नेपालमा तत्काल आवश्यक मात्राकाे खाेप ल्याउन जटिलता: स्वास्थ्यमन्त्री तामाङ
वि.सं.२०७८ जेठ २५ मंगलवार
shares
काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले नेपालमा तत्काल काेराेना खोप ल्याउन जटिलता भएको बताएका छन्।
गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा मन्त्री तामाङले खोप ल्याउने सरकारको पहिलो प्राथमिकता भए पनि तत्काल ल्याउन जटिलता भएको बताएका हुन्। खोप ल्याउन विभिन्न मुलुकहरूसँग समन्वय भइरहेपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने उनको भनाई छ।
मन्त्री तामाङले आगामी दिनमा खोप खरिद लगायतका अन्य विषयमा गैरआवासीय नेपाली सङ्घसँग सहकार्य जारी राख्ने बताए। त्यसका लागि आफू रहेको देशबाट खोप ल्याउनका लागि पहल गर्न उनले गैरआवासीय नेपालीलाई आग्रह गरेका गैर आवासीय नेपाली सङ्घ एनआरएनएले जनाएको छ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले महामारीको समयमा देशमा उपलब्ध स्रोत साधन मात्रै पर्याप्त नहुने भएकोले पनि सबै नेपालीले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए।






























