प्रभु लाइफको आईपीओ आइतबारदेखि कारोबार, ओपनिङ कारोबार कतिमा होला ?
वि.सं.२०७७ पुस १५ बुधवार
shares
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी सातादेखि कारोबारमा ल्याउने तयारी कम्पनीले गरेको छ । आइतबारदेखि कारोबारमा ल्याउने गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणको निवेदन पेश भैसकेको कमपनीले जानकारी दिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले यसै साताभित्र नेप्से र सिडिएससीमा सूचीकरण प्रकृया सम्पन्न गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिएका हुन् ।
यस कम्पनीले संस्थापकतर्फको १ करोड ४० लाख कित्ता र सर्वसाधारण तर्फको ६० लाख कित्ता गरी २ करोड कित्ता शेयर सूचीकरणको लागि प्रकृया अघि बढाएको हो । यस कम्पनीको आईपीओ खरिदका लागि हालसम्मकै उच्च आवेदन परेको थियो । कुल ६० लाखकित्तामध्य सामूहिक लगानीकोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता शेयर ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले पाएका हुन् ।
प्रभु लाईफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री खुला गरेको थियो । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम भएको छ ।