नेपालको अर्थतन्त्रमा एमसीसीले ठूलो योगदान दिन्छ :प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०८० असोज १७ बुधवार
shares
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा नेपालमा कार्यान्वयन हुन लागेका परियोजनाले देशको अर्थतन्त्रमा ठूलो योगदान दिने बताएका छन् ।
एमसीसी कार्यान्वयन सेलिब्रेसन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमसीसी कार्यान्वयनमा नेपालको बलियो प्रतिवद्धता रहेको समेत बताए । उनले यस परियोजनाबाट निर्माण हुने विकासका कामले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने बताए ।
उनले परियोजनाअन्तर्गत निर्माण हुने विद्युत् प्रसारणमा महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरे । त्यसले गुणस्तरीय ऊर्जा प्राप्त हुने उल्लेख गर्दै ऊर्जा व्यापारामा समेत यसको भूमिका महत्वपूर्ण हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरिएको बताए । नेपाल र अमेरिकाबीच रहेको सुमधर सम्बन्धको प्रतिबिम्ब आर्थिक साझेदारी पनि रहेको बताए ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसीसीको अनुदान मात्र नभई यो परियोजनामा नेपालले पनि लगानी गर्ने भएकाले नेपालका लागि अझ महत्वपूर्ण भएको बताए । उनले ठेक्कामा बढी रकम कबोल गरिएको विषयमा एमसीए नेपालले समाधान गर्ने विश्वास व्यक्त गरे ।



























