सर्वसाधारणदेखि उद्योगी, व्यवसायीको लगानी शेयर बजारमा केन्द्रीत हुँदा नयाँ उचाइ

1.3K
shares

काठमाडौं । कोभिड–१९ को महामारी र यसको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण आर्थिक गतिविधि सुस्ताए पनि शेयर बजारमा भने उत्साह कायमै छ। अनलाइनमार्फत जुनसुकै स्थानबाट समेत कारोबार गर्न सकिने व्यवस्थाका कारण आम सर्वसाधारणदेखि उद्योगी, व्यवसायी शेयरमा लगानी गर्न केन्द्र्रीत हुँदा शेयर बजार नयाँ उचाइमा पुगेको हो ।

कोभिडका कारण आर्थिक गतिविधि सुस्ताउँदा अर्थतन्त्रको सूचक मानिने शेयर बजार भने निरन्तर उकालो लागिरहेको छ । चालु आर्थिक वर्षमा मात्र शेयर बजार सूचक दोब्बरभन्दा बढीले वृृद्धि भएको छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १३६२.४ अंकमा बन्द भएकोमा जेठ २३ गतेसम्ममा ११३ प्रतिशतले वृद्धि भएको छ ।

निषेधाज्ञाको समयमा अनलाइनमार्फत सहज कारोबारको पहुँचले गर्दा व्यापारीहरुले छोटो अवधिका लागि भएपनि आफूसँग भएको रकम पुँजी बजारमा परिचालन गरेका छन् । यसैगरी बैंकहरुले पनि सस्तो व्याजदरमा मार्जिन ल्यान्डिङ गर्दै आएको छन् । जसको प्रभाव बजारमा सकारात्मक देखिएको हो ।

गत वर्ष निषेधाज्ञाका कारण लामो समय बन्द रहेको बजार यस वर्ष भने निरन्तर सञ्चालन भइरहेको छ । बजारमा दिनहुँजसो नयाँ नयाँ रेकर्ड कायम भइरहेको छ ।

साताको पहिलो दिन आइतबार पनि नेप्से सूचक ७.८८ प्रतिशतले वृद्धि हुँदा हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ । यसदिन नेप्से ५०.१३ अंकले वृद्धि भई २९०६.८९ अंकमा पुगेको छ ।

आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । यसदिन २१८ कम्पनीका ३ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा १७ अर्व २७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

आइतबार सेयर बजारमा प्रभुत्व भएको बैंक तथा वित्तीय संस्थाका परिसूचक उकालो लाग्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बैंकिङ ७९.८५ अंकले वृद्धि हुँदा विकास बैंक ९६.३१ र फाइनान्स कम्पनी समूह २७।७२ अंकले बढेका छन् । यसैगरी लघुवित्त ४.२८, अन्य ६६.९४, लगानी ४.०३ र म्युचुअल फण्ड ०.२४ अंकले वृद्धि भएको छ । केही समययता उच्च वृद्धि देखिएका जलविद्युत, होटल तथा टुरिजम, निर्जीवन र जीवन बिमा भने आइतबार ओरालो लागेका छन् ।

आजकाे काराेबार‌ दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals