शेयरबाट लगानीकर्ताले ७ महिनामा सवा खर्ब नाफा कमाए
वि.सं.२०७७ फागुन १६ आइतवार
shares
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा शेयर बजारबाट लगानीकर्ताले करिब सवा खर्ब रुपैयाँ नाफा कमाएका छन् । यो गत साउनदेखि माघसम्म शेयर कारोबारबाट लगानीकर्ताले कमाएको कुल आम्दानीबाट कर तिरेपछिको रकम हो ।
चालु आर्थिक वर्षका प्रायः सबै महिना शेयर बजार बढिरहेको छ । बढेको बजारबाट नाफा सुरक्षण (प्रोफिट बुक) गर्ने क्रममा लगानीकर्ताले करिब सवा १ खर्ब रुपैयाँ नाफा कमाउन सफल भएका हुन् । खासगरी लकडाउनपछि खुलेको बजार बुलिस (निरन्तर बढिरहेको) ट्रेन्डमा रहेकाले लगानीकर्ताले राम्रो नाफा आर्जन गर्ने अवसर पाएको जानकारहरू बताउँछन् ।
गत साउनदेखि माघसम्म लगानीकर्ताले शेयर कारोबारमा ५ अर्ब ६६ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यो लगानीकर्ताले शेयर कारोबारमा कमाएको कुल नाफाको औसत ५ प्रतिशत रकम हो । यसका आधारमा सो अवधिमा लगानीकर्ताले करिब सवा १ खर्ब (१ खर्ब १३ अर्ब) रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । उक्त नाफाबाट औसत ५ प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा सरकारलाई तिरिएको छ । शेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्छ । संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष (म्यूचुअल फन्ड) ले भने कर तिर्नुपर्दैन । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ । यसकारण संस्थागत र व्यक्तिगत लगानीकर्ताले तिरेको करको दरलाई औसत ५ प्रतिशत मानेर यहाँ विश्लेषण गरिएको हो ।
आर्थिक वर्ष २०७६/७७ मा शयर कारोबारबाट लगानीकर्ताले करिब १९ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेका थियो । सो अवधिमा पुँजीगत लाभकरबापत लगानीकर्ताले करिब साढे ९८ करोड रुपैयाँ मात्र सरकारलाई बुझाएका थिए । चालु आर्थिक वर्षको सात महिनामा लगानीकर्ताको सम्पत्ति (बजार पुँजीकरण) अघिल्लो वर्षको तुलनामा दोब्बर भएको छ । यसअनुसार गत माघसम्म लगानीकर्ताको कुल सम्पत्तिको बजार मूल्य (कुल बजार पुँजीकरण_ ३४ खर्ब ६ अर्ब रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो पुँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो । जबसम्म लगानीकर्ताले नाफा सुरक्षण गर्दैनन्, तबसम्म यो किताबी मूल्यमै रहन्छ । यसकारण उल्लिखित नाफा लगानीकर्ताले सेयर बिक्रीपछि प्राप्त आयबाट कर तिरेपछि बचेको रकम हो ।
बढ्दो बजारको लाभ लगानीकर्ताले मात्र लिइरहेका छैनन् । यसको प्रत्यक्ष लाभ सरकारलाई पनि भइरहेको छ । किनकि सेयर बढेकै कारण चालु आर्थिक वर्षको सात महिनामा लगानीकर्ताले सरकारलाई करिब ६ अर्ब ५७ करोड रुपैयाँ कर तिरेका छन् । आर्थिक वर्ष २०७६र७७ मा लगानीकर्ताले पुँजीगत लाभकर र अग्रिम कर भुक्तानी गरी १ अर्ब ३५ करोड रुपैयाँ मात्र तिरेका थिए । गत आर्थिक वर्षमा सेयर बजारमार्फत सरकारले प्राप्त गरेको करको तुलनामा चालु आवको सात महिनासम्मको कर ५ अर्ब २२ करोड रुपैयाँ (३ सय ८५ प्रतिशत) बढी हो । यो अवधिमा सरकारले प्राप्त गरेको पुँजीगत लाभकर र अग्रिम कर कट्टीबापतको कुल रकम हो । अहिले सेयर बजारबाट करमार्फत सरकारलाई गएको रकम हालसम्मकै उच्च हो । अघिल्ला वर्षहरूमा बजारमा सामान्य वृद्धि मात्र रहेकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । यो वर्ष बजार निरन्तर बढिरहेको छ । सोही कारण करबापतको रकम पनि बढेको जानकारहरू बताउँछन् । कान्तिपुर दैनिकबाट
वि.सं.२०७७ फागुन १६ आइतवार ०८:०६