जपानमा प्रधानमन्त्रीद्वारा संसदको तल्लो सदन भंग

  • प्रकाशित मिति : २०७८ आश्विन २९, शुक्रबार ०६:४१
  • सिंहदरबार न्युज

टोकियो (जापान) । जापानको संसदको तल्लो सदनभंग गरिएको छ।

आम निर्वाचनका लागि प्रधानमन्त्री फुमिओ किशिदाले संसद भंग गरेका हुन् । तल्लो सदनका सभामुखले बिहीवार दिउँसो संसदमा एक लिखित संवोधन गर्दै राष्ट्रिय निर्वाचनको लागि संसद भंगको घोषणा गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठक पछि औपचारिक रुपमा निर्वाचनको मिति तय गरिनेछ । जुन यसअघि नै अक्टोबर ३१ को लागि निर्वाचन गरिने प्रधानमन्त्री फुमिओ किशिदाले बताइसकेका छन् । चुनावी अभियान औपचारिक रुपमा आगामी मंगलवार अर्थात् अक्टोबर १९ बाट शुरु हुनेछ ।

जापानमा चार वर्षयता पहिलो पटक संसदको तल्लो सदनको चुनाव हुन लागेको हो । प्रधानमन्त्रीका रुपमा किशिदाले अक्टोबर ४ मा सत्ता सम्हालेका थिए । आमचुनाव सत्ताधारी लिबरल डेमोक्रेटिक दल (एलडिपी) र गठबन्धनको लागि चुनौती पूर्ण हुने अनुमान गरिएको छ ।

कोरोना भाइरसको महामारीका नियन्त्रणमा सरकारको असफलता, राहत र अन्य अन्तरराष्ट्रिय मुद्दाहरुलाई लिएर सरकारको आलोचना बढिरहेको छ भने सरकारप्रतिको जनसमर्थन पनि घट्दो पाइएको छ । एजेन्सी