प्रविधिलाई कसरी जोड्ने भन्ने विषय नै चुनौतीको विषय हो ”: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा
सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उनले उल्लेख गरिन्

वि.सं.२०७९ माघ ३ मंगलवार

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पु¥याउनु आफ्नो प्राथमिकता भएको बताइन् । मन्त्री शर्माले सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन् । सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उनले उल्लेख गरिन् ।
“हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पु¥याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ,” उनले भनिन्, “प्रविधिमैत्री देशलाई कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्दछ ।” मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिइन् । उनले सबै कामहरु प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गरिन् ।
“संसार ग्लोबललाइजेसनमा गइसक्यो । हाम्रो त्यो ढंगले विकास हुन सकिराखेको छैन । सार्वजनिक संस्थानहरु अस्पतालहरु भयो, विभिन्न ठाउँहरु भयो, त्यहाँ पनि हाम्रो सहज ढंगले सञ्चार, प्रविधिको प्रयोग हुन नसक्दाखेरी, बैंकिङ, वित्तीय कारोबारमा, उत्पादनमा सबै ठाउँमा यो हुन नसक्दा हामी केही समस्यामा पक्कै छौँ,” उनले भनिन्, “त्यसलाई कसरी सहज, सुलभ बनाउन सकिन्छ, यसलाई उत्पादनसँग कसरी जोड्ने, सामाजिक संघ, संस्थामा लगेर कसरी जोड्ने र हरेक मान्छेको दैनिक जीवनमा सूचना, प्रविधिलाई कसरी जोड्ने भन्ने विषय नै चुनौतीको विषय हो ।”

वि.सं.२०७९ माघ ३ मंगलवार २०:५१