प्रदेश एककै नमुना विद्यालय ‘जीतपुर मावि’
डिल्ली रमण सुवेदी
वि.सं.२०७९ साउन २९ आइतवार
shares
इलामको पश्चिम क्षेत्रमा पर्छ देउमाई नगरपालिका । यही देउमाई नगरपालिकाको वडा नं. ९ मा छ ‘श्री जीतपुर माध्यमिक विद्यालय ।’ खुल्ला वा फराकिलो ठाउँ, सुविधासम्पन्न विद्यालय भवन, ठूला र फराकिला कक्षाकोठा, इन्टरएक्टिभ प्यानलसहितका प्रविधिमैत्री कक्षाकोठा, सीसीक्यामेराको २४सैं घण्टा निगरानी, शुद्ध र स्वच्छ पिउने पानी, चमेनागृह, शौचालयलगायतका सम्पूर्ण भौतिक सुविधा । यी विद्यालयका भौतिक विशेषता हुन् ।
विषयविज्ञ र अनुभवि शिक्षक, शिक्षिकाहरु, साधारणधारतर्फ कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान संकायको अध्यापन, प्राविधिकधारतर्फ १८ महिने भिजेटिए, एआई तालिम, भिडियो एक्स–रे तालिम, कम्युटर साइन्सको पनि पठनपाठन र प्रत्येक वर्षको एसईईमा सत्प्रतिशत वा सर्वाधिक नतिजा, बालमैत्री वातावरण विद्यालयका शैक्षिक विशेषता हुन् ।
भौतिक र शैक्षिक विशेषता, शिक्षक, शिक्षिकाको मेहनत, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको उचित व्यवस्थापनले नै जीतपुर मावि इलामको पश्चिमी क्षेत्रको रोजाइको विद्यालय बनेको छ । त्यतिमात्रै होइन इलाम जिल्लाकै आदर्श विद्यालय र प्रदेश एककै नमुना विद्यालय बन्न पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि नमुना विद्यालयको पहिचानसहित हरेक वर्ष आर्थिक तथा भौतिक सुविधा, अनुदान र सहयोग दिँदै आएको छ । यसैगरी शैक्षिक क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्थाहरुले विद्यालयलाई निरन्तर सहयोग गर्दै आएका छन् । यसले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो मद्दत पुगिरहेको जीतपुर माविका प्रधानाध्यापक गोविन्द बराल बताउँछन् ।
प्रधानाध्यापक बरालका अनुसार विद्यालयमा अहिले प्लेग्रुपदेखि १२ कक्षासम्ममा करिब ७ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । जसमा जीतपुर क्षेत्रका मात्रै नभएर अन्यत्रका विद्यार्थीहरु पनि छन् । कक्षा ११ र १२ भने देशकै विभिन्न जिल्लाका विद्यार्थी पनि आएर अध्ययन गरिरहेका छन् । यो सामुदायिक विद्यालय भएर पनि शैक्षिक गुणस्तर राम्रो भएकै कारण विद्यार्थीको रोजाइमा परेको उनको बुझाइ छ । विद्यालयको शैक्षिक गुणस्तर कायम राख्दै अझ वृद्धि गर्न प्रधानाध्यापक बरालसहित सम्पूर्ण टिम नै अहोरात्र खटिएको छ । यसको परिणाम विद्यार्थीको रोजाई र परीक्षाको नतिजाले बताइरहेको छ ।






























