skip this Content block

पुसमा सरुवा, साउनमा हाजिर ! पशुपतिनगर पुगेपछि पनि ‘सेटिङ’ कै हतार

29
shares
Nabil bank

काठमाडौँ ।सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाको गत पुसमै सरुवा भएको थियो । तर, सरुवा भएको लामो समयसम्म पनि उनी केन्द्रीय मुख्यालयबाट बाहिरिएनन् । साउनमा मात्रै उनी नयाँ कार्यक्षेत्रमा हाजिर हुन पुगे । सरुवा भएर पनि छ महिनासम्म मुख्यालयमै बस्नुको कारणबारे प्रश्न गर्दा थापाले आफूलाई तत्कालीन आईजीपीले नै मुख्यालयमा बस्न भनेकाले बसेको जवाफ दिएका छन् ।

‘आईजीसापले नै यहीँ बस्न भन्नुभएको थियो,’ थापाले दिएको जवाफको अडियोसमेत छ । सरुवा कार्यान्वयन हुनुपर्ने समयमा पनि मुख्यालयमै रहनु र त्यसको कारण तत्कालीन आईजीपीको निर्देशनलाई देखाउनुले संगठनभित्रको सरुवा व्यवस्थापन र पहुँचको विषयमा प्रश्न उठाएको छ ।

तत्कालीन आईजीपी राजु अर्यालको कार्यकालमा थापाले सचिवालय र मुख्यालयमा प्रभावशाली भूमिका निर्वाह गरेको तथा उनलाई अर्यालको निकटस्थ र ‘सेटिङ मिलाउने व्यक्ति’ का रूपमा समेत चर्चा गर्ने गरिएको थियो ।

पत्रकारिता पृष्ठभूमिबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थापा पछि डीएसपीसम्म पुगे । प्रहरी संगठनको केन्द्रीय मुख्यालयमा आठ वर्षभन्दा बढी समय बिताएका उनी पत्रकारितासँगको पुरानो सम्बन्ध र पहुँचका कारण पनि चर्चामा रहने गरेका थिए ।

विशेषगरी अपराध बिटमा कार्यरत पत्रकारहरूसँगको सम्पर्क, समाचार व्यवस्थापन तथा विभिन्न विषयमा समन्वय गर्ने भूमिकामा उनको सक्रियता रहने गरेको थियो । तर, यही पहुँचलाई संगठनभित्रका कतिपय काममा प्रभाव प्रयोग गर्नेसम्म विस्तार गरेको आरोपसमेत उनीमाथि लाग्दै आएको थियो ।

तत्कालीन आईजीपी राजु अर्याल अवकाश भएपछि मुख्यालयमा पहिलेजस्तो प्रभाव कायम राख्न कठिन हुने आकलन गर्दै उनी इलामस्थित पशुपतिनगर भन्सार क्षेत्रमा पुगेको संगठनभित्र चर्चा हुने गरेको छ ।

पशुपतिनगर पुगेपछि पनि थापामाथि तस्करी नियन्त्रणभन्दा तस्करीको लाइन मिलाउने काममा संलग्न भएको आरोप स्थानीयस्तरबाट लागेको छ । स्थानीयका अनुसार उक्त नाकाबाट स्याउ, फर्सीका बियाँ, जुत्ता–चप्पल, मदिराजन्य वस्तु, चुरोटलगायतका सामान अवैध रूपमा भित्रिने गरेको छ ।

विशेषगरी तरकारीका बोराभित्र चुरोट र अन्य प्रतिबन्धित सामान लुकाएर ल्याउने गरिएको स्थानीयको भनाइ छ । तरकारीका बोरा नियमित रूपमा जाँच नहुने अवस्थाको फाइदा उठाएर यस्तो कारोबार हुने गरेको हो ।

‘वाईवाई चाउचाउका कार्टुनदेखि तरकारीका बोरासम्म प्रयोग गरेर सामान ओसारपसार हुने गरेको छ । तरकारीका बोरा जाँच नहुँदा चुरोटलगायतका अवैध सामान सहजै आउँछन्,’ स्थानीयको भनाइ छ ।

यस विषयमा भन्सार प्रशासनमा समेत थापासम्बन्धी उजुरी परेको बताइएको छ । भन्सार कार्यालयले उनको विषयमा हेलो सरकारमा उजुरी परेको जानकारी दिएको स्रोतको भनाइ छ ।
केही समयअघि पशुपतिनगर नाकाबाट अवैध रूपमा चोरी पैठारी तथा निकासी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरिएको थियो । उक्त कारबाही नेपाल प्रहरी र भन्सार प्रशासनको सहयोगमा भएको थियो ।

तर, बरामदको काममा अन्य निकायको समेत भूमिका हुँदाहुँदै विभिन्न सञ्चारमाध्यममा आफूले नै तस्करीका सामान बरामद गरेको जसरी समाचार प्रकाशन गराएको आरोप थापामाथि लागेको छ ।

यसबाट नेपाल प्रहरी र भन्सार प्रशासनका अधिकारीसमेत असन्तुष्ट बनेको एक प्रहरी अधिकारीले बताए । संयुक्त प्रयासबाट भएको कारबाहीको श्रेय एकल रूपमा लिन खोज्नुले सुरक्षा निकायबीचको समन्वय र कार्यशैलीबारे पनि प्रश्न उठाएको उनको भनाइ छ ।

सशस्त्र प्रहरी सेवामा प्रवेश गरेपछि छोटो अवधिमै महँगो जीवनशैली अपनाएको र महँगो गाडीको मालिक बनेको भन्दै थापाको सम्पत्तिको स्रोतबारे पनि प्रश्न उठ्न थालेको छ ।

उनको सम्पत्तिको स्रोत छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको बताइएको छ ।

‘आठ वर्षभन्दा बढी समय एउटै केन्द्रीय मुख्यालयमा बसेका एक अधिकृत सरुवा भएको छ महिनासम्म पनि त्यहीँ रहनु, त्यसपछि संवेदनशील सीमावर्ती नाकामा पुग्नु र त्यहाँ तस्करीसँग जोडिएका आरोपहरू उठ्नु सामान्य प्रशासनिक विषय मात्र होइन,’ अधिवक्ता केशव अधिकारी बताउँछन् ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

 

इलामको पशुपतिनगरमा  ससस्त्रको मिलेमतोमा अवैध काम !

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x