skip this Bajaj motar bike

हाेटल व्यवसायीकाे माग सम्बोधन गर्न अर्थमन्त्रीलाई सुझाव

1.9K
shares

आज मिति २०७८ भदौ १६ गते होटल संघ नेपालका अध्यक्ष सृजना रणाज्यूले माननीय अर्थमन्त्री जनार्दन शर्माज्यूसँग भेटी होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न सुझाव प्रस्तुत गर्नुभयो । अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परि व्यवसाय पलायन हुन थालेको बताउनुभयो ।

उहाँले होटल उद्योगमा खरबौंको लगानी रही बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्वर्द्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको हुँदा आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषयहरु साथै मौद्रिक नीतिले सम्बोधन गरेका तपसिल बमोजिमका विषयहरु यथाशिघ्र कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।

आ.व २०७८/०७९ को बजेट सम्बन्धमाः

होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने गरी कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०४८ को ११(३) को परिभाषामा समेत राखी कार्यान्वयन गरिदिनुहुन ।

होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको विद्युत महसुल दर कायम गरी उपलब्ध गराउनुपर्ने ।

होटल उद्योगलाई उपलब्ध गराएको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वनयमा आउन ढिलाई भएकोले अविलम्ब कार्यान्वयन गरिदिनुहुन ।

सामाजिक सुरक्षा कोष सम्बन्धमाः

सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकोले यसलाई कम्तिमा १ बर्षसम्म निरन्तरता दिनुहुन । साथै, यो समयमा होटलहरुको तर्फबाट निरन्तरता हुन नसकेको हुँदा सामाजिक सुरक्षा ऐन र नियमावलीमा संशोधन गरी कोभिड महामारीको समयमा योगदानकर्ताले समयमा योगदान नगरेकै कारणले स्वास्थ्य लगायतका आपतकालीन सेवा लिनबाट बञ्चित नहुने गरी व्यवस्था गरिदिनुहुन ।

आ.व. २०७८/०७९ को मौद्रिक नीति सम्बन्धमाः

मौद्रिक नीतिमार्फत घोषणा गरिएको कार्यक्रमहरुको कार्यान्वयन, सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्थाहरु होटल तथा पर्यटन उद्योगमा सहज र सरल रुपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने ।

होटल क्षेत्रको लागि लागू गरिएको सहुलियतपूर्ण १ प्रतिशत कर ४ वर्षको लागि लागू गरिनुपर्ने ।

यो समयमा अधिकांश होटलहरु पुनःनिर्माणको क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीहरुमा विशेष भन्सार छुटको व्यवस्था गरिनुपर्ने ।

साथै पर्यटन पुनरुत्थानको लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने पनि अध्यक्ष राणाले बताउनुभयो ।

उक्त अवसरमा अर्थमन्त्री शर्माले कोभिड १९ बाट पर्यटन तथा होटल उद्योग अति प्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महसुस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेटघाट कार्यक्रममा होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, कार्यसमिति सदस्य राजन श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतको पनि उपस्थिति रहेको थियो ।

civil hospital
Hams Hospitals