नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै, कस्ले मार्ला बाजी ?
वि.सं.२०७८ फागुन ९ सोमवार
shares
काठमाडौँ । ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए अन्तर्गत अन्तिम खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
नेपाल लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्ने दाउमा छ भने क्यानडा पनि सोही रणनीतिमा छ । खेलमा नेपाल सामान्य अन्तरले पराजित हुँदा पनि सेमिफाइनल पुग्ने सम्भावना छ ।
नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालको नेट रनरेट ४.३७५ छ । क्यानडा २ खेलमा १ मा जित र १ म हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडाको रेटरनरेट २.५१२ छ । नेपालको नेट रनरेटलाई पछि पार्न क्यानडाले लगभग ३७ रनभन्दा माथिको अन्तरले जित्नुपर्छ ।
नेपाल रहेको समूह ‘बी’ मा नेपालसहित क्यानडा र आयोजक ओमानको उत्तिकै सम्भावना रहेको छ । नेपालको उच्च सम्भावना रहँदा फिलिपिन्स भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । आजै अर्को खेलमा ओमान र फिलिपिन्स भिड्दैछन् । यस खेलमा समेत फिलिपिन्स विजयी भए नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ । यदि यो खेलमा ओमान विजयी भए र नेपाल पराजित भए यस्तो अवस्थामा रनरेट हेरिनेछ । ओमानको रनरेट माइनस शून्य दशमलब ५६३ छ ।
समूह ए को खेलमा यूएई सँगै बहराइन र आयरल्यान्ड सेमिफाइनल नजिक छन् । लगातार दुई खेलमा पराजित जर्मनी भने प्रतियागिताबाट बाहिरिएको छ ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा ।
































