् ।     

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा गएर त्यहाको दृश्य नियाल्दा जो कोहीको पनी आँखा नरसाएका हुदैनन् । दिनहुँ हजारौको संख्यामा उर्जावान युवाहरु विदेशिदै छन् । बुढा भएका आमाबाबुको बुढेसकालमा सहारा बन्नुपर्ने सन्तान परदेशिन बाध्य भएका छन् । ति कलिला लालाबाला छोडर परदेशिन एउटा आमालाई कहिल्यै मन हुदैन तर भक्कानिदै ति सन्तानलाई एकछिन भएपनी अंगालोमा बाधेर अरु कसैको जिम्मा लगाएर ति आमाहरु परदेशिन बाध्य छन् । तर मेरो देशको नेतृत्व गर्ने नेताहरुले त्यो दर्दनाक दृश्यमा लुकेका पिडा अनी दुःखको सागरलाई नजिकबाट नियाल्ने कहिल्यै प्रयास गरेन् ।

आफ्नो मातृभुमि, आफ्नो प्राण भन्दा प्यारो परिवार अनी बुढा भएका आमाबाबुलाई रुवाउदै परदेश जान रहर हुदैन, यो बाध्यात्मक परिस्थिति हो । बुढा भएका आमाबाबुले आफ्नो छोराछोरी आफु संगै होउन भन्ने चाहना राख्दछन तर विडम्बना ति छोराछोरी बुबाआमाको साहारा बन्न सकिरहेका छैनन् । छोराछोरी फर्कने बेलासम्म आफु बाच्ने हो की होईन भन्ने चिन्ताले भक्कानिन्छन ति बुढा भएका आमाबाबु । बुढेसकालमा आमाबुबाको सहारा बन्न नसकेकोमा पिडा बोध गर्दै परदेशिन बाध्य हुन्छन ति सन्ततीहरु । दुधे बालबालिकालाई छोडेर डाको छोडेर रुदै देश छोड्न बाध्य भएका छन आमाहरु । आमाको काखमा बसेर मातृ बात्सल्यमा हुर्कन, बड्न पाउने अबसरबाट ति कलिला पालुवाहरु बञ्चित भएका छन् । कति पिडादायी अवस्था छ तर यो देशको नेताहरुलाई यो पिडाले कहिल्यै छोएन ।

अधिकांश क्याम्पसहरु बन्द हुने अवस्थामा छन् । १२ कक्षा उर्तिण भएपश्चात उच्च शिक्षा अध्ययनका लागि युरोप,अमेरिका,जापान,अस्ट्रेलिया लगायत विकसित देशमा जाने दर उच्च हुँदै गएको छ । स्नातक तह उर्तिण गरी स्नातकोत्तर तह अध्ययनको लागि, स्नातकोत्तर उर्तिण गरी पिएचडि अध्ययनको लागि बाहिरिने दर पनी उत्तिकै उच्च हुदै गएको छ । यसरी बौद्धिक जमातहरु विदेश गईरहने हो भने यो देशको अवस्था के होला?? योग्यता र क्षमता भएका युवाहरु सबै परदेश गएर यो देश चल्छ? देश चलाउनका लागि देशलाई समृद्धि तर्फ अग्रसर गराउनका लागि योग्य,सक्षम, परिकल्पना गर्न सक्ने र परिकल्पना अनुसार कार्ययोजना बनाई कार्यान्वयन गर्न सक्ने व्यक्ति चाहिन्छ । गम्भिरताका साथ सोच्ने समय आईसकेको छ , यस्तै अवस्था भईरहने हो भने यो देशले ठुलो मुल्य चुकाउनेछ र यो देशका नागरिकहरुले अन्यन्त पिडा, दुःख संगै दिनहरु बिताउन पर्नेछ ।

महंगीले सिमा नाघेको अवस्था छ । चरम आर्थिक मन्दिको मारमा देश गुज्रिरहेको छ । कति व्यवसायहरु ठप्प भएका छन कति हुने अवस्थामा छन । व्यवसायीहरुमा मानसिक विचलनको समस्या बढेको छ । डिप्रेसनको समस्या आत्महत्या जस्ता घटनाहरु दिनहु वढीरहेका छन् । यता तर्फ सरकारले ध्यान दिनु पर्दैन?

देशमा भएका उद्योग कलकारखानाहरु बन्द गरिएका छन् । बन्द भएको कलकारखाना खोल्ने, नया उद्योगहरुको बिस्तार गर्ने र युवाहरुलाई स्वदेशमा रोजगार बनाउन तिर कसैको ध्यान गएको देखिदैन । रोजगारीको अवसरहरु अत्यन्त सिमित छन् । रोजगारी पाउन पनी पहुँच र पावरको बजार चल्छ । कृषिमा आत्मनिर्भर हुन सक्ने देशमा अधिकांश खेतबारी बाझो छन । ती बाझो खेतबारीमा आधुनिक कृषि प्रणाली बिस्तार गर्ने, बजार व्यवस्थापन गर्ने,कृषकहरुले उब्जनी गरेका तरकारी, खाध्यान्नको उचित दरभाउ निर्धारण गर्ने तर्फ सरकारको ध्यान छैन।

प्राकृतिक छटाहरुले भरिपुर्ण देश नेपाल जहाँ लाखौ पर्यटकहरुलाई भित्राएर मनग्य आम्दानी गर्न सकिने आधारहरु छन् । जलश्रोतमा धनी देश यसबाट पनी मनग्य अवसरहरु शिर्जना गर्न सकिन्छ । सम्भावना नै सम्भावना भएको देशमा हिरा र किरा चिनेर काम गर्ने नेताहरुको जमात नभएको कारणले आज हाम्रो देशको युवाहरु भारी मन बनाउदै विदेश पलायन हुन बाध्य भएका छन । किन विदेश जादै हुनुहुन्छ? भन्ने प्रश्नको जवाफमा उनीहरुले भन्ने गर्दछन “स्वेदेशमा रोजगारको अवसर भएन, योग्यता र क्षमताको कदर छैन , व्यवसाय गर्नका लागि उचित वातावरण भएन, पहुँच पावरमा देश चल्यो, चरम भ्रस्टाचारले गर्दा देशको विकासले गति लिन सकेन, श्रम बापतको उचित पारिश्रमिकको व्यवस्था भएन, व्यवहारिक शिक्षा प्रणालीको व्यवस्था छैन, अनेकन प्रयास गर्दा पनी गरिखाने आशाहरु निश्तेज हुदै गए….”

यि विविध कारणले गर्दा परदेशिएका युवाहरुको आँखामा छचल्किएका आँशुमा बुनिएका सपनाहरु कतिको पुरा हुन्छन या हुदैनन् , कामना गर्छु सबै आँशु बोकेर विदेशिएकाहरु हासो लिएर स्वदेश फर्किउन । जय देश ।

Nepali patro