निषेधाज्ञाका कारण सुनकाे आयातमा गिरावट
वि.सं.२०७८ जेठ ११ मंगलवार
shares
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण वैशाख महिनामा सुनको आयात भारी गिरावट आएकाे छ ।
भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ, जुन यसअघिकाे अवस्थाको भन्दा कम हो । वैशाख अघिसम्म मासिक औसत २ अर्ब १४ करोड रुपैयाँको सुन आयात हुने भएको देखिन्छ । चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो ।
परिमाणका आधारमा वैशाखमा २५८ केजी सुन आयात भएको छ । वैशाख महिना विवाहको सिजन भएकाले सुनको आयात उच्च मात्रामा हुने गर्छ । तर, यसपटक भने निषेधाज्ञाका कारण आयात घटाउनुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।
‘वैशाख विवाहको समय भएकाले सुनका गरगहना किन्ने ग्राहक पनि बढी हुन्छन् । तर, निषेधाज्ञा शुरू भएपछि सुनका गरगहनाको व्यापार पनि त्यति भएन,’ उनले भने, ‘व्यापार नभएपछि सुनको आयात घटेको हो । चैत १२ गतेयता त सुनको आयात नै गरिएको छैन ।’
नेपालमा सुन किन्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्र छ । तर, वाणिज्य बैंकहरूले महासंघको सिफारिसका आधारमा सुन आयात गर्ने गरेका छन् । अहिले निषेधाज्ञाका कारण व्यवसाय पनि नभएकाले बैंकहरूलाई सुन आयात गर्न नभनिएको महासंघको भनाइ छ ।



























