दलहरूबीचको मन्त्रालय भागबण्डा मिल्यो

Ghorahi cement

काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बुधबार साँझ ६ बजेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको हो। बैठक बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन्।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन्।

गठबन्धनभित्रका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) ले मन्त्री हुनेहरुको नाम नदिए पनि बिहीबार कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। ‘प्रधानमन्त्रीज्यूले अब पर्खिन सक्दैन। योभन्दा ढिला गर्न हुँदैन। तपाईंहरुले नाम नदिने भए हामी कांग्रेस र माओवादीबाट मात्रै भए पनि मन्त्रिपरिषद् विस्तार हुन्छ भन्नुभएको छ,’ कांग्रेसका सहमहामन्त्री प्रकाशरण महतले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टी बैठकमा बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका छन्। बुधबार बसेको स्थायी कमिटी बैठकमा दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे जानकारी दिइएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।

सत्ता गठबन्धन स्रोतका अनुसार गठबन्धनले मन्त्रालयको भागबन्डा लगभग टुंगो लगाएको छ। सरकारको कामलाई सघाउ पुर्‍याउन गठन गरिएको कार्यदलबीच छलफल गरेर सहमतिको खाका बनाएपछि शीर्ष नेतालाई बुझाइएको हो। मंगलबार भएको शीर्ष नेताबीचको छलफलमा लगभग मन्त्रालयको भागबन्डाको विषयमा सहमति जुटेको र त्यसबारे शीर्ष नेताहरूलाई ब्रिफिङ गरिएको एक नेताले जानकारी दिए।

सहमतिलाई शीर्ष नेताहरुको बैठकले अन्तिम रूप दिने र भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ। ‘भोलि मन्त्रिमण्डल विस्तार गर्नेगरी छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘कतिपय प्राविधिक कुरा मिलाउनुपर्नेछ, त्यो हल भएमा भोलि नै मन्त्रिमण्डलले पूर्णता पाउँछ।’

यता, राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा रहेको छ। त्यसलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिँदै आएका छन्।

Nepali patro