शिक्षामन्त्रीले भने ‘शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुपर्यो’

1.5K
shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षक मैत्री हुनपर्ने बताउनुभएको छ । शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । 

शिक्षकहरुको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै मन्त्री पौडेलले कतर्व्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो ।

“शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज छ,” उहाँले भन्नुभयो,“शिक्षक सम्मानित पेशा हो यसलाई दिगो बनाइ राख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनपर्यो ।”

उहाँले शिक्षक सेवा आयोग, शिक्षक महासंघ र मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उतिकै भूमिका रहनेमा जोड दिनुभयो । शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया अगाडि बढाएको भन्दै अध्यापन अनुमति पत्रको विज्ञापन पनि चाँडै खोल्न निर्देशन दिनुभयो ।

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन प्रक्रिया अगाडी बढाउन विलम्ब गर्न नहुने भन्दै कानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्ने बताउनुभयो ।

उहाँले एक्सनपछि रियाक्सन हुने भन्दै शिक्षकहरुको उमेरहद विषयलाई वार्तामार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, राज्यमन्त्री बोधकुमारीमाया यादवले तीनै तहको विज्ञापन र आन्तरिक बढुवाको फ्रक्रिया अघि बढेकोमा खुसी व्यत्त गर्नुभयो ।

विगतका कमिकमजोरीलाई सच्याउँदै जानुपर्ने बताउँदै उहाँले आयोगलाई थप उत्कृष्ट बनाउन कर्मचारीसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सचिव यादवप्रसाद कोइरालाले शिक्षकहरुलाई आफ्नो जिम्मेवारीप्रति बफदार हुनुपर्ने बताउनुभयो । शिक्षक सेवा आयोगको परीक्षामाथि विभिन्न प्रकारका प्रश्न उठ्न सक्ने भन्दै लोकसेवा आयोगले जस्तै परीक्षामा पारदर्शी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले लिडरको भिजनले नयाँ काम गर्न सकिने बताउँदै चुनौतिसँग जुध्दै सवलपक्षलाई ग्रहण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै आयोगका अध्यक्ष मधुसुदन रेग्मीले आयोगले सञ्चालन गर्ने परीक्षा स्वतन्त्र र मर्यादित हुने भन्दै २ लाख ३४ हजार ४ सय बढीले शिक्षक दरबन्दीका लागि दरखास्त दिएको जानकारी गराउनुभयो ।

civil hospital
Hams Hospitals