राष्ट्रिय परिचयपत्र लिने स्थान थपियो, यथासम्भव सम्बन्धित् जिल्लाबाट लिन अनुरोध

काठमाडौंl राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र विवरण संकलन र वितरणका लागि केही जिल्लाहरू थपेको छ ।

सेवाग्राहीको चाप बढेसँगै आइतबार विज्ञप्ति निकालेर विभागले तत्कालका लागि बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर जिल्ला, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुको लागि जिल्ला प्रशासन कार्यालय, ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुको लागि नारायणहिटी दरवार परिसर (साविकको राहदानी विभाग) मा नागरिकको विवरण प्रविष्टको लागि व्यवस्था गरिएको जनाएको छ ।

साथै विभागले सम्भव भएसम्म आफ्नो जिल्लामा नै विवरण प्रविष्ट गरी राष्टिय परिचयपत्र नम्बर लिन पनि अनुरोध गरेको छ ।

गत १ मंसिरदेखि विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले सेवाग्राहीको चाप बढेको बताएको विभागले हालसम्म ५२ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण संकलन गरिसकेको जनाएको छ ।

विभागले जारी गरेको विज्ञप्ति:

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र राहदानी विभागबीच सेवामा अन्तर आबद्धताको संझौता भई हाल विद्युतीय राहदानी जारी गर्दा त्यसको विवरण भिडाई एकिन गर्ने कार्य राष्ट्रिय परिचयपत्र सूचना प्रणालीबाट हुने गरी व्यवस्थापन गरिदै आएको व्यहोरा विदितै छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय तथा नारायणहिटी दरबारमा रहेका स्टेशनहरबाट पिचरण प्रविष्ट (लाइभ इनरोलमेन्ट) गरी राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने व्यवस्था गरिएको छ। २५ वटा जिल्लामा वडास्तरबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सम्पन्न भईसकेको र १३ वटा जिल्लामा विवरण संकलन अभियान संचालन भइरहेको छ ।

हालसम्म करिव ५२ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण संकलन कार्य सम्पन्न भईसकेको छ । २०७८ मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर (एलआईएन) अनिवार्य व्यवस्था गरिएको तर सबै जिल्ला प्रशासन कार्यालयहरुमा विद्युतीय राहदानीको अनलाइन आवेदन लिने सेवा प्रारम्भ भइनसकेकोले राहदानी बनाउन काठमाडौंमा आउनुभएका नागरिकहरुको हित एवं सुविधालाई मध्यनजर गरी तत्कालका लागि बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुको लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौं, ललितपुर जिल्ला, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुको लागि जिल्ला प्रशासन कार्यालय, ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुको लागि नारायणहिटी दरवार परिसर (साविकको राहदानी विभाग) मा नागरिकको विवरण प्रविष्टको लागि आवश्यक व्यवस्था गरिएको छ ।

उपरोक्त व्यवस्थाको बाबजुत पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पछिल्लो समयमा देखिएको भिडभाडलाई दृष्टिगत गरी काठमाडौं जिल्लाको सबै इलाका प्रशासन कार्यालय तथा स्थानीय तहहरुमा समेत लाइभ इनरोलमेन्ट हुने गरी दर्ता स्टेशन थप गर्न लागिएको व्यहोरा अनुरोध गरिन्छ । तसर्थ, तत्काल विद्युतीय राहदानी बनाउन आवश्यक नभएका महानुभावले भिडभाड नहुने गरी क्रमिक रुपमा आफ्नो विवरण प्रविष्ट गर्नहन र अत्यावश्यक भएका नागरिकले सम्भव भएसम्म आफ्नो जिल्लामा नै विवरण प्रविष्ट गरी राष्टिय परिचयपत्र नम्बर लिनुहुन अनुरोध छ । सो सम्भव नभएमा माथि उल्लेखित स्थानहरुमा गई कोभिड १९ को स्वास्थ्य मापदण्ड पालना गरी आफ्नो विवरण प्रविष्ट गराई राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने व्यहोरा समेत अनुरोध छ। यस विभागबाट अभियान मार्फत अनलाइनमा विवरण प्रविष्ट गरी राष्ट्रिय परिचयपत्र नम्बर नपाउने महानुभावहरुको सविधाको लागि एसएमएस प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र नम्बर (एनआईएन) उपलब्ध गराउन प्रारम्भ गरिएको हुँदा सोको लागि एन स्पेस १६ अंकको आवेदन नम्बर टाइप गरी ३०००१ मा पठाउनहुन समेत अनुरोध छ। ।

 

ललित कुमार बस्नेत

निर्देशक

Shangri-la Development Bank Ltd.
Nepali patro