गरिबमारा नीति लिएर एक्लै हिड्न खोजेपछि एक्लिए बालेन्द्र साह

Ghorahi cement

काठमाडौं । नेतृत्व गर्न चाहनेले समूहभन्दा अगाडि होइन, समूहसँगै हिँड्न जान्नुपर्छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जनताको समूहभन्दा धेरै अगाडि हिँड्न खोज्दा एक्लिन थालेका छन् । ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै चुनाव जितेका मेयरले सहरमा ‘गरिबलाई टिक्न नसक्ने’ वातावरण बनाउन थालेको गुनासो बढेको छ ।

 

‘महानगरको सौन्दर्य भनेको सडक किनारमा फक्रिएका फूलका थुँगा मात्र होइनन्, जीविका चलाउँदै आएकाको मुहारमा फक्रने मुस्कान पनि हो,’ सहरी गरिबको क्षेत्रमा काम गर्दै आएका ओम थपलिया भन्छन्, ‘पछिल्लो समय ठेलामा साग बेच्नेदेखि दरबारमार्गमा स्यान्डविच बेच्नेसम्मको अनुहार ओइलाएको छ ।’

 

अझ पछिल्लो समय दरबारमार्गमा पार्किङ हटाएसँगै मेयर साह ‘इलिटवर्ग’ को पनि निसानामा परेको थपलिया बताउँछन् । ‘सधैं गुलजार रहने दरबारमार्ग विकल्प नदिई पार्किङ हटाउँदा बजार सुनसान बनेको छ,’ उनले भने, ‘एक्लै अगाडि बढ्न खोज्दा समाधान होइन समस्या निम्तिन्छ ।’ निर्वाचनमा भित्री सहर र बाहिरी सहर दुवैबाट उल्लेख्य मत पाएका मेयर साहले यतिबेला दुवैतिरको साथ पाउन छाडेका छन् ।

 

राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाइमा आइतबार काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो ।

 

प्रदर्शनका क्रममा उनीहरूले जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनीसमेत दिए । ‘जनताको प्रतिनिधि भएर जनतालाई दुःख दिने मेयर साहको काम सह्य हुनेछैन,’ सुमन सायमीले भने, ‘नागरिकको सम्पत्तिको अधिकारमाथिसमेत हनन हुने गरी डोजर आतंक फैलाउने काम तत्काल रोक्नुपर्छ ।’ सुमन साय्मि तिनै हुन्, जो मेयरमा साहसँग पराजित भएर पनि विजयोत्सवमा सँगै हिँडेका थिए । ‘त्यतिबेला साहले जनताको आवाज उठाएकाले आफू पराजित भए पनि उनको विजयमा खुसी भएको थिएँ,’ सायमीले भने, ‘तर अहिले मेयर सबैलाई निराश पार्दैछन् ।’

 

सडक विस्तार पीडित संघर्ष समितिका नेता सायमीले मेयर साह पहिलेका शासकभन्दा पनि निरंकुश भएको आरोप लगाए । ‘पहिला कसैको पनि निजी जग्गा सडक विस्तारका लागि लिनपरे सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो,’ सायमीले भने, ‘अहिले न सूचना न मार्किङ, एकैपटक डोजर आउने गरेको छ ।’ नागरिक दैनिक

Nepali patro