सेयर बजारमा यो साताभर हरियाली देखियाे
वि.सं.२०७८ कात्तिक ११ बिहीवार
shares
सेयर बजारमा यो साताभर हरियाली देखियो । अघिल्लो साता बिहीबार २,५५६.९५ बिन्दूमा बन्द भएको बजार यो साता २२५.२१ बिन्दूले बढेर २,७८२.१६ बिन्दूमा पुगेको छ । बिहीबार नेप्से परिसूचक १३.०४ बिन्दू अर्थात् ०.४७ बिन्दूले बढेको हो ।
यो साता लगानीकर्ताले सेयरबजारबाट राम्रो प्रतिफल पाएका छन् । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक सोमबार ८७.६३ बिन्दूले र मंगलबार ७८.८२ अंकले बढेको थियो । साताका अन्य दिनहरूमा भने नेप्से परिसूचक सामान्य बढेको छ ।
बिहीबार भने बैंकिङ्ग, व्यापार, होटल र पर्यटन, म्यानुफ्याक्चरिङ्ग र उत्पादन, जीवन बीमा र म्युचुअल फण्ड समूहका परिसूचकबाहेक अन्य समूहका परिसूचक बढेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा नेपाल टेलिकम लगायतका कम्पनी सूचीकृत रहेको अन्य समूहको परिसूचक सबैभन्दा बढी २.५३ प्रतिशतले बढेको छ भने लघुवित्त र विकास बैंक समूहको परिसूचक क्रमशः २.४३ र २.२१ प्रतिशतले बढेको छ ।
साताको अन्तिम करोबार दिन नेप्सेमा २२२ कम्पनीको ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ मूल्यका ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर ५९ हजार एक सय ४० करोबारबाट खरिद–बिक्री भएका छन् ।































