बागी उम्मेदवारी फिर्ता गराउन ७ बुँदे निर्देशन (पत्रसहित)
वि.सं.२०७९ वैशाख १४ बुधवार
shares
गठबन्धनको आज सम्पन्न बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ ।
आज (बुधबार) बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न आग्रह गरेकाे हाे ।
गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ ।
गठबन्धनका दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरू आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति रहेको थियो ।





























