अन्तर्राष्ट्रिय विमानस्थल छेवैको ९१ रोपनीमा होटल बनाउन दिने तयारी

669
shares
Shine resunga department bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यापारीलाई भाडामा दिने तयारी थालेको छ । विमानस्थल सुरक्षालाई ख्याल गर्दै पञ्चायतकालमा सर्वसाधारणबाट समेत अधिग्रहण गरिएको करिब १५ रोपनीसहित ९१ रोपनी ६ आना २ दाम जग्गा होटल खोल्न व्यापारीलाई दिन लागिएको हो ।

 

भाडामा दिन विमानस्थलको बाहिरी सुरक्षाका लागि २०६४ फागुनबाट उक्त जग्गामा बस्दै आएको सशस्त्र प्रहरी बल विपत् उद्धार गण (साविक उपत्यका सुरक्षा गण) लाई हटाउन लागिएको छ । ‘सरकारअनुकूल व्यक्तिलाई भाडामा दिन टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उक्त जग्गा ३० वर्षका लागि निजी क्षेत्रलाई होटल खोल्न दिन लागिएको स्वीकार गरे । सुरक्षा विज्ञहरूले भने प्राधिकरणको यो तयारीप्रति आपत्ति जनाएका छन् ।

 

यो जग्गा सिनामंगल चोकबाट मूल सडक हुँदै तीनकुनेरगैरीगाउँतर्फ लाग्दा सडक किनारादेखि दायाँतर्फ पर्छ । पूर्वतर्फ अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग यो ठाउँको ‘फायरिङ रेञ्ज’ भित्र पर्ने भन्दै सुरक्षाविद्ले संवेदनशील ठाउँ व्यापारिक प्रयोजनका लागि भाडामा दिनु गलत हुने बताएका हुन् ।

 

सशस्त्रलाई गोठाटारतर्फको एक छेउमा सारेर उक्त ठाउँमा होटल खोल्न दिने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाइँदै छ । २०६१ साउन ३२, २०६२ फागुन १२ र चैत १० सहित विभिन्न मितिका मन्त्रिपरिषद् र मन्त्रालयस्तरीय निर्णयबाट मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा प्राधिकरणका नाममा दर्ता गरेको थियो । पछि विमानस्थलको बाहिरी सुरक्षाका लागि २०६४ फागुन ३ मा त्यही ठाउँको ९७ रोपनी ११ आनामा सशस्त्र प्रहरी उपत्यका सुरक्षा गण स्थापना गरिएको थियो । यस जग्गाको केही भागमा अहिले प्राधिकरणको एउटा युनिट र हवाई संग्रहालय छ । कान्तिपुर दैनिकबाट