विदेशमा डिडिसीको नक्कली घिउ प्रकारण:पूर्ण ट्रेडिङको कारोबारमाथि सीआईबीको अनुसन्धान कहिले ?
वि.सं.२०८३ मंसिर १ मंगलवार
shares
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को नाम, लोगो र ब्रान्ड प्रयोग गरेर जापानका विभिन्न बजारमा नक्कली घिउ बिक्री भइरहेको छ । डिडिसीले जापान र संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्बन्धित अवधिमा घिउ आपूर्ति नगरेको बताइएको छ । तर, यो अवस्थामा ती देशका बजारमा डिडिसीको नाममा घिउ कसरी पुग्यो भन्ने बिषय अनुसन्धानको बिषय बनेको छ ।
यस प्रकरणमा जापानमा व्यवसाय सञ्चालन गर्दै आएको पूर्ण ट्रेडिङ प्रालि र त्यसका सञ्चालक टीका श्रेष्ठमाथि प्रश्न उठेको छ । उक्त कम्पनीले जापानका विभिन्न बजारमा डिडिसीको नाममा घिउ बिक्री तथा वितरण गर्दै आएको आरोप छ । कम्पनीको वेबसाइट र फेसबुक पेजमा समेत डिडिसीको नाममा घिउ बिक्री तथा आपूर्तिसम्बन्धी प्रचार सामग्री सार्वजनिक गरिएको छ ।
सीआईबीमा उजुरी परेपछि वेबसाइटबाट सामग्री हटाइयो
पूर्ण ट्रेडिङ प्रालिविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ । उजुरी परेपछि कम्पनीको वेबसाइट तथा फेसबुक पेजबाट डिडिसीको नाममा घिउ बिक्रीसम्बन्धी केही प्रचार सामग्री र नेपालबाट जापान लैजान प्रतिबन्धित वा अनुमति आवश्यक पर्ने भनिएका खाद्य सामग्रीका पोस्टर हटाइएको छ ।

उजुरीमा उल्लेखित आरोप, कम्पनीको कारोबार, निर्यात कागजात र जापानमा बिक्री भइरहेको भनिएको घिउको बारेमा थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
डिडिसीभित्रको आर्थिक अनियमितता र संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना कर्मचारी पक्राउ परिसकेका छन् । त्यसपछि अनुसन्धान थप विस्तार गर्दै २७ कात्तिक २०८३ मा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पनि पक्राउ परेका हुन् ।
डिडिसीलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक नोक्सानी पु¥याई गैरकानुनी लाभ लिएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
विगतमा डिडिसीका अधिकारी र बिचौलियाको मिलेमतोमा नक्कली लेबल तथा डिडिसीको नाम प्रयोग गरेर विदेशमा घिउ पठाइएको आशंका गरिएको छ ।
यदि गैरकानुनी रूपमा सामान विदेश पठाइएको हो भने त्यसमा भन्सार, खाद्य गुणस्तर परीक्षण, पशु क्वारेन्टाइन र अन्य नियामक निकायको भूमिका पनि अनुसन्धान हुनुपर्छ ।
पूर्ण ट्रेडिङको वेबसाइटमा नेपालबाट जापान पठाइने विभिन्न खाद्य सामग्रीका रूपमा अचार, सुकुटी तथा चिकेनजन्य उत्पादनसम्बन्धी सामग्रीसमेत सार्वजनिक गरिएको छ ।जापानमा मासुजन्य खाद्य पदार्थ आयात गर्दा कडा स्वास्थ्य, क्वारेन्टाइन र आयातसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ ।
राजनीतिक संलग्नताको गन्ध
डिडिसीको नाम र लोगो दुरुपयोग गरेर कारोबार भइरहेको भनिएको विषय सार्वजनिक भइरहँदा राजनीतिक संरक्षणको आशंकासमेत उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित एक सांसदले जापानमा रहेका कारोबारीलाई संरक्षण गरेको आशंका छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:































