Banner ad for NADA AUTO SHOW -2026

एनएमबि बैंकको नाफा ४७ प्रतिशतले बढ्यो

1.4K
shares

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा बढेको छ । बैंकले बिहिबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४७.६९ प्रतिशत धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकको सञ्चालन मुनाफा तथा खुद ब्याज आम्दानीमा सुधार भएपछि नाफा बढेको हो। नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६७ पैसाले बढेर २२ रुपैयाँ ३४ पैसा पुगेको छ। बैंकको ६ महिनाको वितरण योग्य नाफा एक अर्ब ५० करोड रुपैयाँ छ।

 

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब २९ करोड कर्जा लगानी गरेको छ। जसबाट बैंकले २ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ छ। समीक्षा अवधिमा बैंकको निक्षेप ८ प्रतिशतले बढ्दा कर्जा लगानी १८ प्रतिशत भन्दा धेरैले बढेको छ ।

 

त्यस्तै, १४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब १० करोड रुपैयाँ, शेयरधनी कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ र शेयर प्रिमियममा १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

civil hospital
Hams Hospitals