अझै खुलेन जोगबनी नाका
वि.सं.२०७७ माघ १९ सोमवार
shares
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित रानी नाका हुँदै आइतबार दिउँसो ३स्२० बजेतिर नेपाल प्रहरीका एसएसपी कृष्णहरि शर्मा भारतको जोगबनीतिर लागे। परिवारका सदस्य र आफन्तसहित किनमेलका लागि भन्दै उनी भारतदेखि विराटनगर प्रवेश गर्ने मुख्य नाकाबाट जोगबनी बजार पुगेका हुन्। शर्मालाई विराटनगर भन्सारको पुरानो कार्यालय नजिक रहेको नाका कटाएर जोगबनी पुर्याउन सादा पोसाकमा रहेका प्रहरीले सहयोग गरे।
नेपाल प्रहरीका अधिकृत नै घरायसी काम र किनमेलका लागि जोगबनीतिर लागेको देखेपछि समस्यामा परेका सर्वसाधरणलाई नाका खुलेको अनुमान गरे। केही जोगबनीतिर जान पनि खोजे। तर, नेपाल र सशस्त्र प्रहरीले सर्वसाधारणलाई भने आवतजावत गर्न दिएनन्।
मुख्य नाकाबाट छिर्न नपाएपछि उनीहरू दरैया, हुलास मेटललगायतका चोर बाटो प्रयोग गर्दै जोगबनी छिरे। तर, सीमामा तैनाथ सुरक्षाकर्मीले रोकेपछि उनीहरू चोर बाटो अपनाएका हुन्।
उच्च प्रहरी अधिकृतले जोगबनीतिर सहज रूपमा प्रवेश पाइरहँदा सर्वसाधारणलाई भने आवतजावतमा रोक लगाइएको थियो। नाका खुला हुनुपर्ने माग राख्दै लामै समयदेखि सर्वसाधारणले नेपाल–भारत सीमा क्षेत्रमा धर्ना दिने र प्रदर्शन गर्नेलगायतका आन्दोलनका कार्यक्रम गरिरहेका छन्। तर पनि २०७६ साल फागुन ११ गतेबाट सिल भएको नाका अझै खुलेको छैन।
संक्रमण कम हुँदै गइरहे पनि लामो समयदेखि बन्द गरिएको नाका नखुल्दा आफूहरू मारमा परेको स्थानीय बासिन्दाको गुनासो छ। रानीस्थित विराटनगर भन्सारको पुरानो कार्यालय नजिकका तीनवटै ढाट बन्द गरिएको छ। विराटनगर–१५ मा रहेको १ र २ नम्बर तथा विराटनगर–१६ मा रहेको ३ नम्बर ढाट १० महिना अघिदेखि बन्द छन्। अन्नपूर्ण पोस्टबाट