बजेटको गृहकार्य सुरु
वि.सं.२०७७ फागुन ६ बिहीवार
shares
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि गृहकार्य थालेको छ । मन्त्रालयले बुधबार पूर्व अर्थ सचिवहरूसँग बजेटबारे छलफल गरेको हो ।
पूर्व अर्थ सचिवहरूले कोभिड–१९ महामारीबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने गरी आगामी आवको बजेट केन्द्रित गर्न सुझाव दिए । उनीहरूले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिन आग्रह गरे ।
पूर्व मुख्य सचिव विमल कोइरालाले कोभिड र निर्वाचनको घोषणाले बजेट निर्माणमा नयाँ चुनौती थपेको उल्लेख गरे । उनले बजेट बनाउँदा आर्थिक परिसूचकहरू र विभिन्न प्राविधिक विषयहरूको अलावा अर्थ राजनीतिलाई समेत ध्यान दिनुपर्ने सुझाए । पूर्व अर्थ सचिव विद्याधर मल्लिकले विकासलाई केही आर्थिक परिसूचकमा सीमित राख्नुभन्दा समग्रतामा हेर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले निजी लगानी विस्तारका लागि आवश्यक वातावरण सिर्जना गर्ने तथा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आवको नीति तथा कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिए । पूर्व अर्थ सचिव रामेश्वर खनालले व्यावसायिक वातावरण निर्माण र नीतिगत एवं कानुनी सुधारतर्फ जोड दिए । अर्थतन्त्रको समग्र सुधारसहितको बजेट जरुरी रहेको औंल्याउँदै उनले कोभिडपछिको अवस्थामा कार्यक्रम तथा आयोजना तर्जुमा गर्दा प्राथमिकीकरण गरी चालु आवको बजेटमा समेटे पनि हुने आयोजना तथा कार्यक्रम हटाउन सुझाव दिए ।
अर्का पूर्व अर्थ सचिव शान्तराज सुवेदीले कोभिडले असर गरेको क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन जरुरी रहेको बताए । पूर्व अर्थ सचिव युवराज भुसालले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अनावश्यक पूर्वाधार निर्माणका कार्यक्रम कटौती गर्नुपर्ने धारणा राखे । यस्तै पूर्व अर्थ सचिव सुमनप्रसाद शर्मा, शंकरराज अधिकारी, राजन खनाल, शंकर घिमिरेले नयाँ बजेटले सम्बोधन गर्नुपर्ने विषयमा सुझाव दिएका थिए । अर्थ सचिव शिशिरकुमार ढुंगानाले छलफलका क्रममा महत्त्वपूर्ण र गहन सुझाव आएको बताउँदै मन्त्रालयले ती सुझावहरूलाई गम्भीरतापूर्वक लिने बताए । कान्तिपुर दैनिकबाट
वि.सं.२०७७ फागुन ६ बिहीवार ०८:४३