सधैं कामप्रति दत्तचित्त भएर राजनीतिभन्दा माथि उठेर जनताको सेवा गर्नु नै मेरो कर्तव्य :थापा

4.3K
shares

सामाजसेवाबाट राजनीतिमा हात हालेका उदीयमान नेता हुन् किरण थापा मगर । सूर्यविनायक नगरपालिका वडा नंं. ८ मा जन्मिएका उनी कर्तव्य निष्ठ नेता र समाजसेवीका रुपमा चिनिन्छन् ।किरण थापा, वडा अध्यक्ष, वडा नं. ८, सूर्यविनायकामा सधैं कामप्रति दत्तचित्त उनी राजनीतिभन्दा माथि उठेर जनताको सेवा आफ्नो कर्तव्य ठान्दछन् । उनी जनचाहना अनुसार काम गर्नु जनप्रतिनिधिको दायित्व रहेको बताउँछन् । पर्यटन विकासले स्वरोगार सिर्जना गर्ने उनको ठम्याइ छ । यिनै समसामयिक विषयमा केन्द्रित रहेर थापासँग सिंहदरबारन्युजले गरेको कुराकानीको सम्पादित अंश :

 

अहिले के मा व्यस्त हुनुहुन्छ ?

अहिले हामी सूर्यविनायक नगरपालिकाका लागि संघ र प्रदेशले छुट्ट्याएको बजेट कार्यान्वयनतर्फ लागिपरेका छौं । भट्टेखोला सिंचाइको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थिएन । त्यो सिंचाइ योजनालाई अगाडि बढाएर निर्माण गर्नको लागि फिल्डमै खटेर काम गरिरहेका छौं ।

तपाईंहरुको साढेचार वर्षे कार्यकालको कामबाट जनताहरुमा कत्तिको सन्तुष्टि देख्नुभएको छ ?

जसरी बीस वर्षसम्म स्थानीय तह जनप्रतिनिधि बिहीन हुँदा जनताहरु विकास निर्माण लगायत हरेक कुराको सेवाबाट बञ्चित भएका थिए । बीस वर्षपछि नेपालमा स्थानीय तहको निर्वाचन भयो । त्यो निर्वाचनमा जानेबेला हामीले एउटा चुनावी घोषणापत्र तयार गरेका थियौं । त्यसमा हामी निर्वाचित भयौं भने यो यो काम गर्नेछौं भनेर प्रतिबद्धता जाहेर थियो ।

त्यसमा बाटोघाटो, खानेपानी, पुलपुलेसा, विद्यालय, स्वास्थ्य सेवा, सिंचाईं, पूर्वाधार विकासलगायतका विषय उल्लेखित थिए । त्यहाँ उल्लेख गरिएभन्दा चार गुणा बढी हामीले काम गरिसकेका छौं । कुन ठाउँमा के कुराको आवश्यकता छ त्यो हेरेर हरेक क्षेत्रका आवश्यक काम गरिराखेका छौं । यस सूर्यविनायक नगरपालिका वडा नं. ८ का जनताको जे माग थियो । त्यसलाई हामी नगरपालिका, प्रदेश र संघबाट बजेट उपलब्ध गराएर परिर्पूिर्त गर्नेतिर लागिपरेका छौं ।

तपाईंले गरेका काम मध्ये अझ राम्रो गर्न पाएहुन्थ्यो भनेर खड्किएका क्षेत्र कुनै छन् ?

हामीले ठाउँको आवश्यकता अनुसार १२ मिटर, १० मिटर, ८ मिटर र ६ मिटरका गरी थुप्रै बाटाहरु निर्माण गरेका छौं । यस वडा नं. ८ मा हामीले झन्डै ५० मिटर कच्ची बाटो निर्माण गरेका छौं । बाटोको सीमाङ्कन गर्ने र चौडा गर्ने काम भएको छ । तर, त्यसलाई कालोपत्र गर्ने काम हाम्रो बुताले मात्रै भ्याएको छैन । संघीय सरकारबाट कम्तिमा कालोपत्रे गर्ने वातावरण मिलाइएदेखि हाम्रो कार्यकालको धेरै उपलब्धी देखिन्थ्यो ।

केपी ओली सरकारको पालामा माननीय महेश बस्नेतको नेतृत्वमा संघबाट भक्तपुरलाई धेरै बजेट आएको थियो । त्यसबेला छुट्ट्याइएको बजेट देउवा सरकार आइसकेपछि काटिएको छ । त्यसले भक्तपुरका धेरै विकास निर्माणका योजनाहरु ओझेलमा परेका छन् । मेरै वडामा पनि १३ करोडको योजना काटिएको छ । यदि त्यो बजेट नकाटिएको भए हाम्रो क्षेत्रमा बनिरहेका सबै भित्री बाटाहरु कालोपत्रे भइसक्थे ।

चुनाव पनि आउन लाग्यो, फेरि उठ्नुहुन्छ होला नि कस्तो तयारी गर्दैहुनुहुन्छ ?

चुनावको कुरा गर्नुपर्दा सरकारले अहिलेसम्म स्थानीय तहको निर्वाचन घोषणा गर्न सकेको अवस्था छैन । यदि चुनाव भएको खण्डमा पनि पहिला त पार्टीले हाम्रो कामको मूल्यांकन गर्नुप¥यो । कामको मूल्याङ्कन गरिसकेपछि पार्टीले हाम्रो आवश्यकता महसुस गर्नुप¥यो । यदि पार्टीले मेरो योगदानको मूल्याङ्कन र आवश्यकता महसुस ग¥यो भने ठ्याक्कै मलाई यहीं पद चाहिन्छ भन्ने छैन ।

तर, पार्टीले मूल्याङ्कन गरेमा यहाँका साथीहरुसँग सरसल्लाह गरेर हुन्छ भन्ने भयो भने उठ्न तयार छु । होइन तपाईंले साथीहरुलाई पालो दिनुपर्छ भन्ने पार्टीबाटै प्रस्ताव आयो भने त्यसमा पनि समर्थन गर्न तयार छु । पार्टी र साथीहरुले तपाईं नै त्यो क्षेत्रमा उपयुक्त मान्छे हो । तपाईं उठ्नुपर्छ हाम्रो साथ सहयोग रहन्छ भन्दा उठ्छु । तर, मलाई नै चाहिन्छ भनेर लडाईँ गर्नेवाला छैन ।

तपाईंको वडामा खानेपानीको व्यवस्थापन कस्तो छ ?

हाम्रो नगरपालिकामा भक्तपुर जिल्लाकै नगरकोटपछि दोस्रो ठूलो र राम्रो खानेपानीको स्रोत भएको वडा नं. ८ हो । त्यसलाई उचित ढंगले व्यवस्थापन गर्न सकिएको छैन । बजेट कमीकै कारणले गर्न नसकिएको हो । त्यति हुँदाहुँदै पनि हामी निर्वाचित भएर आएपछि यस वडामा १७ वटा उपभोक्ता समितिहरु छन् । ती समितिमार्पmत मेरो कार्यकालमा मात्रै १५ सय हाराहारी खानेपानीका धारा जडान भइसकेका छन् । यो साढेचार वर्षको दौरानमा मेरो वडामा मात्रै १९ सयवटा नयाँ घर निर्माण भइसकेका छन् । ती प्रत्येक घरघरमा उपभोक्ता समितिमार्पmत् खानेपानीका धारा र मिटर जडान गर्दै आइरहेका छौं ।

डोलेश्वर महादेव मन्दिरपनि तपाईंकै वडामा पर्छ होइन ?

हो, मेरो वडामा धार्मिक र पर्यटकीय दृष्टिकोणले छुट्टै महत्व बोकेको ऐतिहासिक थुप्रै मन्दिरहरु छन् । त्यसमा सूर्यविनायक, डोलेश्वर महादेव र आशापुरीश्वर महादेव मन्दिर महत्वपूर्ण मानिन्छन् । यी तीनवटै मन्दिरले भक्तपुरमा छुट्टै र ऐतिहासिक महत्व बोकेका छन् ।

अहिले कोभिडका कारण तीर्थालु भक्तजनहरु कम भएका हुन् । सामान्य अवस्था स्वदेशी मात्र नभएर विदेशीहरुको पनि घुइँचो लाग्थ्यो । यी मन्दिरहरुलाई अझ परिमार्जित र व्यवस्थित गर्न बजेटको खाँचो देखिन्छ । त्यसका बाबजुद पनि हाम्रो कार्यकालमा यथाशक्य काम गरेका छांै । त्यही पनि ठाउँको महत्व र गरिमा अनुसार बजेट अपुग देखिएको छ । यसरी पर्यटकीय दृष्टिले अब्बल मानिएका ठाउँहरुमा स्थानीय तहको मात्रै भर नपरेर संघले पनि ध्यान दिनुपर्ने हो । त्यो चाहिं भइराखेको छैन ।

त्यो त स्थानीय तहको काम होइन ? संघलाई किन गुहार्नुप¥यो ?
हुन त मठमन्दिरहरुको निर्माण, विकास र पुनःर्संरचना स्थानीय तहले हेर्ने हो । तर, राष्ट्रिय÷अन्तर्राष्ट्रिय महत्व बोकेका धार्मिक तीर्थस्थल तथा पर्यटकीय क्षेत्रमा चाहिं स्थानीय तहको मात्रै मुख ताकेर हुँदैन । त्यसलाई प्रदेश र संघले पनि ध्यान दिनुपर्छ । जसले महत्वपूर्ण ठाउँ जुन धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राष्ट्रिय महत्व बोकेको हुन्छ । त्यसलाई प्रदेश र संघले पनि आँखा लगाउँदा अझ आकर्षक र व्यवस्थित हुन सक्छ ।

त्यसोभए पर्यटकीय दृष्टिकोणले अब्बल मानिएको भक्तपुरमा केन्द्र सरकारको आँखा परेन भन्न खोज्नुभएको हो ?
अहिले नेपालमा बाह्रय मात्रै नभएर आन्तरिक पर्यटकको पनि विकास हुँदै छ । उपत्यकावासीहरुमा हप्तामा एक दिन अलिकति खुल्ला ठाउँ, डाँडाकाँडा घुम्न, पिकनिक जान पाए हुन्थ्यो भन्ने छ । त्यस्ता ठाउँहरु भक्तपुर जिल्लामा प्रशस्त छन् । यहाँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण डाँडाकाँडा, पवित्र तीर्थस्थलहरु समेटेर पूर्वाधार तयार गर्ने हो भने भक्तपुरले पर्यटन व्यवसायमा राम्रै फड्को मार्छ । त्यसको लागि बजेटकै आवश्यकता पर्दछ ।

हुन त अहिले धेरै त्यस्ता ठाउँहरु समेटेर सूर्यविनायक नगरपालिकाले काम अगाडि बढाइरहेको छ । मेरै वडामा पनि पृथ्वीनारायण शाहले नेपाल एकीकरण ताका बनाएको गडी ओझेलमा परेको थियो । त्यो ठाउँसम्म हामीले बाटो, भ्यूटावर बनाइसकेका छौं । मन्दिरहरु पनि बन्दैछन् । यसरी महत्वपूर्ण तर ओझेलमा परेका धेरै चिज वस्तुहरु भक्तपुरमा छन् । पर्यटक आउनु भनेको त्यस क्षेत्रका मानिसको रोजीरोटीको व्यवस्था पनि हुनु हो । सक्नेले सटर खोल्लान् नसक्नेले नाङ्गलो पसल गरेर पनि गुजरा गर्दछन् । त्यसकारण पर्यटन प्रवद्र्धनको लागि भौतिक पूर्वाधार र शान्तिसुरक्षाको ग्यारेन्टी हुनुपर्छ । पर्यटक भित्रिएपछि रोजगारी आपैंm सिर्जना हुन्छ ।

भादगाउँले टोपी, जुजु धौंलगायत भक्तपुरको पहिचान बोकेको चिज लोप हुँदै गएको छ, त्यसमा जनप्रतिनिधिले ध्यान दिनुपर्दैन ?
त्यो पनि हो, तपाईंले भनेजस्तो भादगाउँले टोपी, जुजु धौंलगायत धेरै विषय छन् । तीसँगै नेवारहरुको कला र संस्कृतिले भरिपूर्ण यो क्षेत्र विशेष गरी महाभूकम्पछि भक्तपुरको कोर एरिया थियो । यहाँ पुराना कलात्मक घरहरु थिए । २०७२ साल भूकम्पमा त्यस्ता ऐतिहासिक महत्व बोकेका धेरै घरहरु भत्किए । घर भत्किएपछि त्यहाँका वासिन्दाहरु सूर्यविनायक, चागुनारायणतिर सर्नुभयो । जसरी उहाँहरुले आफ्नो टिपिकल कला, संस्कृतिलाई जोगाउँदै आउनुभएको थियो।

जस्तो धिमेबाजा बजाउने, बिहान चारै बजेदेखि उठेर भजन गाउने जुन संस्कार थियो । त्यसरी गाउने समुदाय तितरवितर भएर छरिएपछि कला, संस्कृति लोप हुने अवस्थातिर गयो । त्यो संस्कृतिलाई जोगाउनको लागि अहिले सूर्यविनायक नगरपालिकाले उहाँहरुलाई समेटेर टिपिकल धिमेबाजा सिकाउने, ठाउँठाउँमा मठमन्दिरहरु बनाइदिने काम थालिएको छ ।

अर्को भक्तपुरको खाँटी नेवारी खाजालाई संरक्षण गर्ने अभियान चलाइएको छ । त्यसैगरी जुजु धौ र भादगाउँले टोपीको संरक्षण गर्ने योजना बनाएका छौं । भक्तपुरमा आउने अतिथिहरुलाई भादगाउँले टोपीले स्वागत गर्ने कामको थालनी भएको छ । जनचाहना अनुसार काम गर्न हाम्रा मेयर साबले कुनै पनि क्षेत्रमा बायस गर्नुभएको छैन । विकास निर्माणको लागि यो पार्टी, त्यो नभनी नगरवासीहरुको इच्छाचाहना अनुसार बजेट विनियोजन गरेर हामीले काम गरेका छौं ।

भक्तपुर प्राकृतिक सौन्दर्यले जति भरिपूर्ण छ, त्यो अनुसार राज्यको आँखा नपुगेका क्षेत्रहरु छन् ?
त्यस्ता क्षेत्रहरु धेरै बाँकी छन् । त्यसैपनि उपत्यका धेरै डाँडाकाँडाले घेरिएको ठाउँ हो । यहाँका वासिन्दाहरु कम्तिमा हप्तामा एकदिन ती डाँडाकाँडामा गएर रमाउन चाहन्छन् । ती ठाउँमा निजी क्षेत्रबाट होटेल व्यवसायहरु सञ्चालनमा आएका छन् । राज्यले बाटोघाटो, खानेपानी, उचित भौतिकपूर्वाधार र शान्तिसुरक्षाको ग्यारेन्टी राज्यले गरिदिनुपर्छ । त्यसको लागि निजी क्षेत्रसँग सहकार्य गरेर उनीहरुलाई बरु कर छुट गराएपनि विकास गर्न सकिन्छ । यसरी नगरपालिकाले पनि धेरै काम गर्न सक्छ । त्यसको लागि नगरपालिकासँग बजेटको अभाव छ । ती ठाउँहरुमा पर्यटन प्रवद्र्धन गर्न सर्न सके आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षण बढ्छ । त्यसले नगरवासीमा रोजगारी पनि सिर्जना हुन्छ ।

राजनीतिबाहेक सामाजिक कामतिर पनि झुकाब राख्नुहुन्थ्यो ?
मलाई सानै उमेरदेखि समाज सेवाप्रति अत्यन्तै रुचि थियो । त्यो सिलसिलामा विभिन्न क्लबमार्पmत क्रियाकलापहरु गरिन्थ्यो । त्यसपछि रेडक्रस भक्तपुर जिल्ला शाखाको उपसभापति भएर दुई कार्यकाल काम गरेँ ।

खानेपानी समितिमा बसेर काम गरियो । त्यसैगरी डोलेश्वर महादेव मन्दिर संरक्षण समितिमा रहेर १० वर्ष काम गरेँ । डोलेश्वर महादेव मन्दिर विभिन्न दाताको भेटी संकलन गरेर बनाइएको हो । त्यो २०७२ सालको भूकम्पछि छिटो पुनःनिर्माण गरिएको पहिलो मन्दिर हो । म वडा अध्यक्ष जितिसकेपछि त्यो मन्दिरको संरक्षण समितिमा छैन । आमन्त्रित सदस्यको रुपमा मात्रै छु । हरेक मिटिङमा मलाई बोलाउनुहुन्छ । मैले सक्ने र गर्न उचित काममा म लागिपरिरहेको छु ।

अन्त्यमा वडावासीहरुलाई के भन्न चाहनुहुन्छ ?
जसरी हिजो बीस वर्षसम्म स्थानीय तह जनप्रतिनिधि बिहीन थियो । त्यहाँ जनताका थुप्रै समस्याहरु समाधान भएका थिएनन् । हामी निर्वाचित भएर आइसकेपछि उपलब्ध साधन, स्रोतबाट हाम्रो बलबुताले भ्याएसम्म सम्बोधन गर्दै आएका छौं । अभैm पनि धेरै काम गर्न बाँकी छन् ।

त्यसलाई लिएर आगामी निर्वाचनमा पनि आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिनिधि छान्न अनुरोध गर्दछु । अर्को कुरा कुनै पनि योजना, आयोजना पर्दा तपाईंहरु सबै सहभागी भइदिए प्रतिनिधिलाई पनि काम गर्न सहज हुने छ । यो साढे चार वर्षको दौरानमा यो पार्टी, ऊ पार्टी नभनी मेयरदेखि सबै वडा अध्यक्षहरु मिलेर काम ग¥यौं । हिजो हामी जुन पार्टीबाट चुनाव लडेपनि निर्वाचित भइसकेपछि सबै जनताको प्रतिनिधि भएर काम गर्नुपर्छ । त्यसको लागि म सधैं दत्तचित्त भएर लागिपरेको छु ।

civil hospital
Hams Hospitals