वित्तीय अनुशासनमा विचलनःअर्थतन्त्रलाई नयाँ गति प्रदान गर्ने अर्थमन्त्रीको घोषणा
वि.सं.२०७८ साउन २७ बुधवार
shares
सरकारले प्रतिनिधिसभालाई देशको आर्थिक अवस्थाबारे जानकारी गराएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारका पालामा आर्थिक क्षेत्रमा देश कमजोर भएको निष्कर्ष निकाल्दै त्यसबारे प्रतिनिधिसभालाई जानकारी गराएको हो।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाबारे जानकारी गराउँदै विगतको सरकारले गरेका कमीकमजोरी सच्याएर वर्तमान सरकार अघि बढ्ने बताए। उनले सरकारको पहिलो कर्तव्य सबै नेपालीलाई कोभिडविरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउनु रहेको पनि बताए। जनताको स्वास्थ्य रक्षा गरी थप राहत र पुनस्र्थापनाका कार्यक्रम एवं नीतिगत सुधारका माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्नु वर्तमान सरकारको दायित्व र प्राथमिकता दुवै रहेको उनले जानकारी गराए।
अर्थतन्त्रका समग्र परिसूचकमा सुधार ल्याएर जनताको गुमेको आशा र विश्वास पुनस्र्थापित गर्नुपर्ने उनले बताए। सरकारी साधन स्रोतमाथिको अनधिकृत दोहन रोक्ने, आर्थिक तथा वित्तीय अनुशासन कायम गरी सार्वजनिक खर्चलाई पुँजी निर्माण र सेवा प्रवाह सुधारमा केन्द्रित गर्ने तथा जनतामाथि पर्न गएको ऋणभार कम गराउँदै जान विशेष प्रयास गर्नुपर्ने अवस्था रहेको उनले औंल्याए।
यसका अतिरिक्त तुलनात्मक लाभका क्षेत्रहरूमा बढी लक्षित रही त्यसमध्येका विद्युत् उत्पादन, व्यापार तथा आन्तरिक खपत बढाएर उत्पादनशील क्षेत्रलाई प्रवर्धन गर्दै आयात निर्यातबीचको खाडल कम गर्नेतर्फ सरकारले जोड दिने उनले बताए।
कृषि क्षेत्रको आधुनिकीकरण गरी यसलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै कृषिजन्य एवं स्वदेशी स्रोत साधनको उपयोगबाट लघु, साना तथा मझौला उद्योग व्यवसायको प्रवर्धन गर्ने पनि उनले बताए। अर्थमन्त्री शर्माले स्वदेशी पुँजीसहित वैदेशिक लगानीसमेत आकर्षित गर्नेगरी ठूला उद्योगको विकासमा विशेष जोड दिने सरकारको लक्ष्य रहेको जानकारी गराए।
देशभित्रै स्वरोजगारी तथा रोजगारीका अवसर सिर्जना गर्दै संविधानले लक्षित गरेअनुरूप विकास र समृद्धिसहितको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न ध्यान केन्द्रित गरिने उनले बताए।
नागरिक दैनिकमा समाचार छ।































