सामाजिक सञ्जालमा अदालतको वाहवाही
वि.सं.२०७७ फागुन १२ बुधवार
shares
काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गरेपछि सामाजिक सञ्जालमा अदालतको वाहवाही भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ट्विटरमा भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखि नै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिँए। सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद् पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ।
कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ,’ यसैगरी देउवाले थप लेख्छन्, ‘संविधान कार्यान्वयनका क्रममा देखिने विवाद समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै हो। सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ। यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। जय नेपाल।’
यसैगरी, नेपाली काग्रेसका अर्का नेता रामचन्द्र पौडेल फैसलाले मुलुकलाई दुर्घटनाबाट बचाएको ठान्छन्। ‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ। सर्वोच्चको फैसलाले सत्यको जित भएको छ। यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।’
यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो ट्विटर प्रतिक्रियामा लेखेका छन्। ‘न्यायमूर्तिहरूलाई लाखलाख सलाम १ संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो। फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ। संविधान रक्षा गर्दै जनताको जित भएको छ।’
यस्तै नेपाली काग्रेसका अर्का नेता शेखर कोइरालाले आफ्नो ट्विटमा लेख्छन्, ‘आजको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको छ। साथै देश राजनीतिक स्थिरतातर्फ लागेको छ। अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायालयप्रति गर्व भएको छ।’ पत्रकार तथा लेखक विजयकुमार पाण्डे विघटनलाई बदर गर्नुका साथै अदालतले निर्देशनात्मक आदेश दिएकाले अबको बाटो प्रष्ट भएको ठान्छन्।
‘सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर मात्र गरेन, १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनु भनेर राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र प्रतिनिधिसभाका सभामुखका नाममा ‘निर्देशनात्मक आदेश’ समेत जारी गरेको छ। बदर निर्णयसँगै ‘निर्देशनात्मक आदेश’ आउनाले अगाडिको बाटो स्पष्ट भएको छ,’ पाण्डेले ट्विटमा लेखेका छन्। नागरिक दैनिकबाट
वि.सं.२०७७ फागुन १२ बुधवार ०९:३५