रवि लामिछानेद्वारा शत्रु ठहरिएका १२ मिडियाकर्मी

टेलिभिजन कार्यक्रम चलाएर लोकप्रियता बटुल्दै राजनीतिमा प्रवेश गरेका र उपप्रधान तथा गृहमन्त्रीसमेत भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिङ्गै मिडिया क्षेत्रलाई दोषारोपण गरेका छन् । सरकार छाड्ने पार्टी निर्णयबारे जानकारी दिन आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उनी केही मिडिया र सम्पादकको नामै लिएर आक्रमणमा उत्रिएका हुन् ।

पार्टी कार्यालयको आँगनमा पत्रकारहरुलाई बोलाएर पत्रकारिता क्षेत्रमाथि नै खनिएका उनले नेपाली मिडिया क्षेत्र कामै नलाग्ने तहमा बिग्रिएको आरोप लगाए । कान्तिपुर, अन्नपूर्ण पोष्ट,अनलाइन खबर, सेतोपाटीलगायत केही मिडिया र सम्पादकको नामै लिएर उनले पत्रकारिताको आवरणमा दलाली गरिरहेको दावीसमेत गरेका छन् । मिडिया सञ्चालक र सम्पादकले स्वार्थको द्वन्द्व हुनेगरी बार्गेनिङ्ग गर्ने गरेको उनको आरोप छ ।

राजनीतिक निर्णयबारे जानकारी गराउन भनेर आयोजना गरिएको पत्रकार सम्मेलनमा अधिकांश समय पत्रकार र पत्रकारिता क्षेत्रको आलोचनामा खर्चिएका उनले ’१२ भाइ’ मिडियाकर्मीले आफूविरुध्द मिसन नै चलाएको बताए । उनीहरुले ‘विदेशी जाँड’ खाएर आफ्नाविरुध्दमा समाचार लेख्ने गरेको लामिछानेको गम्भीर आरोप छ । आफूविरुध्द गलत समाचार लेखिएको खण्डमा आफ्ना समर्थकलाई लिएर मिडिया हाउस घेर्न जाने चेतावनीसमेत दिएका छन् ।

लामिछानेले बाँया हातका औंला ठड्याउँदै घोषणा गरेका एक दर्जन मिडियाकर्मीको नाम यसप्रकार छ :

अन्नपूर्ण पोष्टका प्रकाशक क्याप्टेन रामेश्वर थापा,कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, कान्तिपुर टेलिभिजन निर्देशक दिलभूषण पाठक,सेतोपाटी अनलाइनका सम्पादक अमित ढकाल,अनलाइन खबरका सम्पादक शिव गाउँले,जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ,हिमाल खबरका कनकमणि दिक्षित ।

त्यसैगरी अनलाइन खबरका प्रकाशक धर्मराज भुषाल, प्राइमटाइम टेलिभिजन तथा रिपोर्टर्स क्लबका ऋषि धमला, नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटा,शिलापत्रका राजन पोखरेल र नागरिक दैनिकका गुणराज लुइँटेललाई रविले आजको पत्रकार सम्मेलनमा आफूविरुद्ध संगठित रुपमा लागिपरेका भन्दै आरोप लगाएका हुन् ।

त्यसबाहेक उनले हाल कान्तिपुर टेलिभिजनमा कार्यरत सम्पादक अरुण बराललाई पनि उनले अनेक सन्दर्भ जोडेर सोही समूहमा राखेका छन् । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro