शीतल साहले राजनीतिक पावरमा पदको दुरुपयोग गरेको आरोप

Ghorahi cement

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले आफ्नो पदको दुरुपयोग गरेको आरोप लागेको छ । परिषद्को अध्यक्ष रहेका साहले कुनै पनि सेवा सुविधा लिन नमिल्ने भए पनि उनले आफूखुसी सेवा सुविधा लिइरहेको आरोप लागेको हो ।

 

परिषद्को स्रोतका अनुसार अध्यक्षले परिषद्मा रहँदा यसबाट कुनै पनि सेवा सुविधा लिन पाउँदैनन् । तर, अध्यक्ष साहले राजनीतिक पहुँचका आधारमा परिषद्बाट सेवा सुविधा एकलौटी तरिकाले पास गर्न दबाब दिने गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गत असार १४ गते साहलाई अध्यक्ष पदमा नियुक्त गरेका थिए । मन्त्री श्रेष्ठका नजिकका मानिने साहले पदको दुरुपयोग गरेको उक्त परिषद्का एक कर्मचारीले बताए ।

 

‘साहलाई कुनै पनि आर्थिक तथा प्रशासनिक अधिकार दिइएको छैन । तर, उनले आफ्नो पदको दुरुपयोग गर्दै परिषद्बाट नै पेट्रोल र डिजेल प्रयोग गर्ने गरेका छन्’, परिषद् स्रोत भन्यो, ‘परिषद्को कामको लागि भन्दा पनि राजनीतिक पार्टीको लागि बढी खटिने गरेको समेत साहमाथि आरोप छ । दैनिक जसो परिषद्मा ५०/६० जनाको हाराहारीमा कार्यकर्ता बोलाएर छलफल गरेर बस्ने गरेका छन् ।’

 

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का लागि वार्षिक तीन करोड रुपैयाँ बजेट आउने गर्छ । उक्त बजेट जानकी मन्दिर लगायतको मन्दिरको मर्मत सम्भारमा खर्च गर्नु पर्ने हुन्छ । तर, अध्यक्ष साहले उक्त बजेट त्यसका लागि मात्रै खर्च नगर्ने गरेको स्रोतको भनाई छ । यसका साथै साहले सोही स्थानमा रहेको यात्री निवास भवनमा समेत यात्रीहरूलाई नराखी आफैले प्रयोग गर्ने गरेको स्रोतको दाबी छ ।

Nepali patro