जीडीपीभन्दा बैंक निक्षेप धेरै

849
shares
Shine resunga department bank

काठमाडौं । वित्तीय प्रणालीमा रहेको कुल निक्षेपले अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार नाघेको छ । यसलाई विज्ञहरूले मुलुकको आर्थिक गतिविधिभन्दा वित्तीय क्षेत्रको वृद्धिदर उच्च भएको विश्लेषण गरेका छन् । वित्तीय क्षेत्रको वृद्धि राम्रो भए पनि अर्थतन्त्रको वृद्धिदरभन्दा उच्च रहेकाले जोखिमको सम्भावना पनि उत्तिकै रहेको उनीहरूले औंल्याएका छन् । यस्तो अवस्थामा नीति निर्माताले संयमित रूपमा नीति निर्माण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

राष्ट्र बैंकका अनुसार गत असारमै वित्तीय प्रणालीमा रहेको निक्षेप सोही अवधिको जीडीपीको अनुपातमा सय प्रतिशतभन्दा धेरै थियो । ‘असार मसान्तमा कुल निक्षेप जीडीपीको अनुपातमा १ सय ४ प्रतिशत छ,’ गत असारको राष्ट्र बैंकको मासिक तथ्यांकमा भनिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार गत असारमा मुलुकको जीडीपी ३७ खर्ब ६७ अर्ब रुपैयाँ थियो ।

 

गत आर्थिक वर्षकै जीडीपीको अनुपातमा चालु आर्थिक वर्षका सबै महिना (साउन, भदौ, असोज, कात्तिक, मंसिर) मा वित्तीय प्रणालीमा रहेको निक्षेप सय प्रतिशतभन्दा धेरै छ । गत मंसिरमा यस्तो जीडीपीको तुलनामा निक्षेप अनुपात १ सय ११.२५ प्रतिशत छ । गत पुसमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४२ खर्ब ८० अर्ब रुपैयाँ र मंसिरमा ४० खर्ब ९१ अर्ब रुपैयाँ थियो ।

 

कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनका कारण मुलुकमा लामो समय आर्थिक गतिविधि ठप्प रहे । यही कारण चालु आर्थिक वर्षमा जीडीपीको वृद्धि न्यून वा ऋणात्मक नै पुग्ने अनुमानहरू गरिएका छन् । तर निक्षेप भने निरन्तर रूपमा बढिरहेको छ । यसकारण चालु आवका बाँकी महिनाहरूमा पनि जीडीपीको तुलनामा निक्षेप अनुपात एक प्रतिशतभन्दा धेरै बढी रहने जानकारहरू बताउँछन् ।

 

जीडीपीको अनुपातमा बैंक तथा वित्तीय प्रणालीमा रहेको निक्षेप धेरै हुनु वित्तीय प्रणाली बलियो रहेको संकेत भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टको भनाइ छ । ‘यो राम्रो पक्ष हो, अब यही अनुपातमा अन्य क्षेत्रको वृद्धि पनि हुनुपर्छ,’ उनले भने । विगतका तुलनामा वित्तीय पहुँच र वित्तीय साक्षरता बढेकाले यो अवस्था आएको उनले बताए । ‘हाल ७ सय ४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन्,’ उनले भने, ‘वित्तीय साक्षरता बढेकाले बैंकिङ बानी पनि बढेको छ ।’ वित्तीय पहुँच बढेपछि गाउँगाउँमा छरिएर रहेको रकम वित्तीय प्रणालीमा आएकाले बैंक तथा वित्तीय प्रणालीमा निक्षेप र कर्जा प्रवाह दुवै उल्लेख्य रूपमा बढेको उनले बताए ।

 

वित्तीय प्रणालीमा धेरै रकम थुप्रिँदा ब्याजदर धेरै तल झर्न सक्छ । ‘अहिले वित्तीय प्रणालीमा यही अवस्था छ । निक्षेपमा ऋणात्मक ब्याजदरको स्थिति छ भने कर्जाको ब्याजदर पनि धेरै तल (एकल अंक) मा झरिसकेको छ,’ ती विज्ञले भने । निक्षेपको ब्याजदर न्यून हुँदा बचत निरुत्साहित हुन्छ भने कर्जाको ब्याजदर कम हुँदा अनुत्पादक क्षेत्रमा कर्जा प्रवाहको सम्भावना धेरै रहने ती अधिकारीको भनाइ छ । ‘ठूलो परिमाणमा रोजगारी सिर्जना गर्ने वास्तविक क्षेत्र हो,’ उनले भने, ‘अहिले वास्तविक क्षेत्रले धेरै रोजगारी सिर्जना गर्न सकेको छैन । यसकारण बेरोजगारी संख्या बढिरहेको छ ।’ यस्तो अवस्थामा नियामक निकायले नियमन तथा सुपरीवेक्षण क्षमता वृद्धि गर्नुपर्ने जानकारहरू बताउँछन् । निक्षेपको स्रोत के हो ? कर्जा प्रवाह कुन क्षेत्रमा भएको छ रु औचित्य पुष्टि भएको छरछैन लगायत पक्षमा नियामक निकायले प्रभावकारी रूपमा सुपरीवेक्षण गर्न सक्नुपर्ने उनीहरूको सुझाव छ ।

 

त्यसो त जीडीपीको अनुपातमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह पनि निरन्तर बढिरहेको छ । सोही क्रममा गत मंसिरसम्म ९३।५० प्रतिशत पुगेको थियो । गत असारमा यस्तो अनुपात करिब ८७ प्रतिशत थियो । चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) ४ अर्ब रुपैयाँभन्दा बढीले कर्जा प्रवाह वृद्धि भएको छ । गत साउन १ मा ३२ खर्ब ४६ अर्ब रुपैयाँ रहेको कुल कर्जा प्रवाह पुस मसान्तमा ३६ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।

 

मंसिरको तुलनामा पुसमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह २ खर्ब २४ अर्ब रुपैयाँ बढेको छ । मुलुकभरका ५० प्रतिशतभन्दा धेरै उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्थामा अर्थतन्त्रका सबै क्षेत्रबाट कर्जा माग आउन थालेको छ । पछिल्ला महिनामा मासिक २ खर्ब रुपैयाँभन्दा बढीले कर्जा प्रवाह भइरहेको बैंकरहरू बताउँछन् । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कर्जा प्रवाह करिब साढे १७ प्रतिशत बढेको छ ।

कोभिडको संक्रमणपछि अर्थतन्त्र लयमा फर्किन थालेको राष्ट्र बैंकको अध्ययनले पनि देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत उद्योग व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा रहेकामा गत मंसिरमा बढेर करिब ५३.९५ प्रतिशत पुगेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । लकडाउनका कारण गत साउनमा कर्जा प्रवाह ठप्पप्रायः थियो ।

सो अवधिमा लगानीमा रहेको कर्जा पनि असुली भएपछि असारको तुलनामा साउनमा कुल कर्जा करिब १७ अर्ब रुपैयाँ घटेको थियो । सरकारले लकडाउन केही खुकुलो बनाएपछि भदौदेखि बढ्न थालेको कर्जा प्रवाहमा असोजमा राम्रो वृद्धि देखिएको थियो । तर पनि गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २० प्रतिशत बढी कर्जा प्रवाह भएको छ । कान्तिपुर दैनिकबाट

Sharestha treating