नेपालको हवाई सुरक्षामा युरोपेली चासो, दुई देशबीचको संयुक्त बैठकमा के भयो ?

काठमाडौं । नेपाल र युरोपेली सङ्घको सम्बन्ध नेपालको हवाई सुरक्षाको उच्च प्राथमिकतामा रहेको छ । बेल्जियमको ब्रसेल्समा बसेको नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा हवाई सुरक्षा द्विपक्षीय सम्बन्धको प्राथमिकतामा रहेको थप प्रस्ट पारिएको हो ।

 

सङ्घको प्रतिनिधिमण्डलले नेपालमा माघ १ गते भएको यती एयरलायन्स दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । दुवै पक्षले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न नेपाल नागरिक उड्डयनसँगको सहकार्यमा नेपालको अवस्थिति अध्ययन गर्ने विषय हालका लागि केही पछाडि सार्ने विषयमा सहमति जनाएका छन् ।

 

युरोपेली सङ्घले नेपालको हवाई उडान सुरक्षित नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा अनुमति दिएको छैन । यस विषयमा उच्चस्तरीय तहबाटै भएको पहललाई सङ्घले स्वीकार गरे पनि बारम्बार नेपालमा भइरहेको हवाई दुर्घटनाले थप चुनौती बढाइरहेको छ । तथापि सङ्घले संयुक्त राष्ट्रसङ्घको नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि आफ्नो समर्थन नेपाललाई रहने र बडापत्रले औँल्याएका सिद्धान्तअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यसले भविष्यमा उडान प्रतिबन्ध सङ्घले खुला गर्न सक्ने सम्भावना कायम रहेको सङ्केत गरेको छ ।

 

अर्को महत्त्वपूर्ण पक्षका रूपमा नेपालको कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नतिको सवालमा सङ्घले गहिरो चासो प्रकट गरेको छ । बैठकमार्फत सङ्घले सन् २०२६ मा स्तरोन्नतिपछिको सङ्क्रमणकालीन अवस्थाका लागि महत्त्वपूर्ण सहयोग गर्ने आश्वासन दिएको छ तर त्यसका लागि नेपालले तयार गरेको स्तरोन्नतिको रणनीति सङ्घसँग आदानप्रदान गर्न‘पर्ने सर्त अघि सारेको छ । गोरखापत्र दैनिक

Shangri-la Development Bank Ltd.
Nepali patro