२५ करोड लागतमा बनेको आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका

2.2K
shares

काठमाडौं।चन्द्रागिरि नगरपालिका कार्यालय यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनबाट सञ्चालन गर्ने तयारी भएको छ । यसका लागि चन्द्रागिरि- १२ स्थित गुर्जुधारामा करिब सात रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणाधीन छन् ।

मौलिक एवं सास्कृतिक कलात्मक आँखिझ्याल सहितको ६ तलाको भवन २५ करोड लागतमा सम्पन्न हुन लागेको हो । तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संचना बनिरहेको छ । यसमा खर्च भएको रकम मध्ये जिल्ला समन्वय समिति काठमाडौँको रु. १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले यही माघ मसान्तभित्रमा नयाँ भवन सर्ने बताए । ‘भवन उद्घाटनको तयारी हुँदैछ’, उनले भने । बाल, जेष्ठ नागरिक र अपांगता मैत्री भवनको भित्री संरचना कोठा, हल तयार गर्ने, छ्ट्याउने, रङ्गरोगन गर्ने तथा वाह्य संरचनामा बगैँचा बनाउने काम जारी छ ।

समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गरेका थिए । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौता अनुसार २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड-१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ । नयाँ भवनबाट पशु सेवा कार्यलय बाहेक अन्य सेवा नगरबासीले एकीकृत रुपमा पाउने नगरप्रमुखले बताए ।

भूकम्पप्रतिरोधि र अग्नि नियन्त्रक उपकरण जडित प्रशासनिक भवनमा करिव २०० क्षमताको सभाहलसहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनी मिटिङ हल’ तथा ‘अन्डरग्राउन्ड पार्किङ’ रहेको निर्माण कम्पनीका प्रतिनिधि बरुण केसीले बताए ।

नगरपालिकाको १५ वडामध्ये अधिकांश वडा कार्यालयका आफ्नै भवन छन् । पछिल्लो समय वडा नं ३ र ४ को नयाँ भवन निर्माण सम्पन्न भएको र वडा नं. ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको ननगरप्रमुख गिरीले बताए । काठमाडौँका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ गाउँ विकास समिति मिलाएर चन्द्रागिरि नगरपालिका बनेको हो ।

civil hospital
Hams Hospitals