कोरोना कोषबाट फेरि सवा ११ करोड निकासा
वि.सं.२०७७ फागुन ६ बिहीवार
shares
काठमाडौं । सरकारले कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने पूर्वाधार निर्माण र अन्य अत्यावश्यकीय स्वास्थ्य सेवाका लागि ११ करोड ३९ लाख रुपैयाँँ निकासा गरेको छ । यसमध्ये कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका बिरामीहरूको शव व्यवस्थापन गर्नमात्र ३ करोड ६० लाख रुपैयाँ निकासा गरिएको छ । यो रकम संघीय, प्रादेशिक र जिल्लास्तरमा कोभिड १९ को उपचारमा काम गरिरहेका १८ अस्पताललाई प्रदान गरिएको हो ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको पछिल्लो बैठकले शव व्यवस्थापनका लागि प्रतिअस्पताल २० लाख रुपैयाँँका दरले अनुदान वितरण गरेको छ । शव व्यवस्थापनका लागि अनुदान पाउनेमा कोशी अस्पताल विराटनगर, वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्रनारायण अस्पताल सप्तरी, शुक्रराज ट्रपिकल अस्पताल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज रहेका छन् । यसैगरी नेपाली सेना अस्पताल छाउनी, नेपाल एपीएफ अस्पताल बलम्बु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, भरतपुर अस्पताल, वीर अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र डडेलधुरा अस्पताल रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रचलित कानुन एवम् स्वीकृत मापदण्डबमोजिम भुक्तानी गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र सोको प्रतिवेदन समेत गर्ने रकम निकासा गरिएको जानकारी दिए । कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका विरामीहरूको शव व्यवस्थापनका लागि उपयुक्त फ्रिजरसहितको पूर्वाधार विकासको व्यवस्थापन गर्ने प्रयोजनका लागि सो अस्पताललाई ३ करोड़ ६० लाख रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ ।
यसअघि कोषमार्फत सरकारले १ अर्ब ४० करोडभन्दा बढी अनुदान वितरण गरिसकेको छ । यसबाहेक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई अक्सिजन प्लान्ट निर्माण तथा जडानका लागि २ करोड ५० लाख उपलब्ध गराउने निर्णय भएको छ । निजामती अस्पतालमा सेभर केस मेनेजमेन्टको लागि आवश्यक पर्ने ६ बेडको भेन्टिलेटर सहितको आईसीयू स्थापना गर्नका लागि २ करोड २० लाख माग गरेकामा अस्पतालले सो कार्यका लागि बोलपत्र आह्वान गरी प्राप्त हुन आएका प्रस्ताव मूल्यांकनबाट २ करोड १५ लाख ९४ हजार ३ सय स्वीकृत भएकोले सोही अनुसारको स्वीकृत रकम अस्पताललाई उपलब्ध गराइएको छ । कारोबार दैनिकबाट
वि.सं.२०७७ फागुन ६ बिहीवार ०८:४९