निजामती सेवामा प्रतिभा व्यवस्थापनः विधमान अवस्था, समस्या र भावी कार्ययोजना

Ghorahi cement

 

विषय प्रवेश
प्रतिभा व्यवस्थापन संगठन भित्र शीर्ष प्रतिभालाई आकर्षित गर्ने, , भर्ना गर्ने, विकास गर्ने र संगठनमा टिकाई राख्ने प्रकृया हो ।नेपालको निजामती सेवामा प्रतिभा भित्र्याउने कार्य औपचारिकतामा मात्र सिमित रहेको र प्रतिभा प्रयोगमा सरकार र संगठनको पर्याप्त ध्यान नपुगेको कारण कर्मचारीहरुमा कार्यसम्पादन, नवीनता, परिवर्तन, जोखिम वहन र सिर्जनशिलता कमजोर रहेको छ । योग्यता प्रणालीबाट खारिएर आएका जनशक्तिहरुपनि यो पद्धति भित्र प्रवेश गरेपश्चात सुस्त हुन्छन भन्ने विश्लेषणहरु हुने गरेका छन् । व्यवहारिक रुपमा हेर्दा पनि कर्मचारीहरु सेवा मुखी नभएर आत्म केन्द्रित र अति वृतिमूखि हुने संस्कार विकास भएको देखिन्छ ।हरेक संस्थाहरुलाई गतिशिल तुल्यायने, समय अनुकुलका परिवेशको शुक्ष्म मूल्यांकन गरी तदनुरुप संस्थाको र व्यक्तिको रुपान्तरणगरी सधै उत्कृष्टता प्रदर्शन गर्ने मेधावी र निष्ठावान व्यक्तिहरु नै संस्थाको इन्धनका रुपमा रहेका हुन्छन् ।यहि वास्तविकतालाई मध्यनजर गर्दै नजिामती सेवामा उम्दा जनशक्ति भित्र्याउनेगरी विगत देखि नै विविध प्रयासहरु हुँदै आएता पनि ति प्रयासहरु अपेक्षित मात्रामा प्रभावकारी हुन सकेका छैनन् ।

 

प्रतिभा व्यवस्थापन

व्यक्तिको अन्तर्निहित क्षमता, ज्ञान, सीप, दक्षता, बौद्धिकता अनुभव, चरित्र, धारणा आदिको समष्टि नै प्रतिभा हो । प्रतिभाको व्यवस्थापन सर्वोत्कृष्ट जनशक्तिलाई संगठनमा प्रवेश गराउने मात्र नभई समग्र जनशक्तिको विकास गर्नुसँग सम्बन्धित रहेको छ । साधारण अर्थमा प्रतिभा व्यवस्थापन संगठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो ।प्रतिभा व्यवस्थापनको यो बुझाईले संगठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्रँंग सम्बन्ध राख्ने विषय भएकाले यसले कर्मचारी विशेषको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ । प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र चक्रसँग सम्बन्ध राख्ने विषय हो ।मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चातका विषयसँग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त क्षमतावान जनशक्तिको प्राप्ति, विकास, प्रयोग र संगठनमा टिकाइराख्ने विषय समेतसँग सम्बन्धित छ ।

 

संगठनको लक्ष्य र उद्देश्य हासिल गर्न संगठनको कार्य प्रकृतिसँग मेल खाने गुण र विशेषता भएको जनशक्तिको खोजी, उपयोग र उचित क्षतिपूर्तिसम्मका क्रियाकलापहरूको एकीकृत रूप नै प्रतिभा व्यवस्थापन हो । मानवशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृद्धि ल्याउन सक्दछ ।मानव संसाधनको विवेकपूर्ण व्यवस्थापन नै प्रतिभा व्यवस्थापन हो । प्रतिभाको पहिचान, मूल्याङ्कन, प्राप्ति, कुशलताको व्यवस्थापन, कार्यसम्पादन, वृत्ति, क्षतिपूर्ति, सुविधा, उत्तराधिकारी योजना तर्जुमा र कार्यान्वयन जस्ता क्रियाकलापहरू प्रतिभा व्यवस्थापनमा समावेश हुने विषयवस्तु हुन ।
समस्त मानव संसाधनलाई तोकिएका कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न सक्ने बनाउनु नै प्रतिभाको व्यवस्थापन गर्नु हो ।संगठनले प्रदान गर्ने सेवासुविधा, संगठनको वातावरण, वृत्तिविकासको स्थिति, मानव संसाधन सूचनाप्रणाली, उत्तराधिकारी योजनाको प्रभावकारिता, जनशक्तिबीचको सम्बन्ध, असल अभ्यासको प्रयोग आदि यसका तरिका हुन ।
प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पूँजीको रुपमा लिने गर्दछ र कसरी कर्मचारी विशेषको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ । यसले कार्यसम्पादनको प्रभावकारितामा जोड दिने भएकाले यसका लागि कर्मचारीलाई सक्षम बनाउन अनुभव, योग्यता र सीपले सुसज्जित बनाउनुपर्छ ।संगठनका लागि आवश्यक परेका कर्मचारीको प्रकृतिको पहिचान गरी भर्ना छनोट, संठनभित्रको निरन्तरता, जनशक्तिको विकास गर्नुपर्छ । त्यसैले प्रतिभाको व्यवस्थापन गर्दा समग्र मानव संसाधन, ज्ञान र प्रतिभाको व्यवस्थापन गरी तीनवटै पक्षमा पर्याप्त ध्यान दिनुपर्छ ।

 

नेपालको निजामती सेवामा प्रतिभा व्यवस्थापनको अवस्था

नेपालमा सार्वजनिक निकायमा प्रतिभा व्यवस्थापन नयाँ अवधारण भएकाले यसको अभ्यास व्यवस्थितरुपमा हुन सकेको छैन ।नेपालमा सार्वजनिक निकायमा प्रतिभा व्यवस्थापनको विषय चुनौतीपूर्ण बनेको छ । विगतलाई फर्केर हेर्दा नेपालमा २००७ सालको राजनीतिक परिवर्तन पश्चात मन्त्रालय र सचिवालय तथा विभागहरुमा भर्ना गर्दा शिक्षित र योग्य व्यक्तिहरुको नियुक्ति भएको थियो । जस्तैः कुलशेखर शर्मा, हिमालय शमशेर राणा, प्रधुम्नलाल राजभण्डारी आदि । २०३२ सालमा भेषबहादुर थापाको नेतृत्वमा बनेको कार्यदलले सरकारी सेवामा प्रतिभावान व्यक्तिलाई आकर्षित गर्न र उनीहरूलाई सेवा प्रवेश गराउन निजामति सेवाको प्रथम र द्वितीय श्रेणीमा १० प्रतिशत खुल्लाबाट आउने उम्मेदवारका लागि छुट्याउनु पर्ने सिफारिश गरेको थियो। बहुदलीय व्यवस्था आएपछि बनेको निजामति ऐन–२०४९ मा त्यो व्यवस्था गरेको थियो। त्यसमा आन्तरिकबाट पनि प्रतिस्पर्धा गर्न पाउने नाममा त्यो पूर्णरुपमा कार्यरत कर्मचारीको लागि सिट सुरक्षित गर्ने माध्यममात्रै भएको छ। नेपालको निजामती सेवामा प्रतिभा व्यवस्थापनका केही प्रवाधन छन ।
निजामती सेवा ऐन, २०४९ मा निजामती सेवाको राजपत्राङ्कित तृतीय, द्वितीय र प्रथम श्रेणीको रिक्त पदमा क्रमशः ७०, १० र १० प्रतिशत खुला प्रतिस्पर्धाका लागि छुट्याइएको छ । राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको रिक्त पदमा २०–२० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका लागि व्यवस्था गरिएको छ । निजामती सेवाभित्र रहेका अनुत्पादक जनशक्तिलाई बिदा दिई गुणस्तरीय जनशक्तिलाई मात्र सेवामा निरन्तरता दिने प्रयोजनका लागि सरकारले स्वेच्छिक अवकाश प्रणालीको कार्यान्वयन गरिराखेको छ । सहसचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धा गर्न क्रमशः पाँच वर्ष र सात वर्षको अनुभव हुनुपर्नेमा विद्यावारिधि गरेकाहरूलाई उक्त अवधि दुई दुई वर्ष कम गरी विद्वानहरूलाई सेवामा आकर्षित गर्न खोजिएको छ । निजामती कर्मचारीलाई उच्च शिक्षा हासिल गराई उनीहरूको प्रभावकारी सेवा प्राप्त गर्न छात्रवृत्ति प्रदान गरी अध्ययनपश्चात् सेवालाई निरन्तरता दिनुपर्ने व्यवस्था गरिएको छ । उत्तराधिकार योजनालाई कार्यान्वयनमा लैजाने सोच राखेको छ । निजामती कर्मचारीबाट सम्पादन हुन नसक्ने कार्यसम्पादनका लागि विशेषज्ञ पद सृजना गरी सक्षम विज्ञ वा विशेषज्ञ सेवाभित्र प्रवेश गराउने प्रावधान गरिएको छ । सेवा करारमा काम लगाउने गरिएको छ । नेतृत्व मूल्याङ्कनलाई सेवाले समेटेको छ । सम्पादित कार्यको आधारमा सुविधा थप गर्ने अभ्यास प्रायः सबै संगठनले अवलम्बन गरिराखेका छन् । विशेष सल्लाहकारको व्यवस्था गरी सुशासनका दिशामा अघि बढ्न प्रतिबद्धता जाहेर भएको छ ।
नेपालमा प्रतिभा व्यवस्थापनको कमजोरीका कारण सार्वजनिक सेवा सेवाग्राहीका दृष्टिमा स्वादिला र सन्तुष्टि दिने खालको नभएको, सालिन्दा गर्नुपर्ने पुँजीगत खर्चको स्तर तथा परिमाण निकै कमजोर रहेको, व्यावसायिक सदाचारको स्थिति खस्कँदै गरेको र नीति निर्णय निर्माणमा सान्दर्भिकता र तथ्यभन्दा पर रहने गरेको देखिएको छ। परिणामतः सार्वजनिक प्रशासन धेरै आलोचित छ। सार्वजनिक प्रशासनमाथि यतिविध्न आरोप लाग्नुमा समग्र मानव संसाधनको स्थिति नै कमजोर भएकोले हो। संघीय सुशासनको प्रबध्र्दनका लागि तीनै तहका संघीय नेपालमा प्रतिभाको व्यवस्थापन गर्ने विषयमा सार्वजनिक सेवामा मात्र होइन, निजीक्षेत्रमा पनि पर्याप्त ध्यान दिएको देखिँदैन । यसैले गर्दा श्रमबजारमा पर्याप्त जनशक्ति उपलब्ध हुँदा पनि कार्यसम्पादनको व्यवस्थापन राम्ररी हुन नसकी सेवाप्रवाहको क्षेत्र अत्यन्त नकारात्मक रूपमा प्रभावित छ ।

 

प्रतिभा पलायन (ब्रेन ड्रेन) समस्यालाई लिएर परराष्ट्र मन्त्रालयले ‘ब्रेन गेन’ एकाइ निर्माण गरेको छ। त्यसले विदेशमा रहेका प्रतिभाशाली, विज्ञ जनशक्तिलाई स्वदेशमा फिर्ता ल्याउने मूल ध्येय राखेको छ। यो एकाइका उद्देश्यहरू प्रतिभा पहिचान गर्ने, प्रवर्द्धन गर्ने, जोड्ने, परिचालन गर्ने र सम्मान वा पुरस्कृत गर्ने रहेका छन्।यो एकाइले विदेशमा रहेका प्रतिभालाई स्वदेशमा ल्याउने मुख्य उद्देश्य राखेको छ। तर बाहिर पलायन हुने प्रतिभालाई कसरी रोक्ने, टिकाउने? त्यससम्बन्धी यो ब्रेन गेन सेन्टरले सोचेको पाइदैन। प्रतिभालाई भित्र ल्याउने मात्रै होइन कि भित्रकालाई कसरी यहि राखिराख्ने त्यो नीतिको खाँचो छ। भएका प्रतिभालाई यहि टिकाउने नीतिको अभावमा त्यो नीतिलाई सग्लो र त्यति राम्रो मान्न सकिदैन्।

समस्या

नेपालको निजामती सेवामा आवश्यकताभन्दा बढी पदीय अवधारणाले प्राथमिकता पाएको, अनिवार्य अवकाशको उमेर अनुपयुक्त भएकाले अनुभवी र उत्पादक जनशक्ति सेवाबाट अलग हुने परिस्थिति रहेको, अनुकूल कार्य वातावरण सृजना गर्न नसकेको, उत्कृष्ट प्रतिभाहरूलाई थप सुविधा प्रदान गर्न कानुनी बाधा रहेको अवस्था छ । स्रोतसाधन पर्याप्त नभएको, जनशक्तिमा संगठनप्रतिको स्वामित्वभाव र काममा क्रियाशीलताको अभाव रहेको, प्रतिभा व्यवस्थापनसम्बन्धी ज्ञानको अभाव मात्र होइन, मानव संसाधन व्यवस्थापन नै छाँयामा परेकोे जस्ता समस्याबाट निजामती सेवालगायतका सरकारी संयन्त्र प्रभावी हुन सकिराखेका छैनन ।
सकारात्मक भर्ना प्रणालीको अभाव, कर्मचारीहरुका लागि उपयुक्त तालीम र विकासका अवसरहरुको अभाव, स्पष्ट कार्य सम्पादन प्रकृयाको अभाव, वृति विकास पथको अनुमानयोग्यता र सुनिश्चितता नभएको, उचित कार्य सम्पादन मूल्यांकन प्रकृयाको अभाव आदि प्रतिभा व्यवस्थापन हुन नसक्नुका प्रमुख कारण हुन् ।

 

नेपालमा कर्मचारीबाट आर्जित ज्ञानलाई संस्थाले संरक्षण एवं उपयोग गर्ने प्रणाली छैन भने व्यक्तिले पनि आफूले हासिल गरेको ज्ञान र आफूसँग भएको प्रतिभालाई आफैँभित्र खिया लगाएर राख्ने अवस्था छ। संस्था र व्यक्तिबीच मनोवैज्ञानिक सम्बन्ध छैन। संस्थागत सम्झना प्रणाली पनि स्थापित छैन, सेवाबाट अलग हुँदा आर्जित ज्ञान र अनुभव व्यक्तिसंगै जाने गर्दछ। लाखौँ रुपियाँमा प्राप्त गर्न नसकिने प्रशासनिक धरोहरको ज्ञान, अनुभव र सीप संस्थाले लिने गरेको छैन। परिणामतः प्रशासनले गर्ने निर्णय र वार्ता व्यावसायिक छैनन्, उसको सहयोगमा बन्ने नीति तथा कानुनको धरातल कमजोर बन्ने गरेको अवस्था छ । सबैभन्दा कमजोर नेतृत्व व्यवहार छ । जसका कारण कर्मचारी क्षमता विकास, आर्जित क्षमता उपयोग र सीप छायामा परेको अवस्था विधमान छ । सबल नेतृत्व नै सुधार र परिवर्तनको प्रवेश बिन्दु हो। कमजोर नेतृत्वको संगठनभित्रका सीमित अवसरको न्यायपूर्ण वितरण हुन सकेको छैन।

अन्त्यमा,
मानव साधन भनेको ज्ञान, सीप, क्षमता र सकारात्मक सोचसहितको कर्मचारी हो। कर्मचारीलाई संगठनको लक्ष्य प्राप्तिका लागि परिचालन गर्न ज्ञान, जानकारी, सीप र सामथ्र्य निर्माण गर्नु पर्दछ। यसका लागि प्रतिभा व्यवस्थापन एक आवश्यक रणनीति हो । प्रभावकारी प्रतिभा व्यवस्थापनमा वाधा पुरयाउने तत्वहरुलाई न्यूनिकरण गर्दै संगठन र वृत्तिप्रति न्याय गर्नसक्ने, सकारात्मक सोच र उच्च क्षमता भएको कर्मचारी पहिचान गर्नुपर्ने अवस्था छ। इसका लागि संवेगात्मक ज्ञान र वुद्धि , आविश्कार र नव प्रर्वतनमा जोड दिनु पर्दछ । (उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

Nepali patro